काश्मिर मुठभेडमा १६ को मृत्यु

0
Shares

श्रीनगर, (एजेनसी)
भारत प्रशासित काश्मिरको दक्षिणी भागमा आइतबार भएका ३ वटा मुठभेडमा अहिलेसम्म ११ कट्टरपन्थीको मृत्यु भएको बताइएको छ।जम्मु काश्मिर प्रहरीको डीजीपी एएपी वैद्यले पत्रकारसँगको कुराकानीमा मुठभेडमा अहिलेसम्म ११ कट्टरपन्थी मारिएको जानकारी दिएको हो। अन्य मारिनेमा सुरक्षाबलका ३ जवान र २ सर्वसाधारण परेको पनि उनले बताए।

शनिबार राति सेनालाई श्रीनगरबाट ५० किलोमिटरको दुरीमा पर्ने सोपियां जिल्लाको द्रागडा गाउँमा केही कट्टरपन्थी लुकेर बसेको जानकारी पाप्त भएको बताए। द्रागडा गाउँमा दुबैतर्फबाट भएको भीषण गोलाबारीमा ७ कट्टरपन्थीको मृत्यु भएको हो। त्यसैगरी अनन्तनाग जिल्लाको एक गाउँ दायलगाममा भएको अर्को कारबाहीमा एक कट्टरपन्थी मारिएको र त्यहाँ अर्को १ जनाले आत्मसमर्पण गरेको उनले जानकारी दिए।

डीजीपी वैद्यले १ ट्विटमा अनन्तनागमा भएको कारबाहीमा १ कट्टरपन्थीलाई जीवित पक्राउ गरिएको उल्लेख गरेको छ। त्यसैगरी सोपिया जिल्लाको कचडोरा गाउमा केही सर्वसाधारण फसेकाले उनीहरुलाई निकाल्ने प्रयास जारी रहेको उनले जानकारी दिए।

स्याउको बगैंचाका लागि प्रख्यात दक्षिण काश्मिर उक्त राज्यकै सबैभन्दा सुन्दर ठाउँ मानिन्छ। तर लामो समयदेखि उक्त क्षेत्र मुठभेडका कारण अत्यन्त असुरक्षित ठानिएको छ। सन् २०१७ मा काश्मिरमा भएको मुठभेडहरुमा २ सय कट्टरपन्थीको मत्यु भएको बताइएको छ। त्यसमा अबु दुजाना, बसिर लश्किर र ललहारीजस्ता कट्टरपन्थी कमान्डर परेका थिए।

दक्षिण काश्मिरमा भारतीय सुरक्षाकर्मीबाट लगातार कारबाही हुने गरेपछि स्थानीय स्तरमा कट्टरपन्थीहरुप्रति सहानुभूति देखिने गरेको पाइन्छ। सोपियाँमा आइतबार भएको कारबाहीका क्रममा ठुलो संख्यामा सर्वसाधारणले त्यसको विरोधमा प्रदर्शन गरेका छन्। सेनाले भिडलाई भगाउन सुरुमा अश्रु ग्यास र प्यालेट गनको प्रयोग गरेको र पछि गोली प्रहार गर्दा ६ जना घाइते भएको बताइएको छ।

दक्षिण काश्मिरमा सेनाको उक्त कारबाहीपछि काश्मिर युनिभर्सिटीले अप्रिल २ मा हुने आफ्ना सबै परीक्षा स्थगित गरको छ। यसैबीच हुर्रियत कन्फ्रेस (गिलानी समुह) का प्रवक्ता गुलजा अहमदले पछिल्लो घटनाक्रमको विरोधमा दुई दिने बन्द आह्वान गरेको बताएका छन्।

काश्मिर सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त भएको भारत र पाकिस्तानमा विभाजित रहेको छ।