सरोज यादव, विराटनगर
६ सय ५२ मेगावाट पूर्वी नेपालका तीनवटा विद्युत् उत्पादन करिडोर क्षेत्रबाट आर्थिक वर्ष २०७८÷७९ सम्ममा ६ सय ५२ दशमलव ६ मेगावाट विद्युत् उत्पादनको अनुमति निजी क्षेत्रले लिएको छ।
नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका अनुसार सोलु कोरिडोरअन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरबाट ३ सय २५ मेगावाट, कोसी कोरिडोरअन्तर्गत भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, सुनसरी र मोरङबाट १ सय ४० दशमलव ७ मेगावाट तथा काबेली कोरिडोरअन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम र झापाबाट १ सय ८६ मेगावाट रहेको छ।
त्यस्तै ३ हजार ७ सय २२ दशमलव १७ मेगावाट क्षमताका विभिन्न विद्युत् आयोजनाले सर्भे अनुमति पत्र लिएका छन्। सर्भे अनुमतिको पत्र लिनेहरूमा सोलु कोरिडोरबाट ८ सय २१ दशमलव २७ मेगावाट, कोसी कोरिडोरबाट १ हजार ७ सय २७ दशमलव ९ मेगावाट र काबेली कोरिडोरबाट १ हजार १ सय ७३ मेगावाट क्षमताका विभिन्न आयोजना रहेका छन्।
यसैबीच पूर्वाञ्चलमा अझै पनि १३ दशमलव ७४ प्रतिशत विद्युत् चुहावट हुने गरेको छ। नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा विद्युत् चुहावटको प्रतिशत १७ दशमलव ६५ थियो। गत वर्षभन्दा यस वर्षको माघसम्मको तथ्यांकअनुसार चुहावटको दर ३ दशमलव ९१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ।
विद्युत् प्राधिकरणले गत वर्षको तुलनामा यस वर्ष महशुल असुलीमा पनि प्रगति गरेको छ। गत आर्थिक वर्ष ७३ करोड ८९ लाख ९९ हजार ८ सय १३ युनिट विद्युत् बिक्रीबाट प्राधिकरणले ६ अर्ब, ९६ करोड ६३ लाख ३१ हजार ९ सय ४६ रुपियाँ महशुल उठाएको थियो। यस वर्षको माघसम्ममा भने प्राधिकरणले ४७ करोड २१ लाख ८९ हजार ४ सय ७१ युनिट विद्युत्बाट ४ अर्ब ५३ करोड ६६ लाख ९५ हजार ३ सय ८३ रुपियाँ महशुल उठाएको जनाएको छ। गत आर्थिक वर्ष पूर्वाञ्चलमा ५ लाख ६२ हजार ४ सय १४ जना ग्राहक थिए भने चालू आर्थिक वर्षमा त्यो बढेर ५ लाख ९९ हजार ९ सय ७१ पुगेको प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ।
प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले पूर्वमा अहिलेको विद्युत् माग २ सय मेगावाट रहेको जानकारी दिनुभयो। पूर्वका जिल्लामा निर्माण भएका विद्युत् आयोजनाबाट १ सय २ मेगावाट विद्युत् उत्पादन भएको छ। यद्यपि, केन्द्रीय प्रसारण लाइनमा भने आन्तरिक उत्पादनबाट पुवाखोलाको ३ मेगावाट र काबेली करिडोर तथा संखुवासभाको तिरतिरेबाट २७ मेगावाट विद्युत्मात्रै जोडिएका छन्। यसबाहेक भारतबाट पूर्वाञ्चलका लागि १ सय ३५ मेगावाट विद्युत् आपूर्ति भइरहेको यादवले जानकारी दिनुभयो।
पूर्वमा पिलुवा, तल्लो पिलुवा, सभाखोला, पुवाखोला, माइखोला, सानिमा क्यास्केट, अपर माई अपर माई क्यास्केट, जोगमाई, अपर पुवा, हेवाखोला, फावा खोला, चतरा उत्पादन केन्द्रबाट १ सय २ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुन्छ। त्यसमध्ये चतरा केन्द्रको ३ मेगावाटको विद्युत् आयोजना भने हाल बन्द रहेको छ। विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयको तथ्यांक अनुसार पूर्वमा अझै २७ प्रतिशत जनता विद्युत् उपभोग गर्नबाट वञ्चित रहेका छन्। यादवका अनुसार विद्युत् प्राधिकरणले पूर्वको जनस्रोतको अधिकतम् उपयोग गर्ने रणनीति लिएको छ। जलविद्युत्को उत्पादन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण पनि एकैसाथ अगाडि बढाउने यादवले बताउनुभयो।
उहाँका अनुसार विद्युत् सेवा सुरक्षित, भरपर्दो, गुणस्तरीय तथा सर्वसुलभ बनाउने प्राधिकरणको प्रयास जारी छ। यसैगरी भविश्यमा विद्युत्लाई निर्यातयोग्य वस्तुको रूपमा प्रयोग गर्न पनि आवश्यक तयारी गरिएको प्रमुख यादवले जानकारी दिनुभयो।
प्रतिक्रिया