मानवीय सेवामा अग्रसर रहेर काम गर्नुपर्नेमा जोड

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको आयोजनामा जिल्लास्तरीय सरोकारवाला निकायहरूबीच समन्वय बैठक नगरकोटमा सम्पन्न भएको छ। कार्यक्रममा प्रदेश नं ३ भक्तपुरका सांसद हरिशरण लामिछानेले रेडक्रसको आवश्यकता अपरिहार्य भएकाले सबैको साझा संस्थाका रूपमा समुदायका मानिसहरूले मानवीय सेवा महसुस गर्ने गरी भक्तपुर रेडक्रसका गतिविधिहरू अगाडि बढाउन सुझाव दिनुभयो।

त्यसै गरी प्रदेश नं ३ भक्तपुरका सांसद शशीजंग थापाले रक्तदान गर्ने संस्थाको रूपमा परिचित रेडक्रसले मानवीय सेवाका विविध गतिविधि सञ्चालन गरी समुदायलाई उत्थानशील बनाउन लागिपरेकामा धन्यवाद दिनुहुँदै नगरपालिकामा गठित विपद् व्यवस्थापन समितिहरूलाई प्रशिक्षण र विपद् पूर्वतयारी योजना निर्माण, उद्धारकर्ता तयारीमा सहयोग गर्नुका साथै संगठनात्मक विस्तार गरी भक्तपुरका सबै क्षेत्र र समुदायमा मानवीय सेवाको पहुँच वृद्धि गर्नेतर्फ रेडक्रस लाग्नुपर्ने बताउनुभयो।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भक्तपुर रेडक्रसले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण तथा अद्यावधिक गर्ने कार्यमा प्राविधिक सहयोग गरेको बताउनुभयो। भक्तपुरका ४ वटै नगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन भक्तपुर रेडक्रसले प्राविधिक सहयोग गर्नुपर्ने बताउँदै रेडक्रसले कार्य क्षेत्र विस्तार गर्नेतर्फ भन्दा मानवीय सेवाका गतिविधिहरूमा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकास्तरीय स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति रेडक्रसको सहकार्यमा गठन गरिसकेको स्मरण गराउँदै आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन गर्दा रेडक्रससँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो। उहाँले कार्यक्रम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि एकै प्रकृतिका कार्य गर्ने संस्थाबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो। नगरप्रमुख मिश्रले चाँगुनारायण नगरपालिकाले नगरपालिकामा आकस्मिक कार्य सञ्चालन केन्द्र स्थापना गरिसकेकाले आगामी दिनमा आवश्यक प्राविधिक सहयोगका लागि भक्तपुर रेडक्रसलाई आग्रह गर्नुभयो।

जिल्ला शाखाका सभापति मनोजकुमार थापाले नेपाल रेडक्रस सोसाइटीले परियोजना सञ्चालन गर्नुपूर्व समुदायको संकटासन्नता र क्षमताको विश्लेषण गरी विषयगत र क्षेत्रगतरूपमा आवश्यकताको पहिचान गरी परियोजना सञ्चालन गर्दै आइरहेको बताउनुभयो। उहाँले स्थानीय निकायसँगको समन्वयमा समुदायको संकटासन्नता कम गर्ने कार्यमा भक्तपुर रेडक्रस आफ्ना २१ वटा उपशाखामार्फत् विपद् पूर्वतयारी र प्रतिकार्यका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो। उहाँले भक्तपुर रेडक्रसले स्थापनाको स्वर्णजयन्ती वर्ष मनाउन सफल भएकोमा सबै सरोकारवाला निकाय, रेडक्रसका सदस्य, स्वयंसेवकलगायत आमजनसमुदायलाई धन्यवाद दिँदै मानवीय सेवाका भावनाले ओतप्रोत भई संस्थामा आबद्धताका लागि संस्थाको ढोका सदैव सबैका लागि खुल्ला रहेको बताउनुभयो। १० हजारभन्दा बढी सदस्य तथा स्वयंसेवक र कर्मचारीको आबद्धताले भक्तपुर रेडक्रस सबैको साझा संस्था रहेको पुष्टि गरेको बताउनुभयो।

कार्यक्रमको प्रभावकारिताका लागि आवश्यक सल्लाह र सुझाव पनि संकलन गर्ने उद्देश्यले आयोजित बैठकमा जिल्ला समन्वय समितिकी उपसंयोजक सरिता कुँवर, मध्यपुर थिमी नगरपालिकाकी उपप्रमुख अञ्जना मधिकर्मीलगायत भक्तपुर जिल्लाका सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, भक्तपुर रेडक्रसका पदाधिकारी तथा सदस्य र कर्मचारी गरी ५२ जनाको सहभागिता रहेको थियो।

बैठकमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेका मानवीय सेवाका कार्यलगायत ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा भक्तपुर र मध्यपुर थिमी नगरपालिकामा सञ्चालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत सञ्चालित गतिविधिका बारेमा जानकारी दिइएको थियो।

जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायबीचको समन्वयमा वृद्धि गरी आवधिकरूपमा हासिल गरेका उपलब्धिका बारेमा पनि जानकारी दिइएको थियो।समन्वय बैठकमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको तर्फबाट भक्तपुर रेडक्रसले सञ्चालन गरेका गतिविधि, भक्तपुर र मध्यपुर थिमी नगरपालिकामा सञ्चालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम तथा भूकम्प प्रतिकार्य कार्यक्रमका बारेमा जिल्लाका मन्त्री परशुराम पाण्डे, जिल्ला कार्यक्रम संयोजकद्वय दिनेश थापा र क्षितिज आचार्यले प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणपश्चात् खुला छलफलमा सहभागी हुँदै सहभागिहरूले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गरेका गतिविधि, विपद् जोखिम न्यूनीकरणमा गरेका प्रयासको चर्चा गर्दै मानवीय सेवा कार्यमा सदैव अग्रसर रहेर कार्य गर्नको लागि शुभकामना व्यक्त गर्नुभयो।