पीडित प्रलोभन र दबाबमा पर्दा प्रमाण जुटाउन समस्या

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
सरोकारवालाहरूले महिला तथा बालिकामाथि हुने जबरजस्ती करणीका घटनाको बढ्दो वृद्धि दरलाई न्यूनीकरण गर्न प्रहरी र नागरिक समाजको सहकार्य अपरीहार्य रहेकोमा जोड दिएका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरले आयोजना गरेको जबरजस्ती करणी अपराध विश्लेषण तथा अनुसन्धान र छलफल विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले जबरजस्ती करणीको घटनालाई न्यूनीकरण गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त नहुँने बताउँदै यसका लागि आम नागरिकको सहयोग अनिवार्य रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला न्यायाधीश भोजराज शर्माले अदालत, प्रशासन, सरकारी वकिल, स्थानीय निकाय, स्वास्थ्य संस्था, पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाज र यससँग सरोकार राख्ने संघ–संस्थाको सक्रिय र समन्वयात्मक भूमिकाले मात्र जबरजस्ती करणी अपराध नियन्त्रण प्रभावकारी ढंगले अघि बढ्ने बताउनुभयो।

न्यायाधीश शर्माले अपराध अनुसन्धान कानुनी प्रक्रियामा आधारित हुने भए पनि हामीमा अनुसन्धानको पाटो कमजोर भएको बताउनुभयो। उहाँले गरिबी र अशिक्षाका कारण नै यस्ता घटना घट्ने गरेको पाइएको बताउँदै उहाँले सरकारवादी जघन्य मुद्दामा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले महिला तथा बालिकामाथि हुने जबरजस्ती करणीका घटना न्यूनीकरणका लागि प्रहरी, प्रशासन र अदालत मात्र होइन अब स्थानीय तहले पनि प्रमुख कार्यभार बनाएर अभियानकैरूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले राज्यले अपराधलाई जसरी पनि न्यूनीकरण गर्ने बताउँदै यसमा सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो। जबरजस्ती करणी मेलमिलापमा जाने मुद्दा होइन भन्दै उहाँले अब पीडकलाई ना·ेझार बनाएर कडा सजाय दिने गरी जिल्लामा ३ महिने कार्ययोजना बनाइने बताउनुभयो।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले बलात्कारको घटना न्यूनीकरणका लागि समुदायलाई सचेत र सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख नीला घिमिरे, गठ्ठाघर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष सुरेन्द्र बोगटी, महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकाललगायतले पीडितलाई न्यायको पहुँचमा ल्याउन अदालती प्रक्रिया सहज र छिटो हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा जबरजस्ती करणी अपराध विश्लेषण तथा अनुसन्धान तथा नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गर्दै परिसरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले सामाजिक अपराध तथा लै·िक हिंसासँग सम्बन्धित सरोकारवाला निकाय र संघ–संस्थाहरूसँग हातेमालो गरी योजनबद्धरूपमा अगाडि बढ्न र सहकार्यको लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँले पछिल्लो समयमा भक्तपुरमा बलात्कारको घटना बढ्दै गएको बताउँदै चालू आर्थिक वर्षको हालसम्म मात्र १३ वटा जबरजस्ती करणीका घटना र ४ वटा जबरजस्ती करणी उद्योगका घटना भएको जानकारी दिनुभयो।

प्रहरी उपरीक्षक राणाले २०७१⁄०७२ मा २१ वटा, २०७२⁄०७३ मा १३ वटा, २०७३⁄०७४ मा ११ वटा जबरजस्ती करणीका घटना भएको जानकारी दिनुभयो। यसै गरी २०७१⁄०७२ मा ७ वटा, २०७२⁄०७३ मा ९ वटा, २०७३⁄२०७४ मा ५ वटा जबरजस्ती करणी उद्योगका घटना दर्ता भई आवश्यक कारबाही अघि बढाएको जानकारी दिनुभयो।