उपराष्ट्रपतिद्धारा पानीको सुरक्षामा ध्यान दिन आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
उपराष्ट्रपति नन्दकिशोर पुनले पानीको सुरक्षालाई ध्यान दिन आग्रह गर्नुभएको छ । बढ्दो जनसंख्या र शहरीकरणको चापले पानीको स्रोत, वनजंगल र जमीनमा मानवीय चाप पर्दै गएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले जीवनको आधारको रुपमा रहेका पानीको आपूर्ति अत्यन्त संवेदनशील भएको बताउनु भएको छ ।

मंगलबार पानी, वातावरण र जलवायु परिवर्तन: ज्ञानको आदानप्रदान र साझेदारी विषयक तीन दिवसीय अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले घरायसी उपयोग, कृषि र औद्योगिक प्रयोजनमा पानीको माग बढ्दै गएको बताउनु भएको हो । पानी अमूल्य छ, यसको सुरक्षामा ध्यानदिन जरुरी छ– उहाले भन्नुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संयुक्त राष्ट्र संघले दिगो विकासका लागि निर्धारण गरेका लक्ष्यहरुलाई राष्ट्रिय योजनामा ढालेर कार्यान्वयनमा ल्याउन पर्नेमा पनि जोड दिनु भएको थियो । उहाले जलवायु परिवर्तनसम्बन्धी पेरिस संझौता,दिगो विकासका लक्ष्य र विपत् जोखिम सम्बन्धी सेडाई फ्रेम वर्कका प्रावधानहरु वातावरण विनासको असरबाट जोगाउनका साथै मुलुकको आर्थिक सामाजिक विकसाकालागि अत्यन्त महत्वपूर्ण भएको पनि उल्लेख गर्नु भएको थियो ।

जलवायु परिवर्तनको असरबाट नेपाल अत्यन्त प्रभावित हुने मुलुकमा परेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले नेपालमा हुनलागेको यो अन्तराष्ट्रिय सम्मेलनले विश्वलाई नै नयाँ सन्देश दिन सक्ने विश्वास पनि गर्नु भएको थियो । जलवायु परिवर्तनको विषय विश्व मानव समुदायको सरोकारको विषय भएकोले विकसित मुलकले पनि जिम्मेवारी पूरा गर्नुपर्ने र हामीले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने पनि उहाले बताउनु भएको थियो ।

सम्मेलनको उद्घाटन समारोहलाई विशेष वक्ताको रुपमा संबोधन गर्दै दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान सुड. सूले जीवनको प्रमुख आधारको रुपमा रहेको पानीको व्यवस्थापन अत्यन्तै चुनौतिपूर्ण रहेको बताउनु भएको थियो । उहाँले मानव सभ्यताको शुरुआत नदी किनाराहरुबाट भएको उल्लेख गर्दै खाद्यान्न, सिंचाई र यातायातमा पानीको बहुआयामीक उपयोगको बारेमा पनि प्रकाश पार्नु भएको थियो ।

उहाँले बढ्दो जनसंख्या, तीव्र शहरीकरण, बढ्दो औद्योगिकरणका कारण पानीको अभाव बढ्दै जानुको साथै पानीको प्रदूषण बढेको र व्यवस्थापनमा उचित ध्यान नपुगेकोले विश्वभर प्राकृतिक विपत्तिहरुको निरन्तर सामना गर्नुपरेको पनि उल्लेख गर्नु भएको थियो ।
संयुक्त राष्ट्र संघको हाई लेभल एक्सपर्ट एण्ड लिडर इन वाटर एण्ड डिजआस्टरका चेयरमेन रहनुभएका डा.सूले पानीको समुचित व्यवस्थापन गर्न नजान्दा कतै अभाव,कतै बाढी पहिरो,सुनामी र आँधीका समस्या उत्पन्न हुने गरेको बताउदै जलवायु परिवर्तनका असरहरु कम गर्न वातावरण संरक्षणमा ध्यान दिनुका साथै अनुकूलनका कार्यक्रमहरु पनि साथै सञ्चालन गर्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसीले खानेपानी र सरसफाईको महत्वमाथि प्रकाश पार्नुभएको थियो भने वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले वातावरण विनास र प्रदूषण ल्याएको जलवायु परिवर्तनका नकारात्मक असरहरुबाट बच्नका लागि गर्नुपर्ने कामहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष तथा पब्लिक हेल्थ इञ्जिनियर्स एशोसियसनका अध्यक्ष ई. रामदीप साहले बढ्दो जनसंख्या र शहरीकरणको चापले पानी,वनजंगल र भूमिमाथि चाप पर्दै गएको उल्लेख गर्नुभयो । उहाँले सीमित स्रोतको किफायती उपयोग गरी विश्वलाई सुरक्षित गर्दै सबैलाई स्वच्छ पानी उपलब्ध गराउन पानीको समुचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले पानीको पुनर्प्रयोगमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो ।

उद्घाटन समारोहमा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. हरेराम श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

तीन दिवसीय सो अन्तराष्ट्रिय सम्मेलनमा १८ वटा कि नोट पेपर प्रस्तुत हुनेछन भने १ सय १६ वटा कार्यपत्र प्रस्तुत गरी छलफल गरेर परिमार्जन गरिनेछ । कार्यक्रममा १ सय ५० जना जति विदेशी र ३५० जना जति नेपाली सहभागी रहेका छन् ।कार्यक्रमको अन्तिम दिन काठमाडौं घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।