श्वेतपत्रमाथि कांग्रेसको आपत्ति अव्यावसायिक मुचुल्काको पुलिन्दा

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं
सरकारले जारी गरेको श्वेतपत्र देशको आर्थिक अवस्थाको यथार्थ विवरण समेटिएर जारी गर्नुपर्नेमा झुटको विवरण मात्रै समावेश गरेर जनतालाई दिग्भ्रमित बनाउन खोजेको आरोप प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगाएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनअघि संसद् मार्फत सार्वजनिक गर्नुभएको श्वतपत्रमाथि आधिकारीकरूपमा धारणा सार्वजनिक गर्दै कांग्रेसले श्वेतपत्रलाई लालपत्रको संज्ञासमेत दिएको छ। श्वेतपत्र जारी हुनासाथ कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरे पनि नेता खुमबहादुर खड्काको निधनपछि केन्द्रीय समिति बैठकले ५ दिनसम्म सबै कार्यालय बन्द गर्ने निर्णय गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण रहेका कारण सरकारले ल्याएको श्वेतपत्रमाथि ढिलो टिप्पणी गरेको हो। भारत भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएको भोलिपल्टै कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर विगतका सबै यथार्थतालाई बिर्सिएर इतिहास आजबाट शुरु भएको ढंगले श्वेतपत्र आएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

‘इतिहास आजबाट शुरु हुन्छ भन्ने आशयले श्वेतपत्र आएको छ। यो श्वतपत्र हैन, लालपत्र हो’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– ‘नैतिक इमानदारिताभन्दा पर गएर संगतिरहित सन्दर्भ गाँसेर असन्तुलितरूपमा तथ्यांकहरू श्वेतपत्रमा उल्लेख भएको छ।’ श्वेतपत्रलाई अबौद्धिक र अव्यावसायिक मुचुल्का भन्दै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले अर्थतन्त्रको सकारात्मक पाटाहरू सबै नजरअन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुतिबाट चरम निराशाको राज्य विस्तार मात्रै भएको दाबी गर्नुभएको छ।

राज्यले हालसम्म गरेका आर्थिक उपलब्धिलाई नकार्ने र हामीले शून्यबाट समृद्धिको शुरुआत गर्न लागेका हौं भन्ने भ्रम स्थापित गर्ने प्रयत्नका क्रममा श्वेतपत्र कोरिएको नेपाली कांग्रेसले महसुस गरेको भन्दै प्रवक्ता शर्माले भन्नुभयो– ‘विरासतमा धराशयी अर्थतन्त्र नेपाली कांग्रेसले छोडेको थियो र हामीले सम्हाल्यौं भन्ने भोलिको चुनावी एजेन्डा स्थापित गर्ने मनोविज्ञानको जगमा श्वेतपत्र आएको महसुस हुन्छ।’ बितेको २५ वर्षमा ६२ गुणाले राजस्व वृद्धि भएको तथ्य श्वेतपत्रमा कतै उल्लेख छैन भन्दै कांग्रेसले पञ्चायती व्यवस्थाले जाँदै गर्दा हाम्रो हातमा १२ अर्बको राजस्व छोडेको थियो, आज ७ सय अर्ब माथिको आकार बढेको तथ्यलाई भुल्न नहुने उहाँले दाबी गर्नुभयो।

श्वेतपत्रको प्रस्तुति निश्चित कालखण्डको छायाँचित्रका रूपमा इमान्दार ढंगले प्रस्तुत भएको छैन भन्दै उहाँले कुन निश्चित कालखण्डको तथ्यांक र चित्र प्रस्तुत गर्दा बढी नकारात्मक सम्प्रेषण गर्न सकिन्छ भन्ने मनशायले प्रेरित भएको दावी गर्नुभएको छ।

विगत १० वर्षमा मुलुकको अर्थतन्त्र बढी बिग्रिएको चर्चा श्वेतपत्रमा गरिरहँदा यो दशकमा अधिकांश समय मुलुकको सत्तामा कम्युनिस्ट प्रधानमन्त्रीले वा अर्थमन्त्रालयमा कम्युनिस्ट अर्थमन्त्रीले नेतृत्व सम्हालेका थिए भन्ने कुराको स्मरण गर्नुपर्ने भन्दै कांग्रेसले भनेको छ– ‘७६ प्रतिशतभन्दा बढी समय गैरकांग्रेसी नेतृत्वले बितेको १० वर्षमा मुलुकको नेतृत्व गर्दा जे जति बेथिति भएका छन्। हाम्रो भागमा पर्ने दोषको अंश लिन तयार छौें।

२ अंकको आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको आंकाक्षालाई सम्भव तुल्याउन तुलनात्मक रूपले अनुकूल वातावरण नयाँ सरकार र नयाँ अर्थमन्त्रीलाई प्राप्त रहेको तथ्य श्वेतपत्रमा उल्लेख नगरेको प्रति कांग्रेसले आपत्ति जनाएको छ।

श्वेतपत्रमार्फत सत्तापक्षले मुलुकको ढुकुटी रित्तो भएको सन्देश गएको भन्दै कांग्रेसले भनेको छ– ‘पुँजीगत बजेट खर्च हुन नसकेको अर्थमन्त्रीकै वाक्याशंले ढुकुटीमा रकम मौज्जात रहेको पुष्टि गरेको छ भने यो सरकार बन्दै गर्दा ३ खर्बभन्दा बढी र हाल त्योभन्दा केही कम अर्ब रूपियाँ राष्ट्रको ढुकुटीमा मौज्जात रहेको विवरण सार्वजनिक भइसकेको छ। स्थानीय तहका लागि छुट्याइएको रकम पनि राज्य कोषकै हो।

१० अर्ब डलरबराबरको विदेशी मुद्रा सञ्चिती रहेको विवरण पनि यसबीचमा सार्वजनिक भएको छ। कांग्रेसले हामीलाई रित्तो ढुकुटी सुम्पिएको थियो भन्ने छवी स्थापना गर्न चाहेको प्रोपोगण्डा केही दिनमै झुठ प्रमाणित भइसकेको दाबी प्रवक्ता शर्माले गर्नुभएको छ।
मुलुकको बजेटमा वाह्य निर्भरता घट्दै गएको सकारात्मक पाटोलाई पनि श्वेतपत्रमा स्मृति नगरिएको कांग्रेसले ठम्याएको छ। २५ वर्षअघि ३५ प्रतिशतभन्दा माथि विदेशी सहायतामा निर्भर रहेर बजेट बनाइन्थ्यो। तर अहिले त्यो निर्भरता १५ प्रतिशतभन्दा तल आइपुगेको बताइएको छ। सन् २०१५ सम्म पुरा गर्ने सहस्राब्दी विकास लक्ष्य हासिल नभए पनि त्यसतर्फ केन्द्रित नेपाल राष्ट्रको प्रयत्नले जेजति प्रगति हासिल गरेको छ, श्वेतपत्रमा त्यसको स्मृतिसम्म नगरिनु राज्यको प्रगतिप्रतिकै अन्याय भएको कांग्रेसले ठहर गरेको छ। श्वेतपत्र तयार गरिरहँदा शेयर मार्केटका सम्बन्धमा सकारात्मक दृष्टिकोण प्रवाह गर्ने कुनै गम्भीरता प्रस्तुत नभएको प्रति कांग्रेसले आपत्ति जनाएको छ।

‘नकारात्मक सन्देशले शेयर मार्केटमा असर गरेझै मुलुकको पर्यटन क्षेत्रमा पर्न सक्ने असरका बारेमा श्वेतपत्रका निर्माताहरूले हेक्का राखेको देखिएन’ श्वतपत्रमाथि टिप्पणी गर्दै कांग्रेसले भनेको छ– ‘यो वर्ष ९ लाख ४० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो। समृद्धिको हाम्रो यात्रामा पर्यटन क्षेत्रको यो सुधार र सकारात्मक संकेतले आगामी दिनमा महत्त्वपूर्ण योगदान गर्ने देखिन्छ। तर श्वेतपत्रले यो सुखद् तथ्यांकलाई समेत समेटेको छैन। श्वेतपत्रले हाम्रो अर्थतन्त्रको सकारात्मक पाटोका बारे आँखा चिम्लिएको भए पनि यस बारेमा टिप्पणी गरिरहँदा यसले उठाएको वस्तुगत तथ्यप्रति कांग्रेसको विमति नरहेको जनाएको छ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा नेपालमा लगानीको वातावरण राम्रो छ, ढुक्कले लगानी गर्न आउनुस् भनेर भारतीय उद्योग व्यवसायीहरूलाई संवोधन गर्नुभन्दा ठीक ७ दिनअघि जारी श्वेतपत्रमा अन्तर्राष्ट्रिय परिदृश्यमा नेपालको लगानी वातावरण उत्साहजनक छैन भन्ने उल्लेख गरिएको विषयलाई पनि कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको एक प्रश्नमा कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भन्नुभयो– कम्युनिस्टका नेताहरू सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ताबाहिर हुँदा अर्को कुरा गर्ने गर्छन्। उहाँले नेपाल–भारत २ देशबीचको सम्बन्ध पहिला पनि राम्रो भएको र अहिले पनि राम्रो भएको तितो टिप्पणी गर्नुभयो।