ठगी धन्दालाई उन्मुक्ति दिन कर्मचारी सरुवा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
पछिल्लो समय बजार अनुगमन कार्यलाई तीव्रता दिएर ठूला व्यावसायिक घराना र व्यापारीको कालोबजारी तथा ठगीको धन्दा बाहिर ल्याएको बेला आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकको सरुवा गरिएको छ।

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन भएपछि माथिल्लो तहका कर्मचारीको सरुवा गरिएको यो पहिलोपटक हो। विभागले अनुगमन तथा कारबाहीको कार्यलाई तीव्रता दिएपछि व्यापारीहरूले बजार अनुगमन रोक्न सरकारलाई दबाब दिँदै आएका थिए। व्यापारीहरूकै दबाबमा एक महिनादेखि बजार अनुगमन रोकेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्ततः विभागका महानिर्देशकलाई नै सरुवा गराएका छन्। विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खाद्य, शिक्षा, स्वास्थ्य, अटोमाबाइल्स, सिमेन्ट, छडलगायत क्षेत्रका ठूला व्यापारिक घरानाको ठगी तथा कालोबजारीका दुई दर्जन बढी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ। व्यापारीहरूले आफू कालोबजारी तथा ठगीको मुद्दामा कारबाहीमा पर्ने देखिएपछि बजार अनुगमन रोक्न तथा कारबाही प्रक्रिया अगाडि नबढाउन सरकारलाई दबाब दिँदै आएका थिए।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजार अनुगमनका क्रममा देखिएका कैफियतबमोजिम ठूला व्यापारीलाई कारबाही गर्न सक्रियता देखाउँदै आएका थिए। तर एक महिनाअघि मन्त्री यादवले अनुगमन कार्य स्थानीय तहको कार्यक्षेत्रमा पर्ने भन्दै बजार अनुगमन नगर्न विभागलाई निर्देशन दिएका थिए। कालोबजारी तथा ठगी गर्ने व्यापारीहरूलाई उन्मुक्ति दिन अनुगमनका प्रतिवेदनहरू मन्त्री यादवले झिकाएका छन् भने कारबाहीको प्रक्रियामा अगाडि बढिसकेका फाइलहरू पनि यादवकै निर्देशनमा विभिन्न सरकारी निकायमा रोकेर राखिएको छ।

पछिल्लो एक महिनायता बजार अनुगमन कार्य शून्यप्रायः भएपछि व्यापारीहरूको मनोमानीसमेत बढ्न थालेको थियो। विभागमा दैनिक दुई दर्जनभन्दा बढी ठगी तथा कालोबजारीका मुद्दा दर्ता हुने गरेको छन्।

६ वटा अटोमोबाइल्स कम्पनी, ५ वटा निजी विद्यालय र एउटा पेन्टिङ कम्पनीविरुद्ध कालोबजारी तथा उपभोक्ता ठगीको मुद्दा चलाउने तयारी गरे पनि मन्त्रीकै आदेशमा मुद्दा प्रक्रिया अगाडि बढेको थिएन। ६ वटा स्वास्थ्य संस्था र दुईवटा अटोमोबाइल्स कम्पनीलाई कालोबजारी तथा ठगी गरेको आरोपमा आवश्यक अनुसन्धान गरी कारबाही गर्न प्रहरी प्रशासनलाई सक्कल फाइलसहितको पत्र पठाए पनि प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन।