संसद् बैठक आज अन्त्य हुँदै

0
Shares

काठमाडौं, (नेस)
संघीय संसद्को पहिलो अधिवेशन आज अन्त्य हुँदै छ। बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक फागुन २१ गते बसेको थियो। आजसम्म राष्ट्रियसभामा १० वटा र प्रतिनिधिसभामा ११ वटा बैठक हुनेछन्।

प्रतिनिधिसभाको बैठक आज १ बजे र राष्ट्रियसभाको बैठक ४ बजे बस्दै छ। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले दुवै संसद्लाई सम्बोधन गर्नुहुने बताउनुभयो। अधिकारीले आगामी शुक्रबारबाट हुने प्रधानमन्त्रीको भारत भ्रमणसहित अन्य समसामयिक राजनीतिक विषयमा सम्बोधन हुन सक्ने जनाउनुभयो। संसद्को यसअघिको बैठकमा नै सांसद प्रभु साहले प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा र उद्देश्य के हो भनेर संसद्मा प्रश्न गर्नुभएको थियो।

संविधानको धारा ९३ मा बैठक अन्तर अवधि ६ महिनाभन्दा बढी गर्न नहुने व्यवस्था छ। संसद्को अर्को अधिवेशन बजेट अधिवेशन हुनेछ। बजेट जेठ १५ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ। त्यसभन्दा अघि प्रि–बजेट छलफल हुनेछ। यसअघिको संविधानसभामा ४ वटा र संविधान बनेपछि २०७२ असोज ३ गतेपछि संसद्मा ३ वटा बैठक बसेको थियो।

संसद् बैठक अधिवेशन र आह्वान राष्ट्रपतिले गर्ने संविधानमा उल्लेख छ। संसद् बैठक शुरु भएपछि प्रतिनिधिसभामा सभामुखले र राष्ट्रिय सभामा अध्यक्षले बैठक आह्वानसम्वन्धी पत्र पढेर सुनाउने प्रचलन छ।