सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठको बिदाइ

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई विशेष समारोहका बीच बिदाइ गरिएको छ। सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत बिदाइ गरिएको छ।

उक्त विशेष समारोहमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उहाँहरूलाई फूलमाला र खादा लगाई बिदाइ गर्नुभयो। नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उहाँहरूलाई संगठनका तर्फबाट मायाको चिनोसमेत प्रदान गर्नुभयो।

सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी निवर्तमान अध्यक्ष सरिता श्रेष्ठ तथा निवर्तमान उपाध्यक्षद्वय आशा शाही र मुना ओझालाई संघकी नवनियुक्त अध्यक्ष सरिता खनालले फूलमाला तथा खादा ओढाइ बिदाइ गर्नुका साथै मायाको चिनो प्रदान गर्नुभयो।

स–सम्मान बिदाइ हुनुभएका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उक्त विशेष समारोहलाई सम्बोधन गर्नुहँुदै राष्ट्रसेवाको ३० वर्षे अवधिमा संगठनको नेतृत्व तहसम्म आइपुग्दा आफूलाई दायित्व निर्वाहमा सहयोग पु¥याउने पूर्वज तथा वहालवाला सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूप्रति आभार प्रकट गर्नुभयो। उहाँले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा संगठनले आगामी दिनमा थप गति र उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुुहुँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको विकास र प्रगतिमा अग्रज नेतृत्व वर्गबाट भएको योगदानको प्रशंसा गर्नुहुँदै पूर्वज नेतृत्व वर्गले गरेका उत्कृष्ट कार्यलाई आत्मसाथ गर्दै उहाँहरूबाट प्राप्त सहयोग, सद्भाव, मार्गदर्शन र प्रेरणाले आउँदा दिनमा संगठनले थप उपलब्धि हासिल गर्ने बताउनुुभयो।

उहाँले सुरक्षा चुनौती र अवसरहरूलाई दृष्टिगत गर्दै अपेक्षाकृत कार्यसम्पादनमा योजनाबद्ध तरिकाले अझै प्रभावकारी ढंगले सक्रिय रहने चर्चा गर्नुहुँदै उच्चस्तरीय व्यवस्थापकीय क्षमता र सुझबुझका साथ व्यावसायिक काम कारबाहीमा अझै सशक्त तवरले कटिबद्ध रहने उल्लेख गर्नुभयो।