सुरु भो आठ रात नौ दिन मनाइने बिस्केटजात्रा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
नयाँ वर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक, सांस्कृतिक एवं तान्त्रिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा मंगलबारदेखि सुरु भएको छ । अपरान्ह तौमढीबाट भैरब नाथको रथ तानेर हर्षोल्लासका साथ जात्रा सुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रामा पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ ।

तौमढी अर्थात् पाँचतले मन्दिर अगाडिबाट साँझबाट भैरवको रथ तानेर जात्रा शुरु भएको हो । तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आआफ्नो क्षेत्रमा लैजान रथ तान्ने गर्दछन् । रथलाई मध्य रातिसम्म पनि तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ ।

तान्त्रिक विधिअनुसार चल्ने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे यो जात्रा नेपाल संवत २६८ अर्थात लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

त्यसपछि नेपाल संवत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएअनुसार नै अहिलेसम्म त्यही प्रचलन चल्दै आएको छ । प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

बिस्केट जात्रा मै चैत्र ३० गते भक्तपुरको भेलुखेलमा लिङ्गो उठाउने र वैशाख १ गते दिनभर जात्रा सञ्चालन गरी साँझ ढाल्ने गरिन्छ । माथि र तलको बासिन्दाले रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने र हिंसा बढ्न सक्ने भएपछि सुरक्षाका लागि भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार ५ सय सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

हिंसात्मक घटना हुन नदिन र निगरानी गर्न जात्रास्थललगायतका क्षेत्रमा सिसि क्यामरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो । त्यसै गरी हिंसात्मक घटना वा रथ तान्दा हुने दुर्घटनामा घाइते भएमा तत्कालै उद्धार एवं उपचारका लागि उद्धार टोली र भक्तपुरमा २४ सैं घण्टाको विशेष उपचार टोली खटाएको उहाँले जानकारी दिनुभयो ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनपछिसम्म संचालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन् । बिस्केट जात्राको पहिलो दिन बिहानैदेखि भैरब र भद्रकालीको पुजा गरेपछि अपरान्हबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाईने परम्परा रहेको छ ।

चैत अन्तिम दिन भेलुखेलमा इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यस दिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेअनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकोले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

नेपाल सम्वत २६८ अर्थात् लिच्छवी कालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवं त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।