दुबईका सवारी साधनमा डिजिटल प्लेट

0
Shares

दुबई, (एजेन्सी)
संयुक्त अरब इमिरिटेट्सको दुबई शहरका ड्राइभरहरूले सरकारको नयाँ योजनाअनुसार सवारी साधनमा डिजिटल नम्बर प्रयोग गर्न लागेका छन्। मंगलबार सरकारी सूत्रले आगामी महिनादेखि परीक्षणका रूपमा ती सवारी साधनहरूमा जीपीएस र ट्रान्समिटर र डिजिटल स्क्रिनसहितका स्मार्ट प्लेट जडान गरिने भएको जनाएको छ।

नयाँ नम्बर प्लेटले यदि ड्राइभरबाट दुर्घटना हुनपुग्यो भने तत्कालै यसबारे आपत्कालीन सेवालाई खबर दिने गर्दछ। अन्तर्राष्ट्रिय प्रविधि केन्द्र बन्ने होडमा रहेको दुबईले केही समययता यातायात क्षेत्रमा थुप्रै नयाँ कदम चालेको छ। दुबईको सडक तथा पारवहन निकाय (आरटीए ) को सवारी साधन तथा चालक अनुमतिपत्र विभागका अध्यक्ष सुल्तान अब्दुल्लाह अल– मार्जोकीले यी प्लेटका कारण अब दुबईमा ड्राइभरहरूको जीवनशैली निकै सजिलो हुने विचार व्यक्त गरेका छन्।

यस प्लेटले प्रहरी र एम्बुलेन्स सेवा दुवैलाई तत्कालै दुर्घटनाको सूचना दिनुका साथै ड्राइभरहरूबीच पनि ट्राफिकको अवस्था बारे संचार गराउने बताइएको छ। सावारी साधन वार डिजिटल प्लेट हराएको स्थितिमा पनि यस प्लेटले अलर्ट डिस्प्ले गर्न सक्नेछ।

त्यसै गरी सावारी साधन प्रयोगकर्ताको एकाउन्टबाट जरिवाना भुक्तानी, पार्किंङ वा प्लेटको नविकरण शुल्क स्वतः काटिने व्यवस्था पनि गरिएको छ। आरटीएको एप र वेवसाइट प्रयोग गरी नम्बर प्लेट पनि परिवर्तन गर्न सकिनेछ।

सुल्तान अब्दुल्लाहले दुबईको मरुभूमिको हावापानीबाट यस प्रविधिमा पर्न सक्ने समस्याहरू परीक्षण कालमा पहिल्याइने बताएका छन्। तर ती प्लेटको मूल्य कति पर्ने हो भन्ने खुलाइएको छैन। सुल्तानले आगामी नोभेम्बरमा परीक्षणकाल सकिएपछि मात्र यस परियोजनाको अन्तिम खर्च थाहा हुने बताएका छन्।