भूकम्पपीडितले अनुदान असारसम्म लिन पाउने



काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई अनुदान लिने समय थपेको छ । भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान दिने समय तीन महिनाको लागि थरेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको समितिको बैठकले भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान दिने म्याद चैत्र मसान्तबाट असार मसान्तसम्मको लागि थपेको हो ।

बैठकले सेवाग्राहीलाई सहज हुने गरी कार्यविधि संशोधन गर्ने प्रस्ताव पनि स्विकृत गरेको छ । त्यसैगरी निजी आवास निर्माणको कामलाई पहिलो प्राथमिकतामा पनि राखिएको छ । त्यसपछि क्रमशः स्वास्थ्य, शिक्षा, पुरातात्विक र अन्य पूर्वाधारको कामलाई अघि बढाउने गरी कामको प्राथमिकता पनि निर्धारण गरिएको प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताउनु भयो ।

प्राधिकरणको संगठनात्मक संरचना पनि पुनरावलोकन गर्ने निर्णय गरेकाे छ । स्थानीय सरकार संचालन ऐन अनुसार आगामी चैत्र २८ गतेबाट जिल्ला तहमा रहेका सबै संरचना खारेज हुने भएपछि प्राधिकरणको संगठनात्मक संरचना पुनरावलोकन गर्ने निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले स्पष्ट पार्नु भयो । संरचना अनुसार जिल्ला तहमा प्राधिकरणको अनुदान व्यवस्था र स्थानीय पूर्वाधार, भवन ईकाई र शिक्षा गरेर ३ वटा ईकाई रहने व्यवस्था गरिएको छ ।

प्राधिकरणले अहिलेसम्म १ लाख १४ हजार निजी आवास निर्माणको काम सम्पन्न भएको जनाएको छ ।  कार्यकारी अधिकृत भुसालका अनुसार ३ लाख ९० हजार निजी आवास निर्माणाधिन अवस्थामा छन । असार मसान्तसम्म ४ लाख ५० हजार निजी आवास निर्माणको काम सम्पन्न गर्ने गरी काम भईरहेको प्राधिकरणको दावी छ ।

प्रतिक्रिया दिनुहोस्