मणिलेक क्याम्पसमा तालामाथि ताला

0
Shares

विनोदसिंह विष्ट, बैतडी
बैतडीको मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पसमा लगाएको ताला अझै खुल्न सकेको छैन। गएको २६ महिनादेखि तलब नपाएको भन्दै चैत १५ गते शिक्षक कर्मचारीहरूले तालाबन्दी गरेका हुन्।

शिक्षक कर्मचारीहरूले गरेको तालाबन्दी कायमै रहेका बेला पढाइ सुचारु हुनुपर्ने माग गर्दै विद्यार्थीका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनले पनि आजदेखि तालाबन्दी गरेको छ। आफूहरूको पढ्न पाउने अधिकार कुण्ठित भएकाले पढाइ सुचारु गर्नुपर्ने भन्दै तालाबन्दी गरेको स्ववियु सभापति केशवबहादुर चन्दले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको उपस्थितिमा भएको बैठकले तत्काल क्याम्पसको ताला खोली समस्या समाधान गर्न आग्रह गरेको भए पनि शिक्षक कर्मचारीहरूले तलब नपाउँदासम्म तालाबन्दी नखोल्ने अडान लिएका छन्। यता विद्यार्थीहरूले आफूहरूको भविष्यमाथि खेलवाड भएको भन्दै क्याम्पसमा निर्माण भइरहेको भवन निर्माण कार्यसमेत रोकेका छन्।

क्याम्पसका शिक्षक कर्मचारीहरूको तलबका लागि चन्दा संकलन गर्न सहयोग समिति गठन गरिएको भए पनि तालाबन्दी खुलेको छैन।