३३ हजारले गरे स्वास्थ्य बीमा

0
Shares

गणेश घिमिरे, इलाम
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि इलाममा हालसम्म ३३ हजार चार जनाले स्वास्थ्य बीमा गराएका छन्। सामाजिक सुरक्षा विकास समिति इलामले २०७३ असार १५ बाट स्वास्थ्य बीमा दर्ता प्रक्रिाया शुरू गरी भदौ १ गतेबाट सेवा दिन शुरू गरेको थियो।

स्वास्थ्य बीमा गराएमध्ये हालसम्म २८ हजार ९ सय ७५ जनाले इलाम अस्पतालसहित जिल्ला बाहिरका बिभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएको सामाजिक सुरक्षा विकास समितिका दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार बीमा गराएका बीमितमध्ये अस्पतालबाट २३ हजार ३ सय ५५ जना तथा इलाम अस्पतालबाट रेफर गरीएका पाँचहजार ५० जनाले झापाका विभिन्न अस्पताल र पाँचसय ७० जनाले काठमाडौंका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन्। जिल्लामा ८२ जना दर्ता सहयोगीबाट स्वास्थ्य बीमा गराइँदै आएको छ।

सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरोस् भनी पहिलो चरणमा बागलुङ र दोस्रो चरणमा इलामबाट स्वास्थ्य बीमा सञ्चालन गरेको थियो। इलाममा स्वास्थ्य बीमा गराएका नागरिकले इलाम अस्पतालसहित जिल्लाका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङ प्राथमिक स्वास्थ्य केन्द्र, झापाको मेची अञ्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक, मेची आँखा अस्पताल, विराटनगरको नोबेल अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएका छन्। बीमितहरूको सेवा प्रारम्भ भएको एक वर्ष पुगेपछि पुनः बीमाबापतको रकम तिरेर नवीकरण गर्नुपर्ने अधिकारीले बताउनुभयो।‘स्वास्थ्य बीमा गराउनेमध्ये अधिकांश दीर्घ रोगीका बिरामी भेटिएका छन्,’ अधिकारीले भन्नुभयो–‘उच्च रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको संख्या बढी छ।’

स्वास्थ्य बीमा गराएका बिरामीले भने बीमाबाट पाइने सबै प्रकारका निःशुल्क औषधि अस्पताल तथा बीमा कम्पनीले निर्धारण गरेको स्वास्थ्य संस्थाको फार्मेसीबाट नपाउने गरेको बताउँदै आएका छन्। स्वास्थ्य बीमा गर्नेले ११ सय १८ प्रकारका औषधि निःशुल्क पाउनुपर्छ। तर, पनि बीमित बिरामीले खोजेका कतिपय औषधि नपाउँदा निजी क्लिनिकबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भइरहेका छन्। स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. गुणराज लोहनीले भने प्रयोग कम हुने औषधि फार्मेसीमा कमै मात्रामा पाइने तर बीमित बिरामीले मगाएको खण्डमा ३⁄४ दिनभित्रमा पाउन सक्ने बताउनुभयो। उहाँका अनुसार कतिपय औषधिहरू कम प्रयोग हुने भएकाले त्यस्ता औषधि खरीद गरेर लाग्दा प्रयोग नहुने र म्याद गुज्रिने समस्याले कम प्रयोग हुने औषधि तत्कालको अवस्थामा फार्मेसीमा कमै मात्रामा हुने गर्दछ।