पूर्वसैनिकका बारेमा राजधानीमा बहस

0
Shares

काठमाडौं, (नेस)
उपत्यका पृतनाअन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका भूपू सैनिक तथा निवृत्तभरणमा रहेका परिवारका लागि सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्दै अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनका लागि आपसमा भेटघाट गर्ने, सुख दुःख बाँड्ने, अपनत्वको भावना जागृत गराउने, चासोका कुरा सुन्ने र राष्ट्र तथा नेपाली सेनाका लागि भूतपूर्व सैनिकहरूले गर्नुभएको समर्पणको यथोचित सम्मान गर्ने हेतुले यस प्रकारको भूपू सैनिक सम्मेलनको आयोजना गरिएको बताउनुभएको छ।
उहाँले यस वर्षको भूपू सैनिक सम्मेलनको मेन थिम ‘शिक्षा, स्वास्थ्य र स्वःरोजगार’ राखिएको र यसमा शिक्षा, स्वास्थ्य र स्वःरोजगारका लागि लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो।

कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत पदम विलास कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भूतपूर्व सैनिकहरूकातर्फबाट पूर्वरथी दुर्गानाथ अर्यालले धन्यवाद मन्तव्य राख्नुभएको थियो। त्यसै गरी बलाधिकृत रथी पूर्णचन्द्र थापाले समापन मन्तव्य राख्दै सम्मेलनको समापन गर्नुभएको थियो।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा माथि उल्लेखित ५ जिल्लाका करिब १८ हजार भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरूको उपस्थिति रहेको थियो।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका २५ जना ऋणीहरूलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट २ जना व्यवसायीलाई पं्रशसापत्र एवम् पुरस्कार वितरण भएको थियो।

अशक्त भूतपूर्व सैनिक र वहाँहरूका अशक्त परिवारहरूलाई २५ वटा व्ह्लि चियर वितरण तथा उल्लेखित ५ जिल्लाभित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवारमध्येको ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो।