सम्पदाको पदयात्रा गरी अवलोकन गरिने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं  ।
विश्व सम्पदा दिवसका अवसरमा काठमाडौंको वसन्तपुरदेखि स्वयम्भू सम्मको २ किलोमिटर दूरीमा १९ वटा सम्पदाको पदयात्रा गरी अवलोकन गरिने भएको छ ।

विश्व सम्पदा दिवसका अवसरमा पारेर काठमाडौंको अलौकिक सांस्कृतिक पहिचान प्रवद्र्धन गरेर, पर्यटन व्यवस्थापनमा सहयोग पु¥याउने कार्यक्रमको उद्देश्य रहेको छ ।

सम्पदा मार्गको शुरुआत वरु गणेशबाट गरिनेछ । हनुमान ढोकास्थित भूकम्पले ध्वस्त काण्ठमण्डपको भग्नावशेष अवलोकन गरेर पैदलयात्रा शुरु गरिनेछ । पैदलयात्रामा मरु गणेश, मरु हिटी, मरु वहि, सन्तानेश्वर मन्दिर, मिच्या गल्ली, बन्जा हिटी, तेल मिल, चस्वांद हिटि, दमाइ टोल, सुन्ता गल्ली, पाछैं गल्ली, नरदेवी द्यः छेँ, आयुर्वेदिक अस्पताल, लोकेश्वर गल्ली, भुरुङ्खेल, छ्य मेँ हिटि, तप्यता ,रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी, भीमसेन मन्दिर धिमे ल्हवं, चारा हिटी, भुइँखेल हुँदै स्वयम्भू अवलोकन गरिने कार्यक्रम रहेको छ ।

भोलि वैशाख २ गते बसन्तपुरको मरु गणेशबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम बैशाख ८ गते सम्पन्न हुने भएको छ । यस अवधिमा सरसफाइ, विद्यार्थीलाई पद यात्रा गराउने, कला कार्यशाला, हुलाक टिकट तथा फोटो प्रदर्शनी तथा कवड्डी, विवोइङ्, स्केटवोर्डजस्ता खेल आयोजना हुनेछन् ।

महानगरपालिकाले आयोजना गर्ने विश्वसम्पदा दिवसको अवसरमा सम्पदाको परिचय दिने विभिन्न कार्यक्रम सम्पन्न हुने भएको छ । बैशाख ८ गते प्रधानमन्त्री केपी ओलीले समापन गर्ने कार्यक्रम रहेको छ ।

सम्पदा पदयात्राका विषयमा जानकारी आयोजना गरिएको कार्यक्रममा बोल्दै सांसद जीवनराम श्रेष्ठले २ किलोमिटरको दूरीमा २ वटा विश्व सम्पदा सूचीमा सूचीकृत स्थान विश्वमा कतै पनि नभएको जनाउँदै यसको महत्व प्रवद्र्धन गर्न यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सो अवसरमा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भु क्षेत्रको अवलोकन गरिनेछ । सांसद श्रेष्ठले भन्नुभयो– ‘हामीसँग भएको सम्भावनालाई बढाउन नसकेर आफैं केही नभए जस्तो भएका छौं, अब हेरिटेज टुरिजममा हाम्रो जोड जानेछ ।’

महानगरका मेयर विद्यासुन्दर शाक्यले २ किलोमिटरको दूरीमा करिव १९ वटा स्थानको अवलोकन गर्न सकिने जनाउँदै कार्यक्रमलाई समुदायमा आधारित बनाउन खोजिएको बताउनुभयो ।

यस क्षेत्रमा भएका स्थानको महत्व प्रवद्र्धन गर्न सके, आन्तरिक पर्यटकबाट पनि लाभ लिन सकिने बताउँदै मेयर शाक्यले, पद मार्ग आन्तरिक पर्यटनका लागि उपलब्धि मैत्री हुनुपर्ने बताउनुभयो । उहाँले सो अवसरमा ऐतिहासिक नगरी काठमाडौ र वरपरका गल्ली र पुरातात्विक महत्वका विषयमा प्रचुर मात्रामा जानकारी लिन सकिने दाबी गर्नुभयो ।

सम्पदा मार्ग प्रवर्धन गर्न मेयर शाक्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समितिको सदस्यमा पैदल मार्गले छुने महानगरका ६ वटा वडाका वडाध्यक्षसहित स्थानीय सरोकारवाला सदस्य छन् । समितिको सल्लाहकारमा क्षेत्र नं. ७ र ८ का प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य रहेका छन् ।