दीनानाथ लम्साल
विश्वका अधिकांश मुलुकहरूमा उद्योग, व्यापारिक एकाइहरूको आर्थिक संरचनाबारे जानकारी प्राप्त गर्न र ती एकाइहरूको सूची तयार गर्न तथ्याङ्कीय व्यावसायिक रजिष्टरको स्थापना वा आर्थिक गणना सञ्चालन गर्दै आएको पाइन्छ। आर्थिक गणनाको सञ्चालनबाट विभिन्न आधारभूत आर्थिक सूचकहरू जस्तै– श्रमको उत्पादकत्व, उत्पादकको मूल्य, औद्योगिक उत्पादन, क्षमताको उपयोग, मासिक खुद्रा बिक्री, मासिक थोक व्यापार आदिको विभिन्न आधारभूत आर्थिक तथ्याङ्कहरू नियमितरूपमा उपलब्ध हुन्छन्।
यस्तै विश्वमा आर्थिक विकासको गति तीव्रतर हुँदै गएको र विभिन्न औद्योगिक व्यवसायका आर्थिक क्रियाकलापहरूमा पनि वृद्धि हुँदै गएको देखिन्छ। यसले अन्ततोगत्वा देशको आर्थिक वृद्धिमा प्रभाव पारेको हुन्छ। सरकारी नीतिले पनि आर्थिक वृद्धिलाई जोड दिएको पाइन्छ। यस्तो अवस्थाले समग्र आर्थिक संरचनाको अवस्था के–कस्तो रहेको छ भन्न्ने बुझ्नुपर्ने आवश्यकता हुन्छ। देशको समग्र आर्थिक जगत्को विस्तृत अवस्थालाई बुझ्न आर्थिक गणनाको औचित्य रहेको हुन्छ। आर्थिक गणनाको सञ्चालनबाट विभिन्न औद्योगिक व्यवसायहरू र अन्य आर्थिक एकाइहरूको विस्तृत तथ्याङ्कीय सूचना उपलब्ध हुने मात्र नभई भविष्यको आर्थिक विकासको अनुमान र तुलनाका लागि आधार पनि खडा गर्छ। यसैले नेपालमा पनि आर्थिक तथ्याङ्कलाई मजबुत गर्न आर्थिक गणना गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ।
नेपालको समग्र विकासको लक्ष्य दिगो, समावेशी फराकिलो र दिगो आर्थिक समान वृद्धिद्वारा गरिबी न्यूनीकरण गर्नु हो। नेपालले यसका आवधिक योजनाहरू र वार्षिक बजेटहरूमा विभिन्न विकास लक्ष्यहरू हाासिल गर्ने कार्यक्रमहरू राखेको पाइन्छ। सरकारी, सहकारी तथा निजी तीनै क्षेत्रको क्षमता तथा राष्ट्रिय अर्थतन्त्रमा रहेको योगदानको सही तथा यथार्थवादी मूल्यांकन अहिलेको आवश्यकता हो। सरकारले तेह्रौं त्रिवर्षीय योजनामा सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित राष्ट्रको स्थितिबाट विकासशील देशको पंक्तिमा स्तरोन्नति गर्ने दृष्टिकोण राखेको थियो। स्तरोन्नति प्रक्रियामा राष्ट्र विशेषका विभिन्न सूचकांकहरू तयार गर्नुपर्ने हुन्छ। ती मध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि एक हो।
यसका लागि औपचारिक तथा अनौपचारिक आर्थिक क्रियाकलापहरूको व्यवस्थित सूची तथा ती क्रियाकलापहरूबाट सृजित कारोबारहरूको विवरणबाट माथि उल्लेख गरिएको राष्ट्रिय लेखाका तथ्याङ्कहरू तयार गरिनु आवश्यक छ। सामाजिक, आर्थिक विकासका लागि सहस्राब्दी लक्ष्यहरूको पदचापलाई पहिल्याउँदै नेपालले सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरू हासिल गर्ने योजनालाई निरन्तरता दिने भएको छ। यस सन्दर्भमा नेपाललाई अति कम विकसित राष्ट्रको स्थितिबाट विकासशील देशको पंक्तिमा स्तरोन्नति गर्ने लक्ष्य हासिल गर्न र दिगो आर्थिक वृद्धि गरी दिगो विकासको लक्ष्यहरू पाप्ति गर्न आवश्यक पर्ने बृहत् आर्थिक तथ्याङ्कहरू प्राप्त गर्न पनि आर्थिक गणना अपरिहार्य देखिन्छ।
आर्थिक गणनाको अवधारणा
आर्थिक गणना एक बृहत् तथ्याङ्कीय क्रियाकलाप हो, जुन राष्ट्रिय तथ्याङ्क कार्यालयहरूबाट कुनै निश्चित समयावधिको अन्तरमा सञ्चालन गरिन्छ। यस तथ्याङ्कीय क्रियाकलापअन्तर्गत देशको सम्पूर्ण भूभागभित्र सञ्चालनमा रहेका वा अवस्थित रहेका सबै आर्थिक एकाइहरूको तथ्याङ्कीय विवरण संकलन गरिन्छ। यस क्रियाकलापअन्तर्गत अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणमा उल्लेख गरिएका केही खण्डका जस्तै– कृषि, वन र मत्स्य क्रियाकलापहरू, सार्वजनिक प्रशासनजस्ता क्रियाकलापहरूबाहेक अन्य खण्डमा उल्लिखित सम्पूर्ण व्यावसायिक क्रियाकलापहरूको एकै सन्दर्भ अवधिमा पूर्ण गणना गरिन्छ। यसैले सम्पूर्ण आर्थिक एकाइहरूसम्बन्धी तथ्याङ्क संकलन, संग्रह, प्रशोधन, विश्लेषण र ती आर्थिक एकाइहरूको तथ्याङ्कीय विवरण प्रकाशन तथा वितरण गर्ने सम्पूर्ण क्रियाकलापलाई आर्थिक गणना भनिन्छ।
आर्थिक गणनाको महत्व देशको आर्थिक विकासका लागि तर्जुमा गरिने आर्थिक नीति तथा योजनाहरूका लागि मात्र नभएर तथ्याङ्कीय व्यावसायिक रजिस्टर स्थापना गर्न र हरेक क्षेत्रका उद्योगी, व्यवसायी, अनुसन्धानकर्ताहरू तथा अन्य समुदायका लागि आ–आफ्नो क्षेत्रको विकास तथा व्यवसायको विस्तारजस्ता कार्ययोजना तर्जुमा गर्न पनि आर्थिक गणनाको औचित्य रहेको छ। जस्तै– विभिन्न उद्योग तथा व्यापारिक संगठनहरू, च्याम्बर अफ कमर्स आदिले आर्थिक विकास तथा व्यावसायिक निर्णयहरू गर्नका लागि आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कीय सूचनाको प्रयोग गर्न सक्छन्।
यस्तै सरकारी तथा विकास साझेदार निकायहरू, विश्लेषकहरू, व्यावसायिक संगठनहरूले पनि आर्थिक विकाससम्बन्धी नीति तथा योजनाहरू तर्जुमा गर्न पनि आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कहरू प्रयोग गर्न सक्छन्। यसका साथै कुनै पनि उद्योगी तथा व्यवसायीलाई आफ्नो व्यवसायको लगानी योजना तर्जुमा गर्न र व्यवसाय विस्तार गर्न पनि आर्थिक गणनाका तथ्याङ्कीय नतिजाहरू अति उपयोगी हुन्छन्। यस्तै विभिन्न समष्टिगत आर्थिक सूचकहरूको गुणस्तरलाई अभिवृद्धि गर्न र राष्ट्रिय लेखा अनुमान गर्न आवश्यक पर्ने, विभिन्न आर्थिक तथ्याङ्कका स्रोतहरू विस्तार गर्न पनि अझ आर्थिक गणनाबाट प्राप्त हुने नतिजाको बढी महत्व रहेको छ। यसैले देशको अर्थतन्त्रमा समावेश रहेका विभिन्न आर्थिक, व्यावसायिक क्रियाकलापहरू मापन गर्नका लागि निश्चित समायावधिमा सञ्चालन गरिने आर्थिक गणनाजस्तो बृहत्तर तथ्याङ्कीय क्रियाकलाप एक महत्वपूर्ण कोसेढुंगा हो। व्यावसायिक प्रतिस्पर्धात्मक स्थिति थाहा पाउन, मुलुकको अर्थतन्त्रको विशेषताहरूको वास्ताविकता थाहा पाउन, व्यावसायिक एकाइहरूको अवस्थिति तथा आकारसम्बन्धी सूचना प्राप्त गर्न, व्यवसायको विभिन्न विशेषताहरू एकरूप, तुलनात्मक तथा विस्तृत ढंगले मापन गर्न र कुल गार्हस्थ्य उत्पादन, उत्पादन तथा मूल्य सूचकांक, खुद्रा बिक्री तथा अन्य तथ्याङ्कजस्ता आर्थिक सूचकहरूका लागि सही बेन्चमार्क तथ्याङ्क प्राप्त गर्न पनि आर्थिक गणनाको अपरिहार्यता रहेको हुन्छ।
नेपालमा वि.सं. २०२२ देखि सञ्चालित औद्योगिक गणनालाई आंशिक आर्थिक गणनाको शुरुवातको रूपमा बुझ्न सकिन्छ तर एकै सन्दर्भ अवधिमा सबै व्यावसायिक आर्थिक एकाइहरूको पूर्ण गणना हालसम्म नेपालमा सञ्चालन गरिएको छैन। आर्थिक तथ्याङ्क महाशाखाअन्तर्गत आर्थिक गणना शाखाको वि.सं. २०७० मा स्थापना भएपछि आर्थिक गणना सञ्चालन गर्नुपर्ने दायित्व रहन आएको छ। यस सन्दर्भमा विभिन्न आर्थिक क्रियाकलापहरू सञ्चालन गर्ने उद्योग, व्यापारिक प्रतिष्ठान, तथा विभिन्न सेवाहरू उपलब्ध गर्ने प्रतिष्ठान तथा एकाइहरूको वर्तमान अवस्थाबारे आधारभूत तथ्याङ्क प्राप्त गर्न, विभिन्न तथ्याङ्कीय अध्ययन तथा सर्वेक्षणहरू सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण आर्थिक एकाइहरूको सूची अर्थात् मास्टर स्याम्पल फ्रेमका लागि ती आर्थिक एकाइहरूको व्यावसायिक रजिस्टर तयारी गर्नका लागि नेपालमा पनि आर्थिक गणना सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भएको छ। यसैले केन्द्रीय तथ्याङ्क विभागले सन् २०१८ तदनुरूप आ.व. २०७४⁄७५ मा नेपालमा प्रथमपटक आर्थिक गणना सञ्चालन गर्न लागेको हो।
यस गणनामा अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण खण्ड ‘ए’, कृषि, वन तथा मत्स्य, खण्ड ‘ओ’को सार्वजनिक प्रशासन तथा रक्षा, अनिवार्य सामाजिक सुरक्षाका क्रियाकलापहरू, खण्ड ‘टी’को घरपरिवारका क्रियाकलापहरू र खण्ड ‘युका बाह्य संगठनका क्रियाकलापहरूबाहेक अन्य खण्डका व्यावसायिक क्रियाकलापहरूको गणना गर्ने योजना रहेको छ। प्रस्तावित आर्थिक गणनाको मूल उद्देश्य देशमा आर्थिक नीति तर्जुमा तथा आर्थिक, सामाजिक विकासका लागि विस्तृत तथ्याङ्कीय सूचना उपलब्ध गराउनु हो। नेपालमा आर्थिक गणनाको सञ्चालनबाट देशभरि छरिएर रहेका वा सञ्चालित विभिन्न प्रकारका आर्थिक एकाइहरूको आकार तथा वितरणसम्बन्धी सही, विश्वसनीय र समयमै विस्तृत तथ्याङ्क उपलब्ध गर्ने व्यवस्थित तथ्याङ्कीय क्रियाकलाप हो। यसका साथै भविष्यमा सञ्चालन गरिने आर्थिक गणनाहरूबाट औपचारिक तथा अनौपचारिक व्यावसायिक दुवै क्षेत्रहरूमा संरचनागत परिवर्तनहरूको स्वरूपका बारेमा पनि सूचना प्रदान गर्नेछ। यस आर्थिक गणनाको सञ्चालनबाट कुल गार्हस्थ्य उत्पादनको संरचना, इन्पुट र आउटपुट मापन, उत्पादन तथा मूल्य सूचकांक र अन्य तथ्याङ्कीय क्षेत्रहरूको फ्रेमवर्कका लागि आवश्यक पर्ने महत्वपूर्ण आँकडाहरू पनि उपलव्ध गराउनेछ। मुलुकलाई विकासशील देशमा स्तरोन्नति गर्नेतर्फ वर्तमान चुनौतीहरूलाई सामना गर्न आवश्यक पर्ने बृहत् आर्थिक तथ्याङ्कलाई परिपूर्ति गर्न आर्थिक गणना एक अत्यावश्यक तथ्याङ्कीय क्रियाकलाप हो।
नेपालमा क्रियाशील सबै प्रकारका व्यावसायिक प्रतिष्ठानहरू तथा इन्टरप्राइजेजहरूको विवरण रहने तथ्याङ्कीय व्यावसायिक रजिस्टरको स्थापना गरी देशको तथ्याङ्कीय संरचनालाई मजबुत गर्ने यस आर्थिक गणनाको मूल लक्ष्य रहेको छ। नेपाल सरकारले तयार गर्दै गरेको तथ्याङ्क विकासका लागि राष्ट्रिय रणनीतिमा पनि सन् २०१८ नेपालको आर्थिक गणना २०१८ को आवश्यकता र यसको सञ्चालनका विषयमा स्पष्ट उल्लेख गरेको छ। नेपालमा आर्थिक गणना सञ्चालन गर्न जापान सरकारको प्राविधिक सहयोग, जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग निकाय संस्था जाइकाले सन् २०१८ मा नेपालमा आर्थिक गणना सञ्चालन गर्नका लागि क्षमता विकासका लागि प्राविधिक सहयोग गरेको छ।
यसै सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ को शुरुमा नै नेपालमा प्रथमपटक राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गरेको छ। स्थलगत तथ्यांक संकलनको लागि वि.सं. २०७४ साल चैत्र १ गतेबाट सबै ७७ जिल्लामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी स्थलगत तथ्याङ्क संकलनको लागि जनशक्ति व्यवस्थापनको काम भइरहेको छ।
राष्ट्रिय आर्थिक गणना २०७५ सम्बन्धमा सरोकारवालाहरूबाट बारम्बार आउने र आउन सक्ने केही प्रश्नहरूको बारेमा देहायअनुसार प्रस्ट्याउने प्रयास गरिएको छ।
आर्थिक गणना भनेको के हो ?
देशभित्र अस्तित्वमा रहेका र क्रियाशील सबै व्यावसायिक प्रकृतिका आर्थिक एकाइहरू (वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने प्रतिष्ठान⁄व्यवसायहरू) मा पुगी गणनाको निर्धारित प्रक्रियाअनुसार तोकिएको समयभित्र विभिन्न आर्थिक एकाइहरूको विवरण संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रियालाई ‘आर्थिक गणना’ भनिन्छ।
आर्थिक गणनामा केको गणना गरिन्छ ?
संयुक्त राष्ट्र संघको परिभाषाअनुसार गणनाको लागि कुनै पनि व्यावसायिक प्रकृतिको प्रतिष्ठानलाई गणना एकाइको रूपमा लिइएको छ र त्यसलाई यसरी परिभाषित गरिएको छ– ‘प्रतिष्ठान भन्नाले एउटै स्वामित्व वा नियन्त्रणमा कुनै निश्चित स्थानमा रही एकै वा मुख्यरूपले कुनै एउटा आर्थिक क्रियाकलाप गर्ने वा खास आर्थिक क्रियाकलापमा संलग्न एउटा आर्थिक एकाइलाई बुझाउँछ।’
प्रतिष्ठान भनेको के हो ?
आर्थिक गणनामा तथ्याङ्क संकलन गर्न लागिएको आर्थिक एकाइ नै मूलतः एउटा प्रतिष्ठान हो। एउटा निश्चित वा एकल स्थानमा अवस्थित वा स्थापना गरिएको आर्थिक एकाइलाई प्रतिष्ठान भनिन्छ। यस्ता प्रतिष्ठानले मुख्यतया एकै प्रकारका मात्र आर्थिक क्रियाकलापहरू सञ्चालन गरेका हुन्छन्। प्रतिष्ठान कुनै पनि आकार, प्रकार र किसिमको आर्थिक एकाइ हुनसक्छ। उदाहरणार्थ सबै प्रकारका पसल, अस्पताल, विद्यालय, विश्वविद्यालय, तालिम केन्द्र, साना–ठूला होटल, चमेना गृह, दर्ता भएका कृषि व्यवसाय, वस्तु उत्पादन गर्ने उद्योग, ल फर्म, अडिट फर्म, बैंक, सहकारी, राजनैतिक पार्टीका संगठन तथा भ्रातृ संगठन, मठ–मन्दिर, उपभोक्ता समूहहरू आदि आर्थिक एकाइअन्तर्गत पर्दछन्।
आर्थिक गणना किन गरिन्छ ?
देशको समग्र आर्थिक क्रियाकलापहरूको स्थितिको मूल्यांकन गर्न र उपयुक्त आर्थिक नीति तथा कार्यक्रमहरू तर्जुमा गर्नका लागि भर पर्दो, समसामयिक र गुणस्तरीय आर्थिक तथ्याङ्कको आवश्यकता पर्दछ। बृहत् र दिगोरूपमा आर्थिक तथ्याङ्कहरू उत्पादन गर्नका लागि आर्थिक तथ्याङ्क प्रणालीलाई मजबुत तुल्याउन आवश्यक छ। स्थानीय तहबाट नै तथ्यमा आधारित योजना बनाउनको लागि स्थानीय तहसम्मका खण्डीकृत तथ्याङ्कको आपूर्ति अपरिहार्य हुन जान्छ। आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कले अर्थतन्त्र र आर्थिक एकाइहरूको आकार, प्रकार, संरचना, रोजगारीलगायतका नीति निर्माणका लागि आवश्यक पर्ने विवरणहरू तथा आधारभूत सूचकहरू एकैसाथ उपलब्ध हुने गरी केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय आर्थिक गणना २०७५ सञ्चालन गर्दै छ।
राष्ट्रिय आर्थिक गणना २०७५ का मुख्य उद्देश्य
क) प्रतिष्ठान तथा व्यवसायहरूको व्यावसायिक क्रियाकलापसम्बन्धी वर्तमान अवस्था र यसका वित्तीय पक्षसहित आधारभूत तथ्याङ्कहरू उपलब्ध गराउने।
ख) केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई योजना तर्जुमा र नीति निर्माण गर्न तथ्याङ्कहरू उपलब्ध गराउने।
ग) राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न तथ्याङ्कहरू उपलब्ध गराउने।
घ) तथ्याङ्कीय व्यावसायिक रजिस्टर निर्माणको आधार खडा गर्ने।
ङ) सम्बन्धित क्षेत्रका व्यवसायीहरू र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्याङ्क प्रयोगकर्ताहरूलाई क्रमशः व्यवसाय समृद्धिको लागि नीति तथा योजना तर्जुमा गर्न र अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने तथ्याङ्कहरू उपलब्ध गराउने।
च) विभिन्न विषयगत आर्थिक सर्वेक्षणहरूको सूचीका लागि प्रतिष्ठान, व्यवसाय तथा इन्टरप्राइजहरूको विवरण उपलव्ध गराउने।
आर्थिक गणना कसरी सञ्चालन गरिन्छ ?
यस आर्थिक गणनामा नेपालमा क्रियाशील सबै आर्थिक एकाइहरू (प्रतिष्ठान तथा व्यवसायहरू) को ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, व्यवसायको प्रकार, व्यवसायको शाखा–प्रशाखाको स्थिति, मुख्य आर्थिक क्रियाकलाप, रोजगारी स्थिति, पूँजी लगानी, ऋणमा पहुँच आदिसम्बन्धी विवरण संकलन गरिनेछ। नेपालको तथ्याङ्कीय इतिहासमा प्रथमपटक यस गणनामा कागजी प्रश्नावली फारामका साथै अनलाइन सर्वेक्षणमार्फत उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैँ भर्न सक्ने र गणकमार्फत ट्याब्लेट कम्प्युटर प्रयोग गरी गणना गर्न सकिने विधि अपनाइँदै छ। वि.सं. २०७५ वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म यस विभागबाट आर्थिक गणनाका विवरणहरू संकलन गर्न प्रत्येक घरदैलो वा प्रतिष्ठान व्यवसाय स्थलमा गणकहरू आउनेछन्। गणकहरूलाई सही र यथार्थ विवरण उपलब्ध गराउनु सरोकारवाला सबै प्रतिष्ठान तथा व्यवसायको कर्तव्य तथा दायित्व हो। राष्ट्रको आर्थिक विकासमा प्रत्यक्ष र परोक्षरूपमा योगदान गर्ने यो एक अवसर पनि हो।
आर्थिक गणनाबाट के–के प्राप्त हुन्छ ?
राष्ट्रिय आर्थिक गणना २०७५ को मुख्य सूचकहरूमा १. आर्थिक क्रियाकलापअनुसार प्रतिष्ठानहरूको कुल संख्या, २ प्रतिष्ठानहरूको वैधानिक स्थिति, ३. क्षेत्रगत प्रतिष्ठानहरूको घनत्व, ४. लिंगअनुसार रोजगारीको स्थिति, ५. वैदेशिक पूँजीको लगानी, ६. कुल स्थिर सम्पत्तिमा भएको लगानी, ७. प्रतिष्ठानहरूको ऋणमा पहुँच आदि विभिन्न सूचकहरू प्राप्त हुनेछन्। त्यसैले आर्थिक गणना आर्थिक विकासको मेरुदण्ड पनि हो।
आर्थिक गणनामा कस–कसको भूमिका रहन्छ ?
केन्द्रीय तथ्याङ्क विभाग नेपाल सरकारको तथ्याङ्क संकलन, प्रशोधन एवं तथ्याङ्कीय प्रतिवेदन तयार गरी प्रकाशन तथा वितरण गर्ने एक प्रमुख सरकारी निकाय भएको हुँदा विभागबाट समय–समयमा विभिन्न गणना, तथ्याङ्कीय सर्वेक्षणहरू तथा अन्य स्रोतबाट तथ्याङ्कहरू संकलन गरी यसका नतिजाहरू प्र्र्रयोगकर्तासमक्ष पुर्याउने प्रयास भइरहेको छ। तथ्याङ्ककै आधारमा योजना तर्जुमा तथा नीति निर्माण हुने भएकाले संकलित तथ्याङ्कहरू समसामयिक, भरपर्दो तथा विश्वसनीय हुनु जरुरी हुन्छ। यसका लागि तथ्याङ्कका सम्पूर्ण प्रयोगकर्ता, सरोकारवाला संघसंस्था, नागरिक समाज, पत्रकार र सिंगो राष्ट्रकै भूमिका त्यत्तिकै महत्वपूर्ण रहन्छ।
अन्त्यमा,
यस आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्न सरोकार राख्ने नेपाल सरकारका सबै निकाय, पत्रकार, उद्योगी, व्यवसायी, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य व्यवसायी, गैरसरकारी संस्था, साना तथा ठूला प्रतिष्ठान व्यवसायी तथा संघसंस्थाहरू र सम्पूर्ण नागरिकको सहयोग तथा सद्भाव प्राप्त हुने केन्द्रीय तथ्याङ्क विभागले अपेक्षा तथा विश्वास लिएको छ। यसका साथै तथ्याङ्क ऐन २०१५ अनुसार व्यवसायहरूबाट संकलित विवरणहरू गोप्य रहने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र उपयोग हुनेमा केन्द्रीय तथ्याङ्क विभाग सम्बन्धित सबैमा विश्वास दिलाउन चाहन्छ।
(लेखक लम्साल तथ्याङ्क कार्यालय, काभ्रेपलाञ्चोकका तथ्याङ्क
अधिकृत हुनुहुन्छ।)
प्रतिक्रिया