नयाँ वर्षमा चौंरी महोत्सव हुने

0
Shares

गणेश साम्पाङ, पाँचथर
पाँचथरको फालेलुङ गाउँपालिका– ४ प्राङबुङमा वैशाख १ र २ गते दोस्रो चौंरी महोत्सव हुने भएको छ। दक्षिण एशियामा नै पहिलोपटक गत वर्ष आयोजना गरिएको चौंरी महोत्सवलाई निरन्तरता दिन यो महोत्सव आयोजना गर्न लागिएको आयोजक फालेलुङ कञ्चनजङ्गा पर्या–पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष डिल्ली आन्जुम केरुङले बताउनुभयो। महोत्सवको सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो। महोत्सव सम्पन्न गर्न मुल समारोह समितिको अलावा विभिन्न ५ वटा उपसमितिले आ–आफ्नो काम गरी रहेको बताउनु भयो।

हिमालको गहनाको रूपमा रहेको चौंरी पालन व्यवसायलाई पर्यटन प्रवद्धर्नसँग गँँसेर व्यावसायिक बनाउन र यो व्यवसायबाट आन्तरिक एवंम् बाह्य पर्यटकहरूको ध्यान खिच्नका लागि महोत्सव आयोजना गरिएको समितिका सचिव टीकाराम नेपालले बताउनुभयो। नेपाल–भारतको सिमावर्ती क्षेत्रमा हुन लागेको सो महोत्सवले खास गरी उच्च हिमाली क्षेत्रको वन वातावरण संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि गर्नका लागि टेवा पुर्याउने सचिव नेपालले बताउनुभयो।

महोत्सवले चौरीको दूधजन्य पदार्थको आन्तरिक तथा बाह्य बजारमा प्रचारप्रसार गर्ने र त्यसले जिल्लाको आय स्रोत बढाउने छ। यो महोत्सवले पाँचथर जिल्लाको पूर्वी सिमावर्ती क्षेत्रमा पर्यटन पूर्वाधार तयार गरी यो क्षेत्रलाई पर्यटकको मुख्य पदमार्ग बनाई क्रसबोडर टुरिजम र चौंरी पर्या–पर्यटनको विकास गर्न टेवा पुर्याउने अध्यक्ष केरुङ बताउनु हुन्छ।

महोत्सवमा याक राइड, घोडा दौड चौंरीको दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बेच बिखन, चौंरीजन्य परम्परागत क्रियाकलापको प्रदर्शनी, जैविक विविधता संरक्षणसम्बन्धी चेतनामुलक कार्यक्रम र चौंरी गोठालाबीच प्रतिस्र्धात्मक खेलको प्रदर्शन हुने अध्यक्ष केरुङले बताउनुभयो।

सदरमुकामदेखि ५७ किलोमिटरको दूरीको हिमाली क्षेत्रमा हुन लागेको महोत्सव सम्पन्न गर्न स्थानीय व्यवस्थापन, स्वंयम् सेवक परिचालन ,प्रचारप्रसार, यातायात व्यबस्था र आर्थिक गरी ५ वटा उपसमितिसमेत गठन गरिएको अध्यक्ष केरुङले बताउनुभयो।

फालेलुङ गाउँपालिका, सवै वडापालिका, इसिमोड नेपाल, गोरखा बुअरी प्रा लि, जिल्ला वन कार्यालय पाँचथर, रेड पाण्डा नेटवर्क, दीपज्योति क्लब सिदिनलगायतको सहयोग रहने महोत्सवमा ३ लाख खर्च हुने आयोजकले जनाएका छन्।