सापकोटा नै चढ्छन् निजी प्लेटको गाडी

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
गृह मन्त्रालयले सरकारी गाडीमा निजी नम्बर राख्न नियन्त्रण गर्दै जाने कार्ययोजना बनाए पनि बिहीबार मात्रै सरुवा हुनुभएका गृहसचिव मोहनकृष्ण सापकोटा अझै निजी नम्बर प्लेटको गाडी चढ्दै आउनुभएको छ।

सरकारी गाडीको दुरुपयोग बढ्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो।

अन्य मन्त्रालयका केही सचिवले प्रयोग गर्दै आएका सरकारी गाडीमा राखिएका निजी नम्बर प्लेट परिवर्तन गरेर सेतो राखिएको छ। अरुलाई कार्यान्वयनका लागि पत्र लेख्ने मन्त्रालयका सचिवले नै नियमको उल्लंघन गर्नुभएको छ।

उहाँ बा६च १०२५ को गाडीमा पछाडि सशस्त्रको टुकडीसहितको गाडी लिएर हिँडने गर्नुभएको थियो । ‘हामीले सबैभन्दा पहिला हाम्रै सचिवलाई उदाहरण प्रस्तुत गर्न भनेका थियौं तर व्यवहारमा देखिएको छैन’ गृहकै एक कर्मचारीले भन्नुभयो– ‘उहाँ (सचिव) बाटै कार्यान्वयन हुन गाह्रो छ।’
सशस्त्र द्वन्द्वका समयमा भीआईपीको सुरक्षाका लागि यसरी निजी नम्बर प्लेटको गाडी चढ्ने गरिएको बताउँदै स्रोतले भन्यो– ‘तर त्यो चलन नियमकै रूपमा रहिरह्यो। कसैले हटाउन खोजेनन्।’

मन्त्रालयका सचिव, सह–सचिव, संवैधानिक निकायका पदाधिकारी, मन्त्रीका स्वकीयलगायतका विभिन्न व्यक्तिले गरी झण्डै २ सयभन्दा बढी गाडीमा निजी प्लेट राखेको जनाइएको छ। ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र सम्वृद्धिका लागि शान्ति, सुरक्षा र सुशासन ’ भन्ने नाराका साथ गृह मन्त्रालयले चैत्र १९ गते जारी गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनामा पनि नम्बर प्लेटबारे उल्लेख गरिएको छ। ८० नम्बर बँुदामा ‘सरकारी रातो प्लेटको सवारी साधनलाई सेतो नम्बर प्लेटमा परिणत गर्न लगाउने’ भनिएको छ। गृहले मापदण्ड बनाई सरकारी सवारी साधनको दुरुपयोग नियन्त्रण गर्दै जाने जनाएको छ। गृह प्रवक्ता रामकृष्ण सुबेदीले मन्त्रालयले गाडी व्यवस्थापनसम्बन्धीे सूचना जारी गरेको बताउनुभयो।

‘समय सीमा तोकिएको छैन तर सूचना जारी भएदेखि नै यो नियम लागू भएको छ’ –सुबेदीले भन्नुभयो। उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो समयमा सार्वजनिक विदाका दिन कुदाइएका सरकारी गाडीलाई नियन्त्रणमा लिने गरेको छ।