पौडेललाई गोली हानी हत्या गर्ने सुटर पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल
रूपन्देही प्रहरीले एकपछि अर्को सफलता हासिल गर्न सफल भएको छ। प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीको आगमनसँगै यस क्षेत्रमा अभियुक्तलाई पक्राउ गर्ने क्रमले तीव्रता पाएको छ।

रूपन्देहीको देवदह नगरपालिका–२ ढेकारका वसन्त भन्ने बलु पौडेलमाथि गोली हानी हत्या भएको ठीक ३ महिनामा पौडेललाई गोली हान्ने सुटर पक्राउ परेका छन्।
गत पुस २१ गते शुक्रबार बिहान सवा ११ वजे पौडेललाई छातीमा गोली प्रहार गरी हत्या भएको थियो। बलुमाथि आफ्नै काठ मिलमै गोली हानिएको थियो।

जिल्ला प्रहरी कार्यालयले बुधबार बुटवलको इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी पौडेललाई गोली हान्ने सुटरलाई सार्वजनिक गरेको हो।

मंगलबार कास्की जिल्ला पोखरा महानगरपालिकाको रामबजारबाट वर्ष २१ को विवेक भन्ने सुभाष गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख ज्ञवालीले बताउनुभयो।

जिल्ला लमजुङ बाङ्ग्रे गाउँपालिका–५ भोर्लेटार घर भई पोखरा डेरा गरेर बस्ने सुभाषलाई प्रहरीले पक्राउ गरेसँगै बल्लु पौडेललाई हत्या गर्ने सबै जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। १ लाख रुपियाँ लिएर बल्लुलाई हत्या गर्न गोली हानेको प्रहरीसमक्ष सुभाषले बयान दिएको प्रहरी उपरीक्षक ज्ञवालीले पत्रकार सम्मेलनमा बताउनुभयो।

बल्लु हत्याका योजनाकार मनोज पुन र सोमबहादुर आले प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका हुन् भने अन्य दुई जनालाई पक्राउ गरी कानुनी प्रक्रियाअनुसार मुद्दा चलाएको छ।

प्रहरीले बल्लु हत्यामा संलग्न पदम चौधरी र महेन्द्र भन्ने महिनारायण चौधरीलाई पक्राउ गरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका छन्। सुभाषलाई क्राउ गरेसँगै बल्लु हत्यामा संलग्न अभियुक्त सबैलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ।