अमेरिकाको यु–ट्युब मुख्यालयमा गोलीकाण्ड

0
Shares

सानफ्रान्सिस्को, (एजेन्सी)
अमेरिकाको उत्तरी क्यालिफोर्नियाको यु–ट्युबको प्रधानकार्यालयमा १ जना महिलाले ३ जना व्यक्तिलाई गोली हानी घाइते बनाएकी छिन्। ती आक्रमणकारी ३९ वर्षीया नासिम आगदम नामक महिला भएको प्रहरीले खुलाएको छ भने तिनीहरूले उनको यस कार्यको उद्देश्य पत्ता लगाउन अनुसन्धान जारी राखेका छन्।

प्रहरीले नासिमको गम्भीर घाइते भएका ३६ वर्षीय पुरुष र अन्य दुई ३२ र २७ वर्षीय घाइते महिलासँग कुनै चिनजान रहेको प्रमाण फेला नपरेको जनाएको छ।तर नासिमले विगतमा यु–ट्युबमाथि रिस पोख्दै सामाजिक सञ्जालमा सामग्रीहरू पोस्ट गर्ने गरेको पत्ता लागेको छ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले सन् २००० देखि २०१३ सम्म भएका १ सय ६० वटा गोलीकाण्डमा केवल ६ जना महिलाले गोली चलाएको पाइएको तथ्यांक सार्वजनिक गरेको छ।

सानफ्रान्सिस्को नजिकको सान बु्रनोस्थित यु–ट्युब मुख्यालयको बाहिरपट्टिको डाइनिंग क्षेत्रमा लन्च टाइममा उनले ह्यान्ड गनले आक्रमण गरेकी थिइन्। उनलेपछि आफैंमाथि गोली हानी आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। उनले आफ्नो निजी वेबसाइटमा यु–ट्युबले आफ्ना भिडियोहरू प्रशारणमा रोक लगाएको भन्दै आक्रोश व्यक्त गरेकी छिन्।