काठमाडौं, (नेस)
नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री खुमबहादुर खड्काको निधनपछि सो पार्टीको ललितपुर, सानेपास्थित केन्द्रीय कार्यालय सुनसान भएको छ। मृगौला, उच्च रक्तचापलगायत रोगबाट पीडित खड्काको गत शुक्रबार भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। आइतबार उहाँको अन्त्येष्टि गरिएको थियो।
विगतमा भ्रष्टाचार काण्डमा मुछिएर जेलसमेत बसे पनि पार्टीका त्यागी एवम् प्रभावशाली नेताका रूपमा चिनिने खड्का उक्त घटनापछि पार्टीको उच्च नीतिगत र निर्णायक तहबाट टाढा रहँदै आउनुभएको थियो।
पूर्वपार्टी सभापति सुशील कोइरालाको निधनपछि शेरबहादुर देउवा पार्टी सभापति बनेपछि केन्द्रीय तहको उच्च जिम्मेवारीमा आउने चर्चा चले पनि देउवाले सो स्थानमा नलगेको भन्दै उहाँ निस्क्रिया र निरास बन्दै आउनुभएको थियो। हिन्दू धर्मको नाममा नयाँ ढंगबाट राजनीतिमा आउन कतिपय हिन्दूवादीसँग गठबन्धन गरे पनि खड्कालाई त्यस्तो सफलता मिलिसेकेको थिएन।
उहाँको मृत्यु हुनुअघि यही चैत्र ९ गतेदेखि नै पार्टीको केन्द्रीय समिति बैठक जारी थियो। नेता खड्काको निधनलगत्तै सो बैठक रोकियो। सो बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षाका साथै पार्टीका भावी कार्यदिशाबारे छलफल भइरहेको थियो।
खड्काको देहावसनपछि आइतबार बसेको आकस्मिक बैठकले बिहीबारसम्म पाँच दिन केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवम् विदेशस्थित जनसम्पर्क कार्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बस्ने सम्बन्धमा कुनै निर्णय नभएको नेपाल समाचारपत्रलाई बताउनुभयो। ‘अहिले स्थगित भएको बैठक अब अलि पछि नै बस्छ होला।’ –मुख्य सचिव पौडेलले भन्नुभयो।
स्मरणीय छ, निर्वाचनको समीक्षा भइरहेको उक्त बैठकमा अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए।
प्रतिक्रिया