गुप्तचरका हाकिम नै चिन्दैनन् भीआईपी

0
Shares

सुरेश तामाङ, काठमाडौं
घटना १
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी फागुन २१ गते दुईदिने नेपाल भ्रमणमा आउनुभयो।

घटना २
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको बंगलादेशको यूएस बंगला विमान दुर्घटनापछि बुझ्न बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमाल फागुन २९ गते नेपाल आउनुभएको थियो।

घटना ३
चैत ३ गते गोरखा गण्डकी गाउँपालिका–३ बेनीघाटमा मुस्लिमहरूको ठूलो कार्यक्रम भएको थियो भने त्यहाँ सहभागीमध्ये ५ सय बढी पाकिस्तानलगायत अरब मुलुकका मुस्लिमहरू थिए।

यी तीनै घटनाका प्रमुख पात्रहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अवतरण भएका हुन्। २ अलि फरक भए पनि १ र ३ घटनामा भने सुरक्षाको हिसाबमा अलि चासोको विषय हो।

किनकि यी घटना भएलगत्तै विमानस्थल भएर बाह्य गुप्तचरका एजेन्टहरू व्यापक रूपमा आवतजावत गरेको बताइन्छ। विशेष गरी भारतका बाह्य गुप्तचर संगठन रअ (रिसर्च एन्ड एनालाइसिस विइंगस्), पाकिस्तानी गुप्तचर संगठन आईएसआई इन्टर सर्भिस इन्टेलिजेन्सका एजेन्टहरू सक्रिय भएको बुझिन्छ।

विमानस्थल प्रयोग गरेर आवतजावत गर्ने विशिष्ट, विशिष्टका पूर्ण विवरण राख्ने, पहिचान गर्ने कार्य विमानस्थलमा रहेको राष्ट्रिय अनुसन्धान विभागको विमानस्थल निगरानी उपशाखाले गर्दछ।

यसका साथै विभागको उपशाखाले विमानस्थल भएर आवतजावत गर्ने आतंकवादलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्ति, सुन, विदेशी मुद्राको तस्करी, लागूऔषध कारोबार, मानव बेचबिखनलगायत सम्भावित गतिविधिको पूर्वसूचना राख्ने, विश्लेषण गर्ने, गुप्त माध्यमबाट निगरानी राख्दै सूचना संकलन गर्नुपर्दछ।

तर यी घटनाहरूमा विमानस्थल भएर नेपाल आइसकेका विशिष्ट र अतिविशिष्ट पात्रका विवरण विमानस्थल उपशाखाबाट आउँदै नआउनुले विभागका अधिकारीले त्यहाँका गुप्तचरहरूमा व्यक्ति पहिचान गर्ने समस्या रहेको निष्कर्ष निकाल्दै विभागभित्रै खैलाबैला मच्चिएको विभागकै उच्च अधिकारीहरू बताउँछन्।

‘पाकिस्तानी प्रधानमन्त्रीलगायत विमानस्थल हुँदै नेपाल आउनुभएको धेरै दिन भइसके पनि विमानस्थलमा रहेको उपशाखाबाट विभागमा रिपोर्टिङ हुँदै भएन’, विभागका एक उच्च अधिकारीले भने– ‘यो क्रम धेरै दिन अघिदेखि यस्तै दोहोरिरहेको छ। यसमा हामीले सम्बन्धित प्रमुखमा व्यक्ति पहिचान गर्न नसकेको निष्कर्ष निकालेका छौं।’

अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अतिसंवेदनशील मानिने ठाउँमा पूर्वसूचना संकलन गरेर हुन सक्ने सम्भावित घटनालाई न्यूनीकरण गर्न परिचालित गुप्तचरको अवस्था नै यस्तो भएपछि सम्बन्धित अधिकारीको विभागभित्रै आलोचना हुन थालेको छ।

विमानस्थलको उपशाखामा हाल एसएसपी तह सह–अनुसन्धान निर्देशक, डीएसपी प्रमुख अनुसन्धान अधिकृत, ३ निरीक्षक अनुसन्धान अधिकृतसहित २४ जनाको दरबन्दी छ। तर अहिले त्यस शाखामा ८ जना मात्रै रहेको स्रोतले बतायो।

आफूहरूले सीमित स्रोत र साधन भएर पनि कुशल ढंगबाट काम गरिरहेको विमानस्थल उपशाखाका एक उच्च अधिकारीले बताए। उनले भने– ‘सीमित स्रोत साधनको बाबजुद पनि हामीले कुशल काम गरिरहेका छौं। विशिष्ट अतिविशिष्ट व्यक्ति भनेर हामीले हेर्ने होइन। हामीले क–कसको आवतजावत हुन्छ भन्ने विवरण विभाग पठाउँछौं। विभागबाटै विश्लेषण हुन्छ त्यहीअनुसार हामी परिचालन हुने हो। मान्छे नचिन्ने भन्ने कुरा झुट हो।’

विभागले एक अधिकृत उत्पादन गर्न ४० लाख खर्चेको हुन्छ। विभागका अधिकृतलाई विशेष किसिमले तयार पारेको हुन्छ। उसलाई हरेक किसिमको ज्ञान दिइन्छ तर पनि हुन सक्ने सम्भावित कुनै घटनाको विश्लेषणको त कुरै छोडौं विशिष्ट अतिविशिष्ट व्यक्तिसमेत पहिचान गर्न नसक्नुले अधिकृतलाई दिइने तालिम र त्यसबाट सम्पादन हुने कार्यलाई कस्तो हुन्छ भन्दै विभागभित्रै उच्च अधिकारीहरूबीच गाइँगुइँ चलिरहेको छ।

विभागका प्रमुख अनुसन्धान अधिकृत दिलीप रेग्मीले यी सबै कुरा निराधार रहेको बताउनुभयो। विभागबाट छुट्टै व्यावसायिक ढंगको कार्यसम्पादन हुने भन्दै बाहिर सर्वसाधारणले सोचेजस्तो नहुने उहाँले बताउनुभयो।

‘यी सबै कुरा निराधार हुन्। एयरबाट सूचना विभागमा आउँदैन भन्ने कुरा मैले सुनेको छैन,’ उहाँले भन्नुभयो– ‘काम भइरहेको छ। तपाईंलाई गलत म्यासेज पुगेछ।’ विभागको काम बाहिर पब्लिकले सोचेजस्तो नहुने भन्दै उहाँले विभागको काम छुट्टै तरिकाले उत्कृष्ट र व्यावसायिक ढंगले भइरहेको दाबी गर्नुभयो।