महिला हिंसा बढ्यो

0
Shares

प्रशान्त वली, काठमाडौं

पर्वतमा १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परिन्। छमर्केमा मेला भर्न गएकी किशोरीलाई लिफ्ट दिने नाममा होटलमा पुर्याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। सँगै रहेकी किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन्।

ललितपुर प्युटारकी ७ वर्षीया बालिकामाथि सोही ठाउँका २४ वर्षीय कृष्ण बम्जनले बलात्कार गरेको घटना सार्वजनिक भएलगत्तै आरोपित बम्जनलाई प्रहरीले नियन्त्रणमा लियो। ललितपुर सातदोबाटोस्थित ज्ञानकुञ्ज माविमा अध्ययनरत एक छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक शिव कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

पछिल्लो एक महिनामा महिलामाथि हुने हिंसाको संख्या निकै बढेको छ। नेपाल प्रहरीको तथ्यांकमा यस आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार १ सय ९१ वटा महिला हिंसासम्बन्धी मुद्दा दर्ता भएका छन्। गतवर्ष २ हजार ४ सय १४ वटा उजुरी दर्ता भएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘दोषीमाथि उजुरी पर्यो भने कानुनी प्रक्रियामा ल्याउने काम गर्छौं। अपराधी कसैलाई पनि छोड्दैनौं।’

गतवर्ष काठमाडौंमा मात्रै २९ वटा बलात्कारका घटना, ११ वटा बलात्कार प्रयास, १ वटा यौन दुव्र्यवहारका आरोपितलाई कानुनी दायरामा ल्याइएको छ। यस आर्थिक वर्षमा मात्र महिला हिंसासँग जोडिएका ३ सय १८ वटा उजुरी दर्ता भएका छन्। नेपाल प्रहरीको तथ्यांकमा पनि यस आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार १ सय ९१ वटा महिला हिंसासम्बन्धी मुद्दा दर्ता भएको महिला आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार चेतनाको अभिवृद्धिसँगै हिंसाका घटनाको उजुरी आउने क्रम शुरू भएको छ।
प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले दोषीलाई कानुनी कठघरामा ल्याउन सके र जनस्तरसम्म महिला हिंसाका घटनाको विषयमा जनचेतना पुर्याउन सके केही हदसम्म महिला हिंसा न्यूनीकरण हुने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘वर्गीय विभेदका कारण पनि हिसांका घटनामा वृद्धि भएको छ। प्रत्येक व्यक्तिको घरमा कसैले हिंसा गरे त्यसको कानुनी प्रावधानका बारेमा जानकारी गराउनुपर्छ।’

सरोकारवाला निकायले हिंसाका घटना बढे पनि कानुनी कठघरामा दोषीलाई ल्याउन नसक्दा हिंसाले प्रश्रय पाएको बताएका छन्। पीडितलाई कारबाहीको दायरामा ल्याउन बनेका कानुनलाई व्यवहारिकरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने सम्बन्धित निकायको धारणा छ।