महारानी एलिजावेथ पैगम्बर मोहम्मदको वंशज भएको दावी

0
Shares

लन्डन, (एजेन्सी)
बेलायतकी महारानी एलिजाबेथ इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको वंशज भएको दावी गरिएको छ। मोरक्कोको एक अखबारले एक अनुसन्धानात्मक अध्ययनका आधारमा उक्त दावी गरेको हो।
महारानी एलिजाबेथ पैगम्बर मोहम्मदको वंशज दावी गरिएको यो पहिलो घटना भने होइन। सन् १९८६ मा पनि यस्तै प्रकारको १ समाचार प्रकाशित भएको थियो।

मोरक्कोको अखबारका अनुसार शाही परिवारको वंशावलीमा ४३ पुस्तासम्मको अध्ययनपछि इतिहासकारहरूले महारानी एलिजावेथ द्वितीय पैगम्बर मोहम्मदका टाढाको नातेदार भएको दावी गरेको हो। बेलायती वेबसाइट डेलीमेलले पनि यस प्रकारको अनुसन्धान १९८६ मा बुर्केज पिराजमा प्रकाशित भएको दावी गरेको छ। उक्त पुस्तकलाई शाही वंशावलीका बारेमा ‘अथोराइज्ड ब्रिटिस गाइड’ मानिएको छ।

इतिहासकारका अनुसार एलिजावेथ द्वितीयको रगत १४औं शताब्दीका अर्ल अफ क्याम्ब्रिजसँग जोडिएको छ। यो रगत सम्बन्ध मध्यकालीन मुस्लिम स्पेनदेखि पैगम्बर मोहम्मदकी छोरी फातिमासम्म जोडिएको उनीहरूले बताएका छन्।

फातिमा पैगम्बर मोहम्मदकी छोरी थिइन् र उनका वंशज स्पेनका राजा थिए। उनीहरूसँगै महारानी एलिजाबेथको सम्बन्ध रहेको बताइएको छ। त्यसैको आधारमा उनी पैगम्बरका वंशज भएको दावी गरिएको हो।
मोरक्कोको अखबारमा प्रकाशित उक्त लेखका लेखक हमिद अल अवनी हुन्। उनले उक्त लेखमा ११औं शताब्दीमा स्पेनको सेविलेका राजा अबु अल कासिम मुहम्मद बिन अब्बाद इस्लाम धर्मका प्रवर्तक पैगम्बरकी छोरी फातिमाको वंशज भएको उल्लखे गरेका छन्।

अब्बादकी छोरीको नाम जायदा थियो। बुर्केज पिराजको अध्ययनमा महारानी एलिजाबेथ मुस्लिम राजकुमारी जायदाको परिवारसँग सम्बन्ध रहेको उल्लेख छ।

अब्बादी साम्राज्यमाथि हमला हुँदा जायदा सविलेबाट भागेर स्पेनका राजा अल्फासोको शरणमा पुगेकी थिइन्। उनी त्यहाँ धर्म परिवर्तन गरी इसाई बनेका थिए। उनको नाम जायदाबाट इसाबेला भएको थियो। त्यसपछि उनका छोरा सांँचोको वंशजले थर्ड अर्ल अफ क्याम्ब्रिज रिर्चड अफ कोनिसबर्गसँग विवाह गरेका थिए। अर्ल अफ क्याम्ब्रिज इंग्ल्यान्डका राजा एडवर्ड तृतीयका नाति थिए।

केही इतिहासकारले यो तथ्यलाई स्वीकार गरेका छैनन्। तर यो दावीलाई प्रारम्भिक मध्ययुगीन स्पेनको वंशावलीको रिकर्डले समर्थन गरेको छ। इजिप्टका पूर्वग्य्रान्ड मुफ्ती अली गोमाले पनि यो तथ्यलाई समर्थन गरेका थिए।