६ दशकपछि राजविराजको विमानस्थल सञ्चालन हुँदै

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
पटक पटक रोकिँदै आएको मुलुककै पुरानो विमानस्थल सप्तरीको राजविराज विमानस्थल स्तरोन्नति कार्य आगामी वैशाखको दोस्रो साता सम्पन्न हुने भएको छ।

विमानस्थलको रनवेको कालोपत्रे गर्ने काम सकिएपछि अरू साइडको मर्मत कार्य पूरा हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
‘हाल १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको रनवेको कालोपत्रे गर्ने काम सकिएको छ। केही दिनमा नै ट्याक्सी वे र पार्किङको काम सकिनेछ।’ –प्राधिकरणका इन्जिनियर सत्यराम दुलालले बताउनुभयो।

कन्ट्रोल टावर मर्मत, रङरोगन गर्ने काम आगामी महिनामा सकिने र उडान अवतरणका लागि विमानस्थल योग्य हुने दुलालले बताउनुभयो। हाल करिब १ वर्ष पुरानै कन्ट्रोल टावर र भएको संरचनाबाट नै विमानस्थल सञ्चालन हुने र आगामी १ वर्षभित्र निर्माण कार्य पूरा हुने गरी काम थालिसकेको प्राधिकरणका उप–महानिर्देशक देवानन्द उपाध्यायले बताउनुभयो। उहाँले भन्नुभयो– ‘टेन्डरको काम शुरू भइसकेको अब आगामी वर्षमा २ देखि ३ करोडको लागतमा नयाँ टर्मिनल र टावर बाँकी संरचना बन्नेछ।’

विमानस्थलको धावनमार्ग रनवे पूर्व–पश्चिम दिशामा अवस्थित रहेको छ। विमान पूर्वबाट उडान र अवतरण गर्दा इँट्टा भट्टाको चिम्नीका साथै विद्युतीय पोल अवरोध रहेको र पश्चिमबाट उडान अवतरण गर्नका लागि घर टहरा रहेकाले त्यसलाई हटाउनुपर्ने दुलालले बताउनुभयो। यसबारे सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनुभयो। ४१ सिट विमान उडान अवतरण गर्न भने निर्माण सम्पन्न भएपछि सम्भव हुने छ भने एटीआर–७२ विमान अवतरण गर्न भने अवरोध रहेको जनाएको छ। विमानस्थल भीएफआर (भिजुवल फाइट रुट) सञ्चालनमा आउनेछ। ५ हजार मिटरसम्म भिजिबिलिटी स्पष्टसँग देखिने हुनुपर्छ। विमानस्थलको सुधार कार्य गतवर्ष शुरू भए पनि मंसिरमा स्तरोन्नति कार्य सम्पन्न हुनुपर्ने थियो। चाडबाड र बन्द हडताल र चुनावी कारणले ढिला हुँदै आएर हाल आयोजनाले पूर्णता पाउन लागेको हो।

३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपियाँमा २०७४ मंसिरको अन्त्यसम्म निर्माण सकिने गरी रमन⁄कान्छाराम⁄देव एन्ड सयर कम्पनीले साझेदारीमा नागरिक उड्डयन प्राधिकरणसँग २०७३ असोज १६ मा सम्झौता भएको थियो। कम्पनीले भने २ महिनापछि काम शुरू गरेको थियो।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री जितेन्द्रनारायण देवले कात्तिक १६ भित्र उडान सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। नागरिक उड्डयन प्राधिकरणले भने तराई बन्द र बाढीको क्षतिका कारण निर्माण कार्यले गति लिन नसक्दा सो समयभित्र सञ्चालनमा ल्याउन नसकेको जनाएको थियो। प्राधिकरणका अनुसार विमानस्थल प्राविधिक हिसाबले एकदम राम्रो रहेको छ। विमानस्थलसम्म तय गरिने बाटो भने स्तरोन्नति गर्नुपर्ने रहेको छ। यसको बाटो निमार्णका लागि टेन्डर आह्वान भइसकेको र समयमै काम सकिएमा ६ महिनामा निर्माण सकिने बताइएको छ। पार्किङ वे, ट्याक्सी वे र टर्मिनल सानो रहेकाले यसको समेत स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको छ।

विमानस्थलको लम्बाइको अवस्था राम्रो छ, तर चौडाइ भने कम रहेको छ। विमानस्थलमा ४ वटा सम्म विमान पार्क गर्न सकिनेछ। कुनै समय राम्रो सञ्चालनमा रहेको विमानस्थल हाल भने बन्द अवस्था रहेको छ। समुन्द्र सतहबाट २ सय ४३ फिट उचाइमा रहेको विमानस्थल २ सय ८० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको छ। यो विमानस्थल पहिलो पटक २० फेब्रेवरी सन् १९६० मा सञ्चालनमा आएको थियो।

विमानस्थलको कुल ४ सय ३५ रोपनी जग्गा रहेको छ। स्थानीयको सहयोग र प्रचारप्रसारले मात्र विमानस्थल नियमित सञ्चालनमा आउन सकिने अवस्था रहेकाले गर्दा प्रचारप्रचारमा ध्यान दिनुपर्ने प्राधिकरणले जनाएको छ। हाल मुलुकभर करिब ५४ वटा विमानस्थल रहेका छन् भने करिब ५ वटा बन्ने क्रममा रहेको छ र करिब ३५ विमानस्थल सञ्चालनमा रहेका छन्। निर्माण सम्पन्नपछि एटीआर–७२ जहाज विमानस्थलमा उडाउन सकिनेछ। विमानस्थल सञ्चालनपछि सप्तरी, सिरहा उदयपुर, सिन्धुली र खोटाङ आसपासका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुनेछन्।