ओली–मोदीबीच आकस्मिक भेटवार्ता, अरुण तेस्रो र मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन शुभारम्भ हुँदै

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
फ्नो दोस्रो कार्यकालको पहिलो विदेश यात्राका क्रममा शुक्रबार छिमेकी मुलुक भारत पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त बन्नुभएको छ।

भ्रमण कार्यतालिका भन्दा एक दिनअगावै शुक्रबारसाँझ उहाँले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ वार्ता गर्नुभएको छ। मोदीको सरकारी निवास सेभेन रेसकोर्समा साँझ साढे ६ बजे उहाँहरूबीच पूर्वकार्यतालिका विपरीतको आकस्मिक भेटवार्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

भ्रमणको मिति तय भएलगत्तै भ्रमण सद्भावना पूर्ण हुने, सम्बन्ध सुधारमा केन्द्रित हुने बताउनुभएका प्रधानमन्त्री ओली–मोदीबीचको अनौपचारिक र आकस्मिक भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ। ओलीको नेतृत्वमा बहुमतसहितको सरकार गठन हुने निधो भएपछि पटक–पटक टेलिफोन संवाद गर्दै बधाई दिनुभएका मोदीले सम्बन्ध सुधारका लागि आकस्मिक भेटवार्ता गर्नुभएको चर्चासमेत गरिएको छ। नेपाली समकक्षी ओलीसँगको भेटवार्तापछि आफू खुसी भएको मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत बताउनुभएको छ।

ओली–मोदीबीचको मुख्य र औपचारिक वार्ता भने शनिबार बिहान भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा तय गरिएको छ। मोदीसँगको आकस्मिक भेटवार्ताअघि प्रधानमन्त्री ओलीले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका अध्यक्ष राहुल गान्धी, जनता दल युनाइटेडका नेता शरद यादवलगायतका नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो।

राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले बहुमत प्राप्त सरकार गठनपछिको मुलुकको पछिल्लो अवस्था अवगत गराउँदै सरकार आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभएको थियो।

नेपालले वर्षौैं लामो राजनीतिक संक्रमण किनारा लगाएको उल्लेख गर्दै उहाँले आफू नेतृत्वको सरकारले मुलुकको विकासका लागि लगानीमैत्री वातावरण बनाउन चाहेको विचार व्यक्त गर्नुभएको थियो। राजनीतिक भेटवार्ताअघि भारतीय उद्योगी र व्यवसायीसँगको जमघटमा पनि प्रधानमन्त्री ओलीले वर्तमान सरकार उदार आर्थिक नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो। ‘भारतीय लगानीकर्ताहरू विश्वका विभिन्न मुलुक जान सक्छन् भने छिमेकमै लगानी गर्न किन नआउने?’ –प्रतिप्रश्न गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो।

आफ्नै घर सम्झिएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएका ओलीले भन्नुभयो– ‘सुरक्षाको जिम्मा हामी लिन्छांै।’ नेपाली उद्योगी व्यवसायीसमेत संलग्न अन्तरक्रियामा भारतीय उद्योगी व्यवसायीहरूले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत व्यवस्था र वातावरणको खाँचो औंल्याए। भारतमा रहेका प्रवासी नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रवासीहरू स्वदेश फर्किने वातावरण बनाउन जुटेको विचार व्यक्त गर्नुभयो। नेपाल बनाउने अभियानमा सरकार अघि बढेको बताउँदै उहाँले यसका लागि भारतमा रहेका नेपालीहरूको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो।

यसअघि शुक्रबार बिहान दिल्ली पुग्नुभएका ओलीलाई विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको थियो। दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा शुक्रबार साँझ होटल इम्पेरियलमा रात्रिभोजको आयोजना गरेको थियो। प्रधानमन्त्री ओलीले आज शनिबार आफ्ना समकक्षी मोदीसहित भारतीय राष्ट्रपति, उप–राष्ट्रपति, विदेशमन्त्री, गृहमन्त्रीलगायतसँग शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ।

यही भ्रमणका सिलसिलामा दुवै प्रधानमन्त्रीले वर्षौंदेखि चर्चामा रहेको अरूण तेस्रो परियोजनाको संयुक्त शिल्यान्यास गर्दै हुनुहुन्छ। त्यसै गरी ओली–मोदीले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिस्तार कार्यको शुभारम्भ गर्दै हुनुहुन्छ।

मोतीहारी रक्सौल खण्डको ३२ दशमलव ७८ किलोमिटरमध्ये १५ किमि क्षेत्रमा तत्काल पाइपलाइन विच्छ्याउन भारतले तयारी अघि बढाएको बताइएको छ। ओली–मोदीले दिल्लीमा रिमोट थिचेर आरम्भ गर्ने यो परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन नेपाल आयल निगमको एक टोली मोतीहारी पुगेको छ।