फेसबुकले गर्दा शिवम्को ‘बाबा’ बन्नुभो गुड्डुबाबु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
सानो कबाड पसल छ बाराको पथलैया चोक। त्यही पसलमा बस्नुहुन्छ गुड्डुबाबु चौधरी। उहाँ हुनुहुन्छ त्यही पसलका मालिक। स्थायी घर रौतहट हो उहाँको। ‘चारा’ खोज्ने क्रममा १७ वर्षअघि सिमरा पुग्नुभएको हो उहाँ।

त्यही बेलादेखि पुराना फलामे सामग्री किनबेच गर्ने पेसा अँगाल्नुभयो उहाँले। आफ्नै श्रमले आफू र परिवारको गुजारा चलाउँदै आए पनि औधी विश्वास छ उहाँलाई ईश्वर र धर्मकर्ममा। प्रत्येक दिन सबेरै नुहाएर पूजापाठ नगरी चियासमेत पिउन मन लाग्दैन उहाँलाई।

१४ वर्षअघि आफूजस्तै श्रम गर्ने १५ वर्षीया पूजादेवी गुप्तासँग प्रणय सूत्रमा बाँधिनुभएका चौधरीलाई दुखजिलो गरेर जिउन सक्नुमा कुनै गुञ्जायस थिएन। तर ३२ वर्षसम्म पनि सन्तानको ‘बाबा’ बन्न नपाएकोमा नरमाइलो लागिरहेको थियो।

यसको कारण उहाँ आफै हुनुुहुन्थ्यो। सानै उमेरमा अरूको पसलमा रड बोक्ने काम गर्नुभएका उहाँलाई हाइड्रोसिल भएको रहेछ। झन्डै मृत्युको मुखमा पुग्नुुभएका चौधरीलाई घरपरिवारले भारत लगेर बचाएको रहेछ। हाइड्रोसिलकै कारणबाट बच्चा हुन नसकेको रहेछ। तर चिकित्सकले बच्चा हुनसक्ने सम्भावना छ भन्दै अहिले पनि औषधी खान सल्लाह दिइरहेको उहाँ बताउनुहुन्छ।

त्यसो त अब आफूबाट सन्तान भए पनि नभए ‘बाल मतलब’ छैन उहाँलाई। किनकि उहाँ अब औपचारिक रूपमै सन्तान (छोरा)को बाबा बनिसक्नुभएको छ। त्यति मात्र हो र⁄ धुमधामसँग प्यारो छोराको छटियार (छैटी)समेत मनाइसक्नुभएको छ।
गत फागुन १४ गते बिहानतिरको कुरा हो। जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाको पूर्वमा रहेको तीन नम्बर पुल छेउमा बेवारिसे शिशु फेला पर्यो। व्यस्त राजमार्गमै शिशु फेला परेपछि यात्रुले प्रहरीलाई खबर गरे। अस्थायी चौकी पथलैयाको टोलीले सिमरास्थित अल्पाइन अस्पताल ल्याएर शिशुको उद्धार गर्यो। उक्त अस्पतालले नै केही दिन शिशु राख्यो।

यो कुरा एक कान दुई कान मैदान हुँदै स्थानीय गाउँभरि फैलियो। अनि शिशुको पालनपोषण गर्न निःसन्तान मान्छेहरूको भीड लाग्यो अस्पतालमा। शुरूमा त प्रहरीलाई नै हम्मेहम्मे पर्यो समस्या सुल्झाउन। अन्ततः कलैयास्थित जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलको रोहबरमा ८ वर्षसम्म सन्तान नपाएका र आर्थिकरूपले सक्षम भएका पतिपत्नीलाई पालनपोषणका लागि जिम्मा लगाउने जुक्ति निकाल्यो प्रहरीले।

यस्तो मापदण्ड बनाएपछि प्रहरी प्रशासनकै उच्च ओहदाका व्यक्तिदेखि मारवाडी समुुदाय र उच्च कुल घरानका व्यक्तिले शिशु आफूलाई दिन करकर गरे। प्रहरीले आवेदन प्रक्रियाबाट शिशु जिम्मा लगाउने निर्णय गर्नासाथ ४ दर्जनभन्दा बढी लिखित आवेदन पर्यो। त्यो कुरा फेसबुकबाट गुड्डुबाबुलाई पनि थाहा भयो। उहाँले पनि आवेदन दिनुभयो।
फेरि बित्यास पर्यो प्रहरीलाई। यतिका आवेदनको न्यायिक टुंगो कसरी लगाउने? फेरि दोस्रो जुक्ति निकाल्यो प्रहरीले गोलाप्रथाबाट⁄ हो, यसरी नै गढीमाईको फोटोलाई साक्षी राखेर प्रमुख जिल्ला अधिकारीको कार्यालयकै परिसरमा चिठ्ठा खोल्यो प्रहरीले।

गुड्डु बाबुको भाग्य चम्कनुरहेछ, नवजात शिशु गुड्डु दम्पतीको छोरा बन्न लेखेको रहेछ। नवजात शिशु ११ दिनपछि फागुन २५ साँझ उहाँहरूको प्रिय छोरा बने। तर गुड्डुले २६ गते बिहानमा मात्र पाउनुभयो उनलाई। शिशु पाएको दिनलाई जन्मदिन मानेर छैटौँ दिनमा छैटी जगाउनुभयो। न्वारानसमेत गराउनुभयो अनि राख्नुभयो छोराको नाम शिवम्कुमार चौधरी।

उसो त भगवान शिवको आराधना र पुजापाठले छोरो पाएको विश्वास छ चौधरीलाई। सन्तान प्राप्तीका लागि विभिन्न मन्दिरमा शिवलिंग र हनुमान मन्दिरको निर्माण गरेको बताउनुहुन्छ उहाँ।
शिव भगवानकै बरदानका कारण पाएकाले छोराको नाम शिवम् राखेको उहाँको तर्क। उहाँको केही दिनचर्या छोरा खेलाएरै बित्ने गरेको छ। उहाँकी पत्नी पूजा पनि आमा बन्न पाएकोमा औधी खुशी हुनुहुन्छ। धेरै सचेत पनि हुनुहुन्छ चौधरी। उहाँ भन्नुहुन्छ– ‘ठूलो भएपछि पनि म उसलाई चिठ्ठाबाट पाएको भन्दिन। ‘धेरै ठूलो मान्छे बनाउँछु उसलाई। सकेसम्म ठूलै शहरमा राखेर पढाउँछु।’