अल्जेरियामा सैनिक विमान दुर्घटना, २ सय ५७ को मृत्यु

0
Shares

अल्जियर्स, (एजेन्सी)
अल्जेरियाको उत्तरी भागमा बुधबार एउटा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २ सय ५७ जनाको ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ। बुधबार बिहान राजधानी अल्जियर्सनजिकको बौफारिक सैनिक विमानस्थलबाट उडेको केही समयपछि नै सो विमान दुर्घटना भएको हो।

रक्षा मन्त्रालयका अनुसार मारिनेमा चालक दलका १० जना सदस्यलगायत अधिकांश सेना र तिनीहरूका परिवारका सदस्य रहेको बताइएको छ। तर दुर्घटनाको कारण भने अझैसम्म पत्ता लाग्न सकेको छैन।

सेना प्रमुखले दुर्घटनाको विशेष अनुसन्धान थाल्न आदेश दिएका छन्। साथै उनी दुर्घटनास्थल पुग्ने भएका छन्। सन् २०१४ को जुलाईको दुर्घटनापछिको यो सबैभन्दा भयानक विमान दुर्घटना हो।
त्यतिबेला पूर्वी युक्रेनको आकाशमा मलेसियाली एयरलायन्सको कलसाइन एमएच १७ बोकेको विमान खसालिँदा त्यसमा सवार सम्पूर्ण २ सय ९८ जनाको मृत्यु भएको थियो। उद्धारकर्मी र सेना तथा प्रहरी मृतकको शव सनाखत गर्ने कोसिसमा जुटेका छन्।

दुर्घटना भएको खेतमा विमानको भग्नावशेषबाट अझै धुवाँ निस्किरहेको फुटेज सामाजिक सञ्जालमा राखिएको छ। इल्युसिन आइएल–७६ विमान अल्जेरियाको दक्षिण–पश्चिम भागको बेचारतर्फ उडेको थियो।

यस दुर्घटनामा मारिने २६ जना अल्जेरियाको सहयोगमा वेस्टर्न सहारामा मोरोक्कोको स्वाधीनताका लागि लडिरहेका पोलिसारियो फ्रन्टका सदस्य रहेको प्रहरीले जनाएको छ। ४ वर्षअघि पनि अल्जेरियामा सेना र तिनका परिवारका सदस्यहरू बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा ७७ जनाको ज्यान गएको थियो।