जल र रेलमार्ग ‘कनेक्टिभिटी’ मा भारतले सघाउने

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं

नेपाललाई समुद्रसम्मको पहुँचका लागि अन्तरदेशीय जलमार्ग सञ्चालन र काठमाडौं–दिल्ली रेलमार्गको विकास र विस्तारलाई भारतले प्राथमिकता दिएको छ।दुवै मुलुकको आपसी चासो र नेपालका प्राथमिकताका आधारमा विगतमा भएका सहमति र सम्झौतालाई पूर्णता दिन भारतले प्रतिबद्धता जनाएको हो। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्ताका क्रममा नेपालको पूर्वाधार विकास र विगतका सहमति सम्झौता कार्यान्वयन गर्नेबारेमा छलफल भएको हो।

शनिबारको द्विपक्षीय छलफलपछि दुवै मुलुकबीच विभिन्न १२ बुँदे सम्झौता भएको छ। रेल मार्ग विस्तार गर्न एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का आधारमा परियोजनाको कार्यान्वयनको खाका तयार पार्न दुवै पक्ष सहमत भएका छन्। साथै जलमार्गको अध्ययनका लागि आवश्यक मोडल तयार गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनेबारेमा सहमति भएको छ।

दुवै मुलुकका अधिकारी संलग्न छलफलमा द्विपक्षीय व्यापार, जलविद्युत्, नयाँ ट्रान्समिसन लाइन, तेस्रो मुलुकमा विद्युत् व्यापार, कृषिलगायत विषयका बारेमा छलफल भएको थियो। पञ्चेश्वर, अरुण तेस्रो तथा सप्तकोशी–सुनकोशी परियोजनालाई तीव्रता दिन दुवै देश सहमत भएका छन्। द्विपक्षीय भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दुवै मुलुकको सम्बन्ध समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पुर्याउन यो भ्रमण फलदायी बनेको विचार व्यक्त गर्नुभयो। ‘नेपाल र भारतसँग सम्बन्धित विषय धेरै छन्, सहकार्य हुनसक्ने सम्भावनाहरू धेरै छन्, हामी त्यसका लागि तयार छौं।’ –उहाँले भन्नुभयो। नेपालको समृद्धि भारतको समेत एजेन्डा भएको ओलीको भनाइ थियो।

भारतीय प्रधानमन्त्री मोदीले भारतीय बन्दरगाह नेपालले प्रयोग गर्दा सगरमाथाको देश सागरसँग जोडिने बताउनुभयो। ऊर्जा, व्यापार, कृषि प्रविधि, शिक्षा, पर्यटन, संस्कृति विकासलगायत विषयमा दुवै मुलुकबीच सहकार्य हुने बताउँदै उहाँले नेपालको आर्थिक विकासका लागि सहयोग गर्न आफ्नो मुलुक सधैं तयार रहेको विचार व्यक्त गर्नुभयो।

दुवै प्रधानमन्त्रीले मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन शिलान्यास गर्नुभएको छ। सोही अवसरमा वीरगन्जमा भारतीय सहयोगमा निर्माण भएको एकीकृत भन्सार सुरक्षा पोस्ट उद्घाटन गरी भारतले नेपाललाई हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ। ओलीले शनिबार भारतीय राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

उहाँहरूसँगको भेटवार्ताका क्रममा दुवै मुलुकबीचको वर्षौं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू भारत आएको ओलीले बताउनुभएको थियो। भारतीय विदेशमन्त्री सुष्मा स्वराज र वित्तमन्त्री अरुण जेट्लीसँग भेटवार्ताको समय तय भए पनि अस्वस्थ भएकाले उहाँहरू ओलीसँग भेटवार्ता गर्न आउनुभएन।

प्रधानमन्त्री ओली शनिबार साँझ इन्डिया फाउन्डेसनद्वारा आयोजित नागरिक अभिनन्दनमा सहभागी हुनुभएको छ। सो अवसरमा उहाँले आफू नेतृत्वको सरकारका कारण लोकतन्त्र संकटमा पर्ने र भारतभन्दा फरक व्यवहारका साथ नेपाल चीनतर्फ ढल्कने भ्रम त्याग्न आग्रह गर्नुभयो। नेपालको संविधान समावेशी रहेको उल्लेख गर्दै उहाँले संविधानका बारेमा भ्रम नराख्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सबै छिमेकीसँग नेपालले मित्रवत् व्यवहार गर्ने प्रस्ट पार्नुभयो।