खुमबहादुरको अवसानपछिको कांग्रेस, केही दिनमै भेला गर्ने खड्का गुटको तयारी

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएपछि उहाँले सम्हालिरहनुभएको टिम अब कसरी अघि बढ्छ भन्ने चासो बढ्न थालेको छ। चैत १६ गते खड्काको निधन भएसँगै यो टिम छिन्न भिन्न हुन्छ कि एकीकृत हुन्छ भन्ने चासोका बारेमा नेताहरू खुलेर कुरा गर्न चाहेनन्।

पार्टीभित्र सशक्त नेताहरूको टिम बनाएर नेतृत्व गरिरहनुभएका नेता खड्काको निधनपछि उहाँका पक्षधर नेताहरू सभापति शेरबहादुर देउवा गुटमा कि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा जाने वा छुट्टै टिम बनाएर एकीकृत हुने भन्ने बारेमा गोप्य छलफल भइरहेको बताइएको छ। यो टिमका अधिकांश नेताहरू सभापति देउवाको टिमलाई सहयोग गरिरहेका छन्।

पार्टीभित्र केन्द्रमा मात्र होइन, जिल्लामा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आएका पूर्णबहादुर खड्का, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, पुष्पा भुसाल, इन्द्रबहादुर बानियाँ, अजय चौरसिया, कर्ण मल्ल, लोकेश ढकाल, देवेन्द्रराज कँडेल, रमेशजंग रायमाझी, राजु थापा, मीनकृष्ण महर्जन, वीरेन्द्र कनौडिया, पूर्ण गुरुङ, चन्द्र केसी, चम्पा खड्का, विन्दु थापा, कुमार खड्का, टेकबहादुर गुरुङलगायतका केन्द्रीय सदस्यहरू, पूर्व तथा वर्तमान सांसद, जिल्ला सभापति तथा अन्य थुप्रै नेताहरू खुमबहादुर खड्काको टिममा रहेर काम गरेका थिए।

आफ्ना पक्षका नेता कार्यकर्ताको संरक्षणमा विशेष ध्यान दिँदै आउनुभएका खुमबहादुर खड्का नेतृत्वको टिममा रहेका अधिकांश नेता कार्यकर्ताले यसअघि पार्टी सभापति देउवालाई सघाउँदै आएका थिए। कांग्रेसको १२औं र १३औं महाधिवेशनमा खुमबहादुर खड्काले सभापति देउवालाई नै सहयोग गर्नुभएको थियो। नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने मागलाई पार्टीभित्र तथा पार्टीबाहिर पनि जोडतोडका साथ उठाउँदै आउनुभएका खुमबहादुर खड्काको मागलाई जायज भन्दै कतिपय प्रभावशाली नेताहरू उहाँको टिममा रहेर काम गर्दै आएका थिए।

उहाँको निधनपछि यो टिम कसरी अगाडि बढ्छ भन्ने बारेमा केन्द्रीय सदस्य पुष्पा भुसाल भन्नुहुन्छ– ‘यो टिमले यसअघिका दुईवटा महाधिवेशनमा देउवाजीलाई सहयोग गरेको हो।’ स्व. खड्काको देशभरि रहेका नेता तथा कार्यकर्ताहरूको संरक्षण गर्ने जिम्मेवारी सभापति देउवाको भएको भन्दै उहाँले अहिले यो टिम कता जाने भन्नेबारेमा कुनै छलफल नभएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ। पार्टीले स्व. खड्काको १३औं दिनसम्म शोक मनाउने भएकोले त्यसपछि मात्र छलफल हुने उहाँको भनाइ थियो।

यो टिम सम्हाल्न नसके ७० प्रतिशत सभापति देउवा पक्षमा र ३० प्रतिशत पौडेल पक्षमा विलय
हुने अनुमान
गरिएको छ।

कांग्रेस नेता खड्काको निधनपछि उहाँले सम्हाल्नुभएको टिमको नेतृत्व नेता पूर्णबहादुर खड्काले गर्ने चर्चा पनि चलेको छ। पार्टीभित्र महामन्त्रीको दाबी गर्दै आउनुभएका उहाँलाई महामन्त्री बनाउन मृत्युअघि खुमबहादुरले सभापति देउवालाई पटकपटक आग्रह गर्नुभएको उहाँ निकट एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए। पूर्णबहादुर खड्कापछि यो टिम सम्हाल्ने सम्भावना नेता मोहनबहादुर बस्नेत र शंकर भण्डारीको रहेको बताइन्छ। खड्काको निधनपछि भण्डारी पौडेल गुटमै रहने अनुमान पनि गरिएको छ।

तर पूर्णबहादुर खड्कालाई जस्तो भण्डारी र बस्नेतलाई सबै नेताहरूले स्वीकार्ने सम्भावना कम देखिन्छ। खड्का देउवा समूहका थिन्क ट्यांकको रूपमा काम गर्दै आएको बताइन्छ। भण्डारीले नेतृत्व गर्दा बस्नेतले नस्वीकार्ने र बस्नेतले नेतृत्व गर्दा भण्डारीले नस्वीकार्ने समस्या आउने भएकाले पूर्णबहादुर खड्काले नै यो टिमको नेतृत्व सम्हाल्ने सम्भावना रहेको स्रोतको दाबी छ। यो टिम सम्हाल्न नसके ७० प्रतिशत सभापति देउवा पक्षमा र ३० प्रतिशत पौडेल पक्षमा विलय हुने अनुमान गरिएको छ।

यस विषयमा नेपाल समाचारपत्रले जिज्ञाशा राख्दा केन्द्रीय सदस्य भण्डारीले भन्नुभयो– ‘खुमबहादुर दाइको विचार पार्टी र राष्ट्रको हितमा भएकाले उहाँको नेतृत्वमा पार्टीभित्र ठूलो टिम बनेको थियो। अब यो टिम कसरी अगाडि बढ्छ भन्ने बारेमा छलफल भएको छैन। उहाँले खड्काको १३औं दिनको तिथिपछि छलफल हुने बताउनुभएको छ। खुमबहादुर खड्काको टिमको नेतृत्व लिन आफू सक्षम भएको आशय व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘म २ पटक केन्द्रीय सदस्य पनि भइसकेको छु, मन्त्री पनि भइसकेको छु र खुमबहादुर खड्काको सोच र विचारप्रति मेरो प्रतिबद्धता पनि छ।’

खड्काको निधन भएको १३ दिन पनि नबितेकाले आफू यसबारेमा केही नबताउने केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो। ‘म गुट उपगुट हुनुहँुदैन भन्ने पक्षमा छु’, नेता बस्नेतले भन्नुभयो– ‘हामी गुट उपगुटमा विभाजित हुनुहुँदैन।’ नेता बस्नेतले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘पार्टीभित्र यो टिम त्यो टिम भन्न नहुने भन्दै केन्द्रीय समिति बैठकमा समेत कुरा उठाएको छु।’

कांग्रेसभित्र देउवा र पौडेल गुटका साथै कृष्णप्रसाद सिटौला गुट पनि सशक्त रूपमा अघि बढेको छ। साथै अन्य प्रभावशाली नेताहरूको उपगुट पनि रहेको छ। आन्तरिक रूपमा गुट उपगुटमा विभाजित भएका कारण कमजोर भएको कांग्रेस हालै सम्पन्न स्थानीय, प्रान्तीय र संघीय निर्वाचनमा लज्जास्पद हार बेहोरेसँगै पार्टीभित्रको सबै गुट उपगुट हट्नुपर्ने आवाज आम कार्यकर्ताहरूले उठाइरहेका छन्।

निर्वाचनको विस्तृत समीक्षा गर्न बसिरहेको कांग्रेस केन्द्रीय समिति बैठकमा पनि गुट उपगुटले कांग्रेस कमजोर भएको भन्दै तीव्र छलफल भइरहेको छ।