बिधुतमा चरम लापरवाही, नियमित बिधुत नहुँदा समस्यामा सेवाग्राही

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बिद्युतमा चरण लार्पबाही देखिएको छ । केन्द्रीय लाइन जडान भएपछि बिद्युत नियमित हुने आसा गरेका रुकुम पश्चिमका सदरमुकामबासीको आसा निरासामा परिणत भएको छ । केन्द्रीय लाइन जडान भएको डेड बर्ष बित्दा पनि रुकुममा सव स्टेशन नराख्नुले पटक पटक बिद्युतमा खरावी आउने गरेको बताइएको छ ।

सल्यानको शितलपाटीमा ३३ केभीको सव स्टेशन राख्ने र सोही ठाँउबाट बितरण गरिने भनिएको भएपनि हाल सम्म दाङ्गमा भएको सवस्टेशनले काम गरिरहेको बिद्युत प्राधिकरण रुकुम बितरण केन्द्रले बताएको छ । लामो दुरी भएका कारण पटक पटक बिद्युतमा समस्या आउने गरेको छ ।

बिद्युत अवरुद्ध भइरहेको अवस्था सम्म पनि कार्यालय प्रमुखले कुनै चासो नदिएको स्थानीय उपभोक्ताको गुनासो छ । कार्यालय प्रमुख दिवाकर प्याकुरेले पनि रुकुमका कुनै कार्यालय र अन्य सरोकारावाला निकायलाई समेत टेरपुछर नलगाएको एक कार्यालय प्रमुखले बताए । उनले भने “बिद्युतको बारेमा सोध्ने त कुरै छाडौं, उनको फोन समेत रिसिभ हुँदैन ।”

कार्यालय प्रमुख प्याकुरेल नेपालगंजमा बस्दै आएका छन् । प्याकुरेललाई अन्य उपभोक्ता र अरु कार्यालयका कार्यालय प्रमुख मात्र होइन नेपालसमाचार पत्र रुकुमले बिद्युतको बारेमा जानकारी लिनको लागी ११ पटक फोन गर्दा पनि रिसिभ गरेका छैनन् । कार्यालयमा कहिले पनि उपस्थित नहुने उनले नेपालगंज बसेरै रुकुमको काम गरिरहेका छन् ।

बिशेष गरी उनकै लार्पबाहीको कारण जिल्लाको बिद्युत सेवालाई कसरी मजबुद बनाउन सकिन्छ भन्नेबारे छलफल हुन नसकेको बिद्युत रुकुम बितरण केन्द्रका अन्य कर्मचारीको भनाई छ । सदरमुकाम मुसिकोटमा हरेक दिन बिद्युत सेवा अनियमित हुँदा उपभोक्ता मर्कामा परेका छन् । बिद्युतको केन्द्रीय लाइनमा पटक पटक समस्या आउँदा अनियमित भएको बिद्युत प्राधिकरण रुकुम बितरण केन्द्रले बताएको छ ।

विद्युत सेवा अनियमित भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ । विद्युत अवरुद्ध हुँदा जिल्ला सदरमुकाममा रहेका बिभिन्न स्वास्थ्य संस्थामा बिरामीलाई उपचारमा समेत समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन ।

अल्ट्रासाउन्ड, एक्सरे, प्रसूति सेवा, प्रयोगशाला सेवालगायतमा समस्या परिरहेको छ । जिल्ला सदरमुकामका साना तथा मझौला चार दर्जनभन्दा बढी उद्योग, नियमित रुपमा संचालन हुन सकेका छैनन् । जिल्लाको गाँउ गाँउमा बिद्युत सेवा पुगेको भएपनि जिल्ला स्तरमा बिद्युत नियमित नभएपछि कामकाजमा समस्या भएको हो ।

उपभोक्ताले बिद्युत नियमित गर्न माग गरेका छन् । यस्तै बाँफिकोटको भाग्लेमा रहेको साना जलबिद्युतबाट बितरण भएको लाइन पनि अनियमित हुने गरेको छ । जथाभावी लाइन बाँडिएपछि बिद्युत पावर नपुगेर अनियमित हुने गरेको छ ।

ग्रामिण स्तरका कुनाकन्धरामा बिद्युत पुर्याउने बाचा गरेका जनप्रतिनिधिहरुले बिद्युतको क्षमता थप्नका लागी कुनै पहल नगर्ने तर भएको बिद्युत जथाभावि बितरण गर्नाले बाँफिकोटको बिद्युत पनि अनियमित हुने गरेको स्थानीय उपभोक्ताको भनाई छ ।