घामपानीको लुकामारी – ‘मनसुन औसतभन्दा राम्रो हुने संकेत’

0
Shares

टीका बन्धन, काठमाडौं
केही अघिसम्म घाम, क्षणभरमा बादल र मेघ गर्जनसहित क्षणिक वर्षा अनि केही बेरपछि खुल्ने आकाश। ‘प्रि–मनसुन’ अर्थात् मनसुन पूर्वाद्र्धको समयमा यस्ता गतिविधि दोहोरिन्छन्।

मौसमविद्हरूकै शब्दमा चैत, वैशाख र जेठ महिनामा हरेक दिनजसो अपराह्न र साँझको समयमा यस्ता गतिविधि दोहोरिन्छन्। तर विज्ञहरूले बताउने गरेभन्दा फरक ढंगमा हिजो–आज बिहान सबेरै र मध्य दिउँसो पनि प्रि–मनसुन सक्रिय बन्न थालेको छ। बुधबार मध्य दिउँसो काठमाडौं र मुलुकका धेरै भेगमा मध्य वर्षात्को समयझैं मुसलधारे र कतैचाहिँ मध्यमस्तरको वर्षा भएपछि जनजीवन प्रत्यक्ष प्रभावित बन्यो।

बिहान र मध्य दिँउसो पनि प्रि–मनसुन सक्रिय बन्नु आगामी मनसुनी गतिविधि राम्रो हुन सक्ने संकेतका रूपमा बुझ्न सकिने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउनुहुन्छ। वायुमण्डलमा जलवाष्पयुक्त हावाको मात्रा बढी भएपछि जुनसुकै बेला पनि प्रि–मनसुन सक्रिय हुने भए पनि अहिलेको गतिविधि मनसुन औसतभन्दा राम्रो बन्ने पूर्वसंकेत भएको उहाँको बुझाइ छ। ‘केही महिनाअघि प्रशान्त महासागरमा ल्यानिना शुरू भएको छ, त्यसले समग्र दक्षिण एसियाकै मनसुनी गतिविधि औसतभन्दा राम्रो गराउने गर्छ’, शाक्यले भन्नुभयो– ‘अहिलेको गतिविधि त्यसैको शुरुआत हो।’

प्रशान्त महासागरको पूर्वीभेगको पानी औसतभन्दा बढी चिसो हुने प्रक्रियालाई मौसमविद्हरू ‘ल्यानिना’ का रूपमा बुझ्ने गर्छन्। सन् २०१४ देखि प्रशान्त महासागरको पूर्वीभेगमा सक्रिय रहेको ‘एलनिनो’ (औसतभन्दा बढी पानी तात्ने) प्र्रक्रिया सन् २०१७ को अन्त्यसँगै निस्क्रिय भएको विश्व मौसम संगठनले जनाएको छ। एलनिनोले औसत वर्षा कम गराउने भए पनि ल्यानिनाका कारण समग्र दक्षिण एसियाली भेगको मनसुनी वर्षा औसत र औसतभन्दा बढी हुने वरिष्ठ मौसमविद् शाक्यको ठहर छ।

एक सातायता पश्चिमी वायु र स्थानीय वायुको दोहोरो प्रभावले प्रि–मनसुन सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो।

उपल्लो वायुमण्डलमा विकास भएको न्यून चापीय क्षेत्र (वर्षा गराउने जलवाष्पयुक्त हावाको मात्रा) र पश्चिमी वायुको प्रभावले मध्य र हल्का वर्षा गराउने प्रणाली विकास भएको उहाँले जानकारी दिनुभयो।
‘यसपटक प्रि–मनसुन केही सक्रिय बनेको छ, प्रि–मनसुनमा हुने औसत वर्षाको मात्रा नाघ्ने सम्भावना बढेको छ।’ –पौडेलले भन्नुभयो।

महाशाखाले अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनामा काठमाडौं उपत्यकामा क्रमशः ३४ दशमलव २, ६१ र १ सय २३ मिलिमिटर औसत वर्षाको मात्रा तोकेको छ। गत मार्च महिनामा उपत्यकामा २७ दशमलव ८ मिलिमिटर वर्षा भए पनि अप्रिल र मे महिनाको औसत वर्षाको मात्रा पुग्ने पौडेलको अनुमान छ। ‘अप्रिल महिनाको औसत वर्षा ६१ मिलिमिटर हो, जुन बुधबार साँझसम्ममा नाघिसकेको छ, यस्तै हो भने मे महिनामा औसत वर्षा नाघ्ने सम्भावना देखिन्छ।’ –उहाँले बताउनुभयो।

महाशाखाका अनुसार बुधबार साँझसम्ममा पोखरामा सबैभन्दा बढी २५ दशलमव ४ मिलिमिटर वर्षा भएको छ भने दाङमा १२, काठमाडौंमा ११ दशमलव ४, वीरेन्द्रनगरमा ६ दशमलव ४ मिलिमिटर वर्षा भएको छ। त्यसै गरी लुम्ले, जिरी, ताप्लेजुङ, जुम्ला, ओखलढुंगा, भैरहवा र आसपासका क्षेत्रमा पनि मध्यम र हल्का वर्षा भएको महाशाखाको तथ्यांक छ।