पूर्वराष्ट्रपति पार्कको मुद्दा फैसलाको प्रत्यक्ष प्रसारण

0
Shares

सोल, (एजेन्सी)
दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेयुन ह्ये माथिको भ्रष्टाचारसम्बन्धी मुद्दामा हुन लागेको अदालती फैसला टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ। दक्षिण कोरियाको राजधानी सोलस्थित सो अदालतलाई उद्धृत गर्दै सरकारी समाचार निकाय योन्हापले जनाएको छ।

कृषकहरूलाई हित हुने गरी सहुलियत मूल्यमा चामल खरिद गर्ने तत्कालीन सरकारी नीतिलाई लिएर पूर्वराष्ट्रपति पार्कलाई भ्रष्टाचारको मुद्दा चलाइएको हो। यदि दोषी ठहर भएको खण्डमा उनलाई निकै लामो काराबास सजाय हुनसक्ने अनुमान गरिएको छ। उनीमाथिको कारबाहीको जानकारी प्रत्यक्ष हेर्न र सुन्न पाउने गरी दक्षिण कोरियाको राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने तयारी भएको अदालतको भनाइ छ।

उनलाई भ्रष्टाचारको आरोपमा थुनामा राखेर अनुसन्धान गरिएको हो। सन् २०१७ को मार्च महिनामा उनलाई घुस लिएको र पदीय अधिकार दुरूपयोग गरेको अभियोगमा नियन्त्रणमा लिइएको थियो। अहिले पनि उनी हिरासतमा रहेकी छन्। पार्कमाथि लागेको भ्रष्टाचारको अभियोगमा कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै दक्षिण कोरियाका सरकारी वकिलहरूले गरेका थिए। सरकारी वकिलले पूर्वराष्ट्रपति पार्कले गरेको भ्रष्टाचार र शक्तिको दुरूपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरिएको हो।

६६ वर्षकी पूर्वराष्ट्रपति पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपतिसमेत हुन्। उनीमाथि आफू राष्ट्रपति रहँदा शक्तिको दुरूपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ। सो मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाइ जारी रहेको छ। गत वर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको थियो।

भ्रष्टाचारमा पार्कको संलग्नता रहेको विषयलाई दक्षिण कोरियाको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो। दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति पार्क दक्षिण कोरियामा महाअभियोग लगाएर निकालिएको पहिलो राष्ट्रपति हुन्। आउँदो शुक्रबार उनको मुद्दाको फैसला हुने अनुमान गरिएको छ।
शुक्रबार अपरान्ह् गरिने सो फैसलाको पूर्णपाठ अदालतबाटै प्रत्यक्ष रूपमा सुनाइने छ। यस्तो प्रसारणको प्रचलन पनि दक्षिण कोरियामा पहिलो पटक हुन लागेको बताइएको छ।

पार्कलाई उनकी निकटतम मित्र तथा सल्लाहकार चोइ सुन सिललाई आफ्नो शक्तिको दुरूपयोग गराइ विभिन्न स्थापित उद्योगलाई ६ करोड युरोचन्दा सहयोग दिन बाध्य पारेको अभियोग पनि लगाइएको थियो। तर पार्कले यो अभियोग अस्वीकार गर्दै आएकी छिन्।