धिमे बाजा संरक्षकलाई सम्मान

0
Shares

नेपाल समाचापत्र
काठमाडौं
परम्परागत धिमे बाजाको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउनुभएका गुरुद्वय राजधानीमा सम्मान गरिएको छ। ज्यापु कल्याणकारी कोषले एक समारोहको आयोजना गरी परम्परागत असनटोलका गुरु कृष्णबहादुर महर्जन र ब्रम्हत्वाःस्थित दगु दाफा खलःका गुरु मचाभाइ डंगोललाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूलाई परम्पराअनुसार सगुन, शिरमा फेटा बाँधी कोषका अध्यक्ष सुवर्णमान डंगोलले दोसल्ला ओढाउनुभयो भने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्मानपत्र प्रदान गर्नुभयो।

परम्परागत धिमे बाजाका गुरुको सम्मानका लागि स्वर्गीय रत्नमाया महर्जनकी छोरी नानीमैया महर्जनले रत्न आशा गुरु सिरपा (पुरस्कार) स्थापना गरेर प्रत्येक वर्ष सम्मानित हुनेहरूलाई १५ हजार नगद र सम्मानपत्र दिने व्यवस्था गरेको हो। त्यसै गरी स्वर्गीय आशाकाजी महर्जनकी श्रीमती लक्ष्मी महर्जनले रत्न आशा खलः सिरपा स्थापना गरेर १० हजार रुपियाँ र सम्मानपत्र दिने व्यवस्था गरिएको कोषले जनाएको छ।

सो अवसरमा ज्यापु महागुथि काठमाडौं महानगर समितिका अध्यक्ष बाबुराजा महर्जन, कोषका महासचिव मचाराजा महर्जनलगायतले जीवनभर संस्कृति संरक्षणमा बिताएका गुरुको सम्मान गर्नुपर्नेमा जोड दिँदै आ–आफ्नो भनाइ राख्नुभयो।