भगवती तिमल्सिना
जलवायु विषमता तथा जलवायु परिवर्तनले मानवीय जीवनलाई पार्दै आएको प्रतिकूल असरका कारण दिन प्रतिदिन नयाँ–नयाँ प्रकृतिका रोगव्याधिको चाप बढ्दो रहेकाले विश्वकै ध्यानाकर्षण गराएको छ। यसमा पनि विकासोन्मुख मुलुक बढी प्रभावित हुने गरेका छन्। जलवायु परिवर्तनमा हरितगृह ग्यास बढी प्रभावित रहेको र यो ग्यास उत्सर्जनमा नेपालको पनि थोरै भूमिका रहेको भनिए तापनि सन् २०१० को जलवायु परिवर्तन र यसको जोखिमसम्बन्धी अध्ययनले नेपाललाई विश्वको चौथो जोखिम राष्ट्रका रूपमा औंल्याएको छ। यसमा पनि तराईभन्दा पहाड र हिमालमा बढी जोखिम रहेकोऔंल्याइएको छ।
जलवायु परिवर्तनले सर्वप्रथमतः स्वास्थ्यलाई नै असर पार्ने स्वास्थ्य विज्ञहरूको ठम्याई रहेको छ। यो असरलाई कमी ल्याउन के गर्न सकिन्छ र कस्तो नीतिको आवश्यक छ भन्ने विषयमा स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा स्वास्थ्य, वातावरण विज्ञका साथ नीति निर्माताहरूको समेत सहभागितामा काठमाडौंमा यही मार्च २९ र ३० तारिखका दिन बृहत् सम्मेलनको आयोजना गरी १३ बुँदे घोषणापत्र पारित गरेको छ।
जलवायु परिवर्तनकै कारण कहिले भारी वर्षा हुने त कहिले सुख्खा हुने, क्षणमा मौसम परिवर्तत भई उच्च तापक्रम हुने त कहिले अकल्पनीय न्यून तापक्रम हुनेजस्ता गतिविधिमा वृद्धि भएकै कारण सर्ने र नसर्ने रोगहरूको समेत वृद्धि भएको छ। स्वास्थ्य अनुसन्धान परिषद्का डा.मेघनाथ धिमालले जलवायु परिवर्तनले कतै–कतै फाइदा पुगे पनि बेफाइदा धेरै भएको बताउनुभयो। उहाँले अत्यधिक तापक्रमका कारण गर्मीयाममा तराईमा लामखुट्टे मर्नाले डेंगोलगायत लामखुट्टेबाट सर्ने रोगमा भने कमी आए पनि औलो, झाडापखाला, टाइफाइड, जन्डिसजस्ता रोगहरूको प्रकोप भने बढ्ने गरेको बताउनुभयो।
डा.धिमालले जलवायु परिवर्तनले कलेरा, मानसिक तनावका कारण हुने गरेको आत्महत्या, बाढी, पहिरो, उच्च भूभागको तापक्रममा वृद्धिजस्ता कारणले स्वास्थ्यमा जोखिम बढेको बताउनुभयो। ‘जलवायु परिवर्तनले हिमाली भेगमा पनि उत्तिकै जोखिम ल्याएको छ। यस्तो अवस्थामा स्वास्थ्य नीति बलियो बनाउनुपर्ने विषयमा नीति निर्माता तथा सरकारले समयमै ध्यान दिनुपर्छ। जलवायु परिवर्तनले गर्दा वर्षात् शुरू भएसँगै रोगमा वृद्धि हुन्छ। यसको रोकथामका लागि वर्षात् शुरू हुनुभन्दा १६ हप्ताअगाडि नै रोगको प्रकोप फैलिन नदिनका लागि पूर्व तयारी अपनाउन सकिन्छ। जलवायु परिवर्तनका कारण सरुवा रोगको वृद्धि म्यानमारदेखि अफगानिस्तान र नेपालमा उस्तै रहेको छ’ –उहाँले भन्नुभयो।
जलवायु परिवर्तनको विषयलाई लिएर विश्व स्वास्थ्य संगठनका राजाराम पोते श्रेष्ठ भन्नुहुन्छ– ‘रोल अफ द हेल्थ नीतिगत सुधार गर्नुपर्छ। यसका लागि अहिले नै सोच्न सकिन्छ। जलवायु परिवर्तनले पुर्याउने क्षति कम गर्न जोड दिनु सम्मेलनको उद्देश्य हो। विश्व स्वास्थ्य संगठनले २०११ देखि नै यस विषयमा जोड दिँदै आएको छ। स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर विश्वले हेरिरहेको अवस्थामा नेपालले पनि संविधानमै स्वास्थ्यलाई नैसर्गिक अधिकारका रूपमा स्थापित गरिसकेको छ। भौगोलिक, जनसांख्यिक चापले पनि जलवायु परिवर्तन हुने र स्वास्थ्यमा असर पर्ने हुनाले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्न जोड दिँदै यो दोस्रो सम्मेलनको आयोजना गरिएको हो।’
स्वास्थ्य समस्याको मूल माध्यम वातावरण र पिउने पानी भएकाले सरसफाई र पिउने पानीमा जोड दिँदै आएको वास नेपालका इ. किरण दर्नालले बताउनुभयो। उहाँले सन् २०१७ सम्म सम्पूर्ण जनतालाई सामान्य खानेपानी पुर्याउने योजनाअनुरूप ८६ प्रतिशतलाई पुगेको भए पनि उच्च तह होटल व्यवसायमा भने सन्तोषजकरूपमा पानी पुगेको अवस्था नभएको बताउनुभयो। नेपालमा खानेपानी योजना सञ्चालनमा सरकार, उपभोक्ता समिति, विभिन्न संघसंस्थाको प्रत्यक्ष संलग्नता रहेका साना ठूला गरी ४३ हजार खानेपानीको योजना रहेकामा ४३ प्रतिशतमा सुधार्नुपर्ने अवस्थामा रहेका छन्।
खानेपानी वितरण तथा सञ्चालनमा दक्ष जनशक्ति, ज्ञान, बजेट, उपयुक्त स्थानको समस्या हुनु नै सन्तोषजनक परिणाम नपाउनुको मूल कारण भएको पनि इ. दर्नालको ठम्याइ रहेको छ। ‘रोगको मूल कारण पानी हो र मुहानमा पानी सफा भए पनि उपभोक्तासम्म पुग्दा दूषित भएको पाइन्छ। हाल वितरित खानेपानीको १९ प्रतिशत मात्र प्रशोधन माध्यममा छन् भने बाँकी ८१ प्रतिशतमा पानी प्रशोधन गरिएकै छैन। यता सहश्राब्दि विकास लक्ष्यअनुसार खानेपानी पनि ६ नम्बरमा पर्छ। लक्ष्य ६ को ६ दशमलव ५ नम्बरले खानेपानी स्रोत व्यवस्थापन समेटेको छ। तर वैज्ञानिक तथ्यांकको अभावले मनसुन, हिउँदको मापन अनुमानको भरमा छ। सञ्चार माध्यममा हैजा, कलेरा फैलिएर मानिसको ज्यान नै गएको समाचार आएपछि रोकथामका लागि सरकारले टोली खटाउने नीति लिनुले अनाहकमा धेरै मासिनले ज्यान गुमाउनुका साथै अस्वस्थ जीवन जीउन बाध्य भएका छन्’ –दर्नाल भन्नुहुन्छ।
समयमै समस्याको समाधानका लागि सबै निकायको ध्यान पुग्नु जरुरी छ। साथै उपभोक्ता स्वयंमा जनचेतनाको आवश्यकता रहेको कुरा दर्नालले औंल्याउनुभयो। उहाँ भन्नुहुन्छ– ‘पानी र सरसफाई हरेक प्राणीका लागि अति आवश्यक भएकाले यसतर्फ सबैको ध्यान पुग्नु जरुरी छ। जलवायु परिवर्तनको प्रभावले नेपालमा रहेका ३ हजार २ सय ५२ हिमनदी, ६ हजार नदी, ५ हजार ३ सय ५८ वटा साना ठूला ताल तथा पोखरी, तराई र पहाडमा १२ किलोमिटर क्षेत्रमा रहेको जमिनमुनिको पानीको स्रोतमा तापक्रमले असर पारेको छ। यसका लागि सरसफाईका साथै मुहान बचाउने, खानेपानी र ढलको काममा सहकार्य हुनुपर्ने आवश्यकता रहेको छ। जलवायु परिवर्तन रोक्न त सकिन्न, धान्न सक्ने वातावरण बनाउन भने अहिले नै योजना बनाउनु जरुरी छ।’ विशेष गरी पछिल्लो समय विस्तार भएका सडक, ढल विस्तारमा खानेपानीका मुहान मासिने र प्रदूषित हुने क्रम बढ्दै गएकाले यसतर्फ सरकार तथा स्थानीयको ध्यान पुग्नु जरुरी भएको पनि दर्नालले औंल्याउनुभयो।
सोही अवसरमा काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान विभागका प्रो.डा.सुवोध शर्माले जलवायु परिवर्तनले खानेपानीमा पार्ने असर र सुधारका बारेमा जिरी नगपालिकामा गरिएको एक अध्ययन प्रतिवेदनले औंल्याएका वस्तुस्थितिलाई अघि सार्नुभएको थियो।
काठमाडौं विश्वविद्यालयको वतावरण विभागले सरकार, विश्व स्वास्थ्य संगठनलगायतका निकायको सहकार्यमा गरेको पछिल्लो अध्ययनअनुसार जिरी नगरपालिकामा गरिएको अध्ययनमा वातावरणले पार्ने असर, वातावरण र प्रविधि, मानव व्यवहार तथा घर–घरमा पानीको प्रयोगमा गरिने व्यवहारजस्ता विविध पक्षले खानेपानीमा प्रदूषणको परिणाम फरक–फरक पाइएको डा.शर्माले बताउनुभयो। उहाँ भन्नुहुन्छ– ‘२०७२ को भूकम्पपछि गरिएको एक वर्षे अनुसन्धानमा पानीको मुहान, वितरण प्रक्रिया, पानीको प्रयोगको तरिका, भण्डारणजस्ता विषयमा ९ वटा प्रश्न सोधिएको थियो। उत्तरी र दक्षिण भेगको जैविक स्रोतलाई अनुसन्धानमा समेटिएको थियो। १ हजार ३ सय घरधुरीमा २ पटक प्रत्यक्ष पुगी प्रश्न राखिएको थियो भने मुहान, नगरपालिका, व्यवस्थापन पक्षसँग पटक पटक प्रत्यक्ष र अप्रत्यक्षरूपमा सम्पर्क गरी अनुसन्धान गरिएको थियो।’
जिरी नगरपालिकाका माली, जिरी, ठूलो पाखरमा पिउने पानी कस्तो छ भनेर गरिएको अनुसन्धानमा सुधारिएका र नसुधारिएका मुहान छुट्याइएको थियो। जसमा ६२ वटा सुधारिएका मुहानमा मुलमै इन्टेक लगाइएको थियो भने अन्य २ सय ७५ वटामा ८२ प्रतिशत मुहानमा पानीको गुणस्तरमा समस्या पाइएको थियो। यी मुहान नसुधारिएका कारण प्रदूषित र पानीको गुणस्तरमा समस्या पाइएको डा.शर्माले जानकारी गराउनुभयो।
२०७२ को भूकम्पमा ठूलो क्षति पुगेको भूकम्प प्रभावित जिरी नगरपालिकामा गरिएको पानीको अध्ययनमा मुहानमा पानी सफा भए पनि वितरण र भण्डारण हुँदै घरसम्म पुग्दा प्रदूषित भएको पाइएको भए पनि चिसो क्षेत्र भएकाले बढी मात्रामा पानी उमालेर खाने परिवारमा पानीजन्य स्वास्थ्य समस्या कम पाइएको थियो। यस क्षेत्रमा सुधारिएको मुहान र उमालेर पानी पिउनेको संख्या ४० प्रतिशत रहेको छ। त्यस्तै पाइपमा ल्याइएको पानी पनि सफा रहेको पाइएको डा.शर्माले बताउनुभयो।
त्रिभुवन विश्वविद्यालयले गरेका एक अध्ययनअनुसार वर्षात्को प्रभाव ५ वर्षमुनिका बच्चामा २८ प्रतिशत रहेको जसमा पहाडमाभन्दा तराईमा बढी पाइएको डा.सिजनलाल श्रेष्ठले बताउनुभयो। अध्ययनमा ५ वर्षमुनिका २८ हजार ४ सय बालबालिका समेटिएको जनाएको छ। वर्षात्को समयमा बालबालिकामा झाडापखाला बढ्ने गरेको पाइएकाले ७५ जिल्लामा १५ वटा क्षेत्रमा सर्भे गर्दा तराईमा बढी प्रभावित पाइएको श्रेष्ठले जानकारी गराउनुभयो।
स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा.अञ्जनीकुमार झाका अनुसार जलवायु परिवर्तनले असर पार्ने प्रमुख तथा महत्त्वपूर्ण क्षेत्रमध्ये श्रमिक क्षमतामा कमी आउनु, चोटपटक लाग्नु र संक्रणात्मक रोगहरूमा वृद्धि देखिएको छ। यसकै कारण कीटजन्य र झाडापखाला रोगको महामारीको ढाँचामा परिवर्तन देखिएको छ। तर पनि नेपालमा यस विषयमा अनुसन्धान गर्न जनशक्तिको कमी, सीमित स्रोत, लामो अवधिको तथ्यांकको अभाव, गुणस्तर तथ्यांकका कारण जलवायु परिवर्तनले पार्ने असरका बारेमा सीमित क्षेत्रमा मात्र अनुसन्धान भएका छन्।
यिनै कारणले गर्दा नेपाल सरकारले राष्ट्रिय अनुकूलन योजना कार्यक्रम २०६७ जलवायु परिवर्तले स्वास्थ्यमा पार्ने असरका बारेमा अनुसन्धानका लागि तयार पारे पनि वर्षमा एउटा स्वास्थ्यसम्बन्धी कार्यशाला गर्न पाउँदाकै अवस्थालाई उपलब्धिमूलक मान्नुपर्ने अवस्था रहेको छ। नेपालमा यस अघि सन् २००७ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा जलवायु परिवर्तन तथा मानव स्वास्थ्यसम्बन्धी राष्ट्रिय कार्यशालाको आयोजना गरिएको थियो। सम्भवतः जलवायु परिवर्तनका विषयमा नेपालमा गरिएको राष्ट्रिय कार्यशाला यो नै पहिलो हो। त्यसपछि यसवर्ष आयोजना गरिएको दोस्रो कार्यशालामा ९ वटा वैज्ञानिक तथा रचनाको प्रस्तुति गरिएको डा.झाले जानकारी गराउनुभयो।
प्रतिक्रिया