काठमाडौं, (नेस)
अल्जेरियामा बुधबार बिहान भएको एक सैन्य विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्म २ सय ५७ पुगेको छ।अल्जेरियाको स्थानीय समाचार संस्था अल्जेरिया ट्वान्टी फोको रिपोर्टमा जनाइएअनुसार १ सय ५ जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो। अन्यको अस्पताल लैजाँदै गर्दा र उपचारका क्रममा मृत्यु भएको हो।
सो विमान अल्जेरियाको राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको हो। तर दुर्घटनाको कारण अझै स्पष्ट नभएको र सेनाका प्रमुखले त्यसको छानबिन गर्न आदेश दिएको जनाइएको छ।
रक्षा मन्त्रालयका अनुसार मारिनेमा चालकदलका १० जना सदस्यलगायत अधिकांश सेना र तिनीहरूका परिवारका सदस्य रहेको बताएको छ। तर दुर्घटनाको कारण भने अझैसम्म पत्ता लाग्न सकेको छैन।सन् २०१४ को जुलाईको दुर्घटनापछिको यो सबैभन्दा भयानक विमान दुर्घटना हो।
दुर्घटना भएको खेतमा विमानको भग्नावशेषबाट धुवाँ निस्किरहेको फुटेज सामाजिक सञ्जालमा राखिएको थियो। इल्युसिन आइएल–७६ विमान अल्जेरियाको दक्षिण–पश्चिम भागको बेचारतर्फ उडेको थियो।
प्रतिक्रिया