बौद्धनाथ समितिको विवाद उत्कर्षमा

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं
बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न गठित बौद्धनाथ क्षेत्र विकास समितिभित्रको आरोप–प्रत्यारोप चरम उत्कर्षमा पुगेको छ। कार्य समितिभित्रका अध्यक्ष तथा सदस्यहरूबीचको मतभिन्नता छताछुल्ल भएसँगै एकले अर्कोलाई अनियमितता गरेको आरोप लगाउन थालेका छन्।

समितिभित्र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग आयोगदेखि तालुक अड्डा पर्यटन मन्त्रालयसम्म उजुरी परेको छ भने कार्य समितिका जिम्मेवार व्यक्तिमाथि ज्यान मार्ने उद्योग तथा अपहरण, शरीर बन्धकजस्ता गम्भीर अपराध गरेको आरोपसमेत लागेको छ। अध्यक्ष राजकुमार लामाले आर्थिक अनियमितता गरेको भन्दै समितिका सदस्यहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र तालुकदार मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी दिएको दाबी गरेका छन्। अध्यक्ष लामाले भने यी सबै आरोप झुटो भएको भन्दै केही सदस्यहरूले अनियमितता गर्न नपाएर लाञ्छना मात्रै लगाएको दाबी गरेका छन्।

केही दिनअघि अध्यक्ष लामाले समितिका कर्मचारी अर्जुन भन्ने टासिकुमार लामालाई अपहरण गरी बकपत्र गराएको आरोप लागेको छ। यस विषयमा पीडित भनिएका लामालाई सम्पर्क गर्दा केही कुरा बताउन चाहेनन्। यस बारेमा अध्यक्ष लामाले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार टासिकुमारले काउन्टरको रकम हिनामिना गरेकाले अख्तियार र प्रहरीको सीआईबी टोलीले अनुसन्धान गरेको हो। दैनिक डेढ⁄दुई लाख रुपियाँ उठ्ने गरेको काउन्टरमा सुपरभाइजर टासिकुमारले सदस्यहरू विसनकुमार लामा, मनोज लामा र मंगलसिंह बललाई समेत बाँढ्ने गरेको दाबी अध्यक्ष लामाले गर्नुभएको छ। उहाँले अवैधरूपमा पैसा खान नपाएर आफूविरुद्ध केही सदस्य लागेको दाबी गर्नुभयो।

कार्यसमिति सदस्य विसनकुमार लामाले अध्यक्षमाथि व्यापक आर्थिक अनियमितता गरेको, कार्यसमितिको निर्णय विपरीत स्वैच्छाचारी ढंगले काम गरेको, विदेशी अनुदानको रकम पारदर्शिता नगरेको जस्ता आरोप लागेको बताउनुभयो। साथै अध्यक्ष लामाले ब्याक डेट राखेर आफ्नो नजिकको मान्छेको संस्थालाई १२ लाख रुपियाँ दिएको आरोपसमेत लागेको छ।

बौद्धनाथ क्षेत्र विकास समितिका कर्मचारी टासिकुमारको अपहरण तथा शरीर बन्धक बनाई अध्यक्ष लामाले जबरजस्ती फलानो फलानोलाई पैसा दिएको भनी कागज गराएको भन्दै सदस्यहरूले अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

अध्यक्षले एकाधिकार प्रयोग गरेको, स्वैच्छाचारी ढंगले काम गरेको बारे छानबिन प्रतिवेदन आउनुपूर्व नै कर्मचारीलाई अपहरण गरी कागज गराएको भन्दै टासिकुमारलाई अख्तियार र प्रहरीले अनुसन्धान गरेको भन्ने अध्यक्षको भनाइलाई खण्डन गरेका छन्।

अध्यक्ष लामाले अपहरण गरेको बारे पीडित कर्मचारीले प्रहरीलाई जाहेरी दरखास्त दिन गए पनि प्रहरीले उक्त उजुरी दर्ता नगरेको बताइएको छ। ‘प्रहरीलाई जाहेरी दिन हामी पनि सँगै गएका थियौं, पीडितले डीएसपीकै अगाडि रुँदै सबै कुरा भन्नुभएको थियो’, सदस्य विसनकुमारले भन्नुभयो– ‘अहिले उक्त उजुरी दर्ता भएको छैन भन्ने सुन्दा अचम्म लागेको छ।’ अध्यक्ष लामाले भने प्रहरीलाई सबै वास्तविकता थाहा भएकाले उनीहरूको झुटो उजुरी दर्ता नभएको बताउनुभएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिको पुस अन्तिम साता बसेको कार्यसमिति बैठकले माघ महिनादेखि अध्यक्ष लामाले मासिक ४५ हजार रुपियाँ लिने निर्णय भए पनि अध्यक्षले ब्याक डेट राखेर गत भदौदेखि नै मासिक ४५ हजार रुपियाँ लिएको सदस्य बिसानकुमारले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ।

पुस अन्तिम साता बसेको बैठकले कार्यसमिति सदस्य हीराकाजीले २५ हजार, मंगल सिंहले २५ हजार लिने र छुट्टै उपसमितिमा रहेका अध्यक्षको आफन्त पर्ने नवीन लामालाई पनि मासिक २५ हजार दिने निर्णय गराएको सदस्य बिसानकुमारले बताउनुभएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्षले गरेको अनियमितताबारे छानविन गर्न मन्त्रालयले गठन गरेको टोलीले छानविन पूरा गरी प्रतिवेदन तयार पारिसकेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

सञ्चालक समितिका एक सदस्यका अनुसार उक्त प्रतिवेदनमा मुख्य गरी अध्यक्ष लामाले विदेशी अनुदान लिँदा नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थाको उल्लंघन गरेको पाइएको छ। चिनियाँ दूतावासले दिएको भनिएको गाडी नगद आएर किनिएको हो कि जिन्सी नै दिएको हो ? मन्दिरभित्र अनुदानमा बत्ती जडान भनिएको नगदमा रकम आएको हो कि सामान आएको हो जस्ता कुरा कार्यसमिति सदस्यहरूले थाहा नभएको बताएका छन्।

बौद्धनाथ क्षेत्र विकास समितिभित्रको आरोप–प्रत्यारोप सार्वजनिक हुन थालेपछि ६ वर्षअघि प्रहरीमाथि आक्रमण गरिएको विषयले पनि चर्चा पाउन थालेको छ। ६ वर्षअघि महानगरिय प्रहरी वृत्त बौद्धका प्रहरीमाथि आाक्रमण गरेको भन्दै ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो।
मनसुन…