हामीले कहिलेसम्म जोखिम मोल्ने ?


कालीगण्डकीको दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् । आमसञ्चारमाध्यममा यो समाचार व्यापकरूपमा आए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन। फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल दुई दशकपहिले निर्माण भएको थियो। जीर्ण बनेको उक्त पुल अहिले पनि मर्मत हुन सकेको छैन । कालीगण्डकी तर्न बनाइएको पुल जीर्ण बन्दै गएपछि हामी जोखिम मोलेरै भए पनि वारपार गर्न बाध्य भएका छौं। पटक–पटक पुल मर्मतका लागि जिल्ला समन्वय समितिलगायत विभिन्न निकायमा माग गर्दा पनि मर्मतका लागि पहल भएको छैन। सरकारी पक्ष र सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन्।
पुल मर्मत नहुँदा बागलुङका कुश्मीसेरा, बलेवा र बिनामारे तथा पर्वतको फलेवास क्षेत्रका बासिन्दालाई नदी तर्न समस्या छ । कतिपयले जोखिम मोलेरै उक्त पुलबाटै वारपार गर्ने गरेका छन् भने कतिपय त्रासका कारण दुई घण्टा पैदल हिँडेर कुश्मा–कैंयाको अग्लो पुलमार्फत नदी तर्न बाध्य भएका छन् ।
काठको पुल कुनै न कुनै बेला दुर्घटना हुने निश्चित छ। उक्त पुल जोड्ले हल्लिने गरेको छ भने धेरै भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । दुई जिल्लाका दुई नगरपालिका जोड्ने उक्त पुल मर्मत तथा पुनर्निमाणका लागि दुवै नगरपालिकाले ध्यान दिनुपर्ने अवस्था छ। यसलाई तत्काल मर्मत गरियोस्।
– सागर चलाउने, फलेवास, पर्वत