साढे २ वर्षभित्रमा आफ्नै संसद् भवन

0
Shares

काठमाडौं, (नेस)
सभामुख कृष्णबहादुर महराले साढे २ वर्षभित्रमा संसद्ले आफ्नै भवन पाउने बताउनुभएको छ। बुधबार संसदीय रिपोर्टिङ गर्ने पत्रकारसँगको परिचयात्मक कार्यक्रममा सभामुख महराले संसद् भवन बनाउने गृहकार्य भइरहेको जनाउनुभयो।

भवन बनाउनका लागि सरकारले २०५५ सालमा नै जग्गा छुट्याइसकेको छ। ‘पुतली बगैंचामा संसद् भवन बन्नेछ, सेनालाई गृहमन्त्रालयनजिकै रहेको खाली जग्गामा व्यवस्थापन गर्ने योजना हो’, महराले भन्नुभयो– ‘संसद र संसदीय गतिविधि प्रभावकारी बनाउन पत्रकारको पनि सहयोग हुने अपेक्षा गरेको छु।’ सभामुखले संसदीय रिपोर्टिङ गर्दा पत्रकारले भोगेका समस्याको बारेमा पनि जानकारी लिनुभएको थियो।

उहाँले पत्रकारलाई पेसाप्रति जिम्मेवारी वहन गर्न आग्रह गर्दै संसद् सचिवालयले पत्रकारलाई अधिकतम सेवा सुविधा उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पत्रकारहरूले प्राविधिक पक्षमा समस्या भएको, कम्प्युटर भरपर्दो नभएको, फोटो खिच्ने ठाउँ साँघुरो भएको, समयमा सूचना पाउन नसकिएकोजस्ता गुनासा राखेका थिए। सभामुखले आफ्नो नयाँ अनुभव भएकाले भोलिका दिनमा थप राम्रो र विश्वसनीय बनाउँदै लैजाने जनाउनुभयो।

उहाँले अबको अर्को अधिवेशन वैशाखको अन्त्यमा हुन सक्ने बताउनुभयो। महराले अबको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने र बजेटसम्बन्धी पूर्व छलफल हुने र बजेट ल्याउने प्रमुख कार्य हुने जनाउनुभयो।