कफीमा क्यान्सरको चेतावनी छाप्न अदालतको आदेश

0
Shares

लस एन्जलस, (एजेन्सी)
अहिलेको जमाना चिया होइन, कफीको हो। कफी संस्कृति विश्वव्यापी पुरै व्याप्त भइसकेको छ। कफी सेवनलाई लिएर वैज्ञानिकहरूले अहिलेसम्म स्वास्थ्यका लागि राम्रो वा नराम्रो भनेका छैनन्। तर अमेरिकाको क्यालिफोर्निया राज्यका एक न्यायाधीशले यसमा आफ्नो फैसला दिएका छन्।

न्यायाधीशले आफ्नो फैसलामा कफी उत्पादक तथा बेच्नेले त्यसमा क्यान्सरको चेतावनी छाप्नुपर्ने आदेश दिएका छन्। यस मामिलामा विवादको विषय भनेको कार्सिनोजेन नामक एक रसायन हो। यो रसायन कफीको दाना भुट्ने क्रममा आफै तयार हुने हो।

एउटा सानो गैरनाफाखोरी संगठन र बिग कफी नामक एक ठूलो कम्पनी विगत ८ वर्षदेखि कानुनी लडाइँ लडिरहेका छन्। एनजीओ काउन्सिल फर एजुकेसन एन्ड रिसर्च अन टक्सिसले कफी उद्योगले प्रोसेसिङका क्रममा एक्राइलामइडलाई हटाउनुपर्ने वा उत्पादनमा क्यान्सरको चेतावनी प्रकाशित गर्नुपर्ने माग गरेका थिए।

उक्त संगठनले यसअघि आलु चिप्स बनाउने उद्योगहरूमाथि पनि मुद्दा दायर गर्दै त्यसका लागि विवश पारेका थिए। स्टारबक्स कर्पोरेसनका नेतृत्वमा कफी उद्योगले कफीमा उपलब्ध उक्त रसायनको मात्र अत्यन्त न्यून हुने गरेको र त्यसले नोक्सान नपुर्याउने दाबी गरेका छन्। यदि यसमा कुनै जोखिम भए पनि कफीको अन्य फाइदाका अगाडि यो नभएसरह भएको बताएका छन्।

लस एन्जलसको उच्च अदालतका न्यायाधीश एलिहु बर्लले आफ्नो आदेशमा कफी कम्पनीहरूले सुनवाइमा कुनै ठोस तर्क नदिएको बताए। क्यालिफोर्नियाका एक स्थानीय कानुनका अनुसार कुनै पनि उत्पादनमा कुनै प्रकारको रसायन, जसले गर्भ वा बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्छ भने ती सामानहरूमा यसको चेतावनी छापिएको हुनुपर्ने प्रावधान छ। यस सम्बन्धमा ९ सय रसायनको सूची जारी गरिएको थियो। कफी कम्पनीका अनुसार प्रशोधानका क्रममा उक्त रसायन हटाइएको खण्डमा यसले कफीको स्वाद प्रभावित हुनेछ।