अब रातीमा पनि सडक निर्माण

0
Shares

सरोज यादव, विराटनगर ।

रोडशेषदेखि बरगाछीसम्मको सडक अबको १ महिनाभित्र ९ मिटर चौडा कालोपत्रे भइसक्ने

रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणको काम तीब्र पार्न प्रदेश सरकारले राती पनि काम गराउने निर्देशन दिएको छ ।

प्रदेश मन्त्रीपरिषदको बैठकले उक्त सडक निर्माण तिब्र पार्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेको थियो । उक्त समितिले सडकको अनुगमन गर्दै सडक निर्माणलाई तीब्रता दिन रातको समयमा पनि काम गर्न सकिने भए तत्काल सुरु गर्न सम्बन्धीत निकायको ध्यान आकर्षण गरेको छ ।

अनुगमन टोलीमा सहभागी १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सडक निर्माणमा भइरहेको समस्याको विषयमा जानकारी लिएर आवश्यक पहलकदमी लिइने जानकारी दिनुभयो ।

पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकका क्षेत्रीय निर्देशक दीपककुमार भट्टराईले ठेक्कामा लागेका सडक निर्माणमा समयमै रकम निकासा नहुँदा समस्या भएको बताउनुभयो । उहाँले अझै पनि ४० देखि ४५ करोड रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको जानकारी मुख्यमन्त्रीसहितको टोलीलाई दिदै बजेट निकासा नहुँदा निर्माण प्रभावित भएको बताउनु भएको थियो ।

विराटनगरको रानीदेखि अनुगमन सुरु गरेको टोलीले सुनसरीको चतरासम्म भइरहेको कामको जानकारी लिएको छ । अनुगमनपछि निर्माण व्यवसायीसँग कुरा गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समस्या पहिचान गरि छिट्टै काम अघि बढाउने बताउनु भयो ।

क्षेत्रीय सडक निर्देशनालयका अनुसार रानीदेखि धरानसम्मको ६ लेन सडक निर्माण सम्पन्न गर्नका लागि १० अर्ब ९६ करोड बजेट लाग्ने अनुमान गरिएको छ । उक्त बजेट अनुसार ७ अर्ब बराबरको कामको ठेक्का लागिसकेको छ । भने ठेक्कामा लागेको रकमको ३८ प्रतिशत बजेटसमेत खर्च भइसकेको छ ।

निर्माणाधीन रानी–विराटनगर–इटहरी–धरान सडक योजना समस्याग्रस्त छ । निर्माण प्रक्रिया सुरु भएको ४ वर्षसम्ममा ४९ किलोमिटर सडकमध्ये ३३ किलोमिटर सडकको ठेक्का लागेको छ । १६ किलोमिटर क्षेत्रमा भने विभिन्न समस्याका कारण ठक्का लाग्नसमेत सकेको छैन ।

दुहबीको बजार क्षेत्रमा सडक विस्तार, इटहरीदेखि खनारसम्मको टेंग्रा खोलाको व्यवस्थापन, विराटनगर बजार क्षेत्रमा ५० मिटर चौडा गर्नुपर्ने सडकको जमिन अभावजस्ता जटिल समस्याले निर्माणकार्य प्रभावित भइरहेको छ ।

यसैबीच विराटनगरको बजार क्षेत्रमा पनि ५० मिटर चौडाको सडक नबन्ने भएको छ । ५० मिटर चौडा क्षेत्र रहेको सडकको जग्गा अहिले ३० मिटरमा झरेको हो । विराटनगरको बरगाछीदेखि बसपार्कसम्मको २ हजार २ सय मिटर सडक भने ८ मिटर चौडामा छिट्टै कालोपत्रे हुने छ ।

विराटनगरको रोडसेष देखि बरगाछीसम्मको सडक भने अबको १ महिनाभित्र ९ मिटर चौडा कालोपत्रे भइसक्ने निर्माण कम्पनीले जनाएको छ ।