नासाले सुपरसोनिक यात्रुवाहक विमान बनाउने

0
Shares

वासिङ्टन, (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले लकहिड मार्टिन कम्पनीसँग मिलेर ध्वनिको गतिभन्दा तीव्र वेगमा उडान भर्न सक्ने सुपरसोनिक यात्रुवाहक विमान बनाउने भएको छ।

यो विमानको विशेषता भनेको यति धेरै वेगका बाबजुद यसले कुनै आवाज निकाल्ने छैन। अहिलेसम्म सुपरसोनिक प्रविधि लडाकू विमानहरूमा मात्र प्रयोग हुँदै आइरहेको छ। यद्यपि नासाले पहिलोपटक यात्रुवाहक विमान पनि यसको प्रयोग गर्न चाहेको छ।

नासाले यो परियोजना पूरा गर्न लकहिड मार्टिनलाई चयन गरेको छ। यसका लागि नासाले उक्त कम्पनीसँग २४ करोड ७५ लाख अमेरिकी डलरको अनुबन्ध पनि गरेको छ।

उक्त अनुबन्धका अनुसार लकहिड मार्टिनले सन् २०१६ मा उक्त विमानको डिजाइन तयार गरेको थियो। विमानको लम्बाइ करिब ९४ फिट र पंखाको फैलावट करिब २९ दशमलव ५ फिट हुनेछ। डिजाइनको हिसाबले यसको तौल अन्य यात्रुवाहक विमानको तुलनामा धेरै हलुका, करिब ३२ पाउन्ड रहेको बताइएको छ।

लकहिड मार्टिनले सन् २०२१ को अन्त्यसम्ममा विमानको एउटा नमुना नासालाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ। नियमअनुसार विश्वका धेरैजसो देशले सुपरसोनिक उडानलाई भयंकर ठूलो आवाजका कारण प्रतिबन्ध लगाएको छ। परीक्षण उडानका क्रममा नासाले सुपरसोनिक प्रविधि उडानलाई नागरिकलाई कसरी थाहा पाउँछ भन्ने जान्न प्रयास गर्नेछ।

विमानको परीक्षण उडान सन् २०२५ सम्म हुने अनुमान गरिएको छ। त्यसपछि उडानका आँकडा फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)लाई पठाइनेछ। त्यसपछि नासाले व्यावसायिक सुपरसोनिक फ्लाइट्सका लागि नियममा संशोधन गर्न अपिल गर्ने बताइएको छ।

उक्त विमानको गति करिब १ हजार ५ सय किलोमिटर प्रतिघण्टा नजिक हुने लकहिड मार्टिनले जनाएको छ। यो विमान जमिनबाट करिब ५५ हजार फिट उचाइसम्म उडान भर्न सक्छ। तीव्र गतिका बाबजुद यो करिब आवाज विहीन हुने दाबी गरिएको छ।