युवतीले भगाइन् बाघ

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
भारतमा १ जना युवतीले आफ्नो बाख्रामाथि झम्टिने बाघलाई पिटेर भगाउन सफल भएकी छिन्। पश्चिमी महाराष्ट्र राज्यमा ती २३ वर्षीया रूपाली मेश्रामले बाघलाई लठ्ठीले पिटेर भगाउने क्रममा आफू पनि घाइते भएको डाक्टरहरूले बुधबार बताएका छन्।

बाख्र्रा चिच्याएपछि घरबाहिर दगुरेकी उनलाई पनि बाघले आक्रमण गरेपछि उनकी आमाले उनलाई घरभित्र तानेर उनको ज्यान जोगाएकी थिइन्। यस क्रममा उनकी आमा पनि घाइते भएकी छिन्। तर यस घटनामा बाख्राको भने ज्यान गएको छ। सामान्य चोटपटक लागेका आमाछोरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

गत साता घटेको यो घटना हालै मात्र सार्वजनिक भएको हो। बाघको आक्रमणको लगत्तै रूपालीले आफ्नो रगताम्य अनुहारको सेल्फी खिचेकी थिइन्। उनको टाउको, कम्मर, खुट्टा र हातमा सामान्य र सतही चोट लागेका छन्। उनकी आमा जिजाभाइले आफूले छोरीको ज्यानको माया नै मारिसकेको बीबीसीलाई बताएकी छिन्। नजिकै वन निकुञ्ज भएकाले तिनीहरूको गाउँमा पटकपटक जंगली जनावरले सताउने गरेको बुझिएको छ।