पर्यटन आर्थिक विकासको अनन्त यात्राः प्रचण्ड

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ। बुधबार दिउँसो नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले त्यसका लागि पूर्वाधार विकासमा लाग्नुपर्ने बताउनुभयो।

‘अहिलेको युग पानीको युग हो। विश्लेषकहरूले अब तेस्रो विश्वयुद्ध भए पानीकै कारणले हुने विश्लेषण गरेका छन्। अहिलेको दुनियाँमा पानी नै विश्वको सबैभन्दा ठूलो शक्ति हो’, उहाँले भन्नुभयो– ‘नेपालको आर्थिक विकासको एउटा अनन्त यात्रामा जाने व्यवसाय भनेको पर्यटन नै हो। हामीले पर्यटनका लागि आवश्यक पर्ने पूर्वाधारहरू विकास गर्नेमा ध्यान केन्द्रित ग¥यौं भने पर्यटन व्यवसाय त्यस्तो व्यवसाय हो जसको कहीं अन्त्य छैन।’

प्रचण्डले थप्नुभयो– ‘पर्यटन कहिल्यै नसकिने समृद्धिको आधार हो। यो अनन्त हुन्छ, पर्यटनको विकास नेपालको समृद्धिको प्रमुख आधार पनि हो। नेपालमा हामीसँग यति धेरै नदीनाला छन्। हामीले आर्थिक समृद्धिको नयाँ संकल्प गर्दैछौं, त्यसको सबैभन्दा महत्त्वपूर्ण आधार पानी नै हो।’

‘पानीका बहुआयमिक विशेषता छन्। तर, हामीले सीमित क्षेत्रमा मात्रै यसको प्रयोग गरेका छौं’, अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जलविद्युत्, पिउने पानीको निर्यात, र्याफ्टिङलगायतका विविध क्षेत्रबाट नेपालले लाभ लिन सक्छ। यस अन्तरक्रियाले त्यसका लागि सार्थक सामग्री प्रदान गर्ने आशा लिएको छु।’

‘सरकार विकास र समृद्धिको नयाँ यात्रामा छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो–‘सबै क्षेत्रमा ठोस योजना बनाएर वामपन्थी सरकार अघि बढ्छ।’