बालिका अपहरणकारीको भीरबाट खसेर मृत्यु

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत

पर्वतको कुस्माबजारमा शनिबार दिउँसो अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर ‘अपहरणकारी’ को मृत्यु भएको छ।

बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयबासीले देखेपछि भागेका बागलुङ नगरपालिका–१ रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको मृत्यु भएको हो। रुचालको कुस्मा नगरपालिका–५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो। कुश्मा नगरपालिका–४ चाक्लेडिलनजिकै बस्दै आएकी निशा परियारकी साढे २ वर्षीया छोरी सुवानी परियारलाई नजिकै खोल्सामा मुख थुनेर राखेको र बच्चा रोइरहेको स्थानीय चिरञ्जीवी केसीले देखेका थिए। केसीले सोधखोज गर्न थालेपछि मृतक रुचाल भाग्न खोज्दा भीरबाट खसेका थिए।

बालिका छाडेर भाग्ने क्रममा खसेका ती युवा भीरबाट २ सय मिटर तल पुगेका थिए। भीरबाट उद्धार गरी जिल्ला अस्पताल पर्वतमा उपचारका क्रममा उनको मृत्यु भएको पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए। भीर र वरपर खोजी कार्य गर्दा १ घण्टापछि चाक्लेडिल भीरको २ सय मिटर तल फेला परेका थिए। मृतकको शव पोस्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखिएको छ।

खोल्सामा बच्चालाई रोइरहेको देख्ने चिरञ्जीवी केसी भन्छन्– ‘म घाँस काट्न बाटोमा हिँड्दै थिएँ। तल खोल्साबाट बच्चा रोएको सुनेँ। यसो हेरेको त तल कसैले नदेख्ने भड्खारोमा लगेर त्यो मान्छेले बच्चाको मुख थुनिरहेको थियो। बच्चा रोइरहेकाले मैले छेउमा निस्केर हेर्दा उसले मलाई देख्यो म तल ओर्लेर बच्चा ल्याएँ ऊ त्यहीबाट यताउता भाग्न खोज्दै थियो। त्यसपछि देखिएन।’

बालिकाकी आमा निशा परियार भन्छिन्– ‘एउटा नचिनेको मान्छे घर वरपर ४⁄५ पटकसम्म यताउता गर्यो। मलाई शुरूमा नै यस्तो मान्छे किन आएको होला? भनेर सोचेकी थिएँ। म अलिअलि बिरामी भएर सुतिरहेकी थिएँ। छोरी र अन्य २ जना बच्चा बाहिर खेलिरहेका थिए। उसले त्यही बेलामा छोरीलाई तल भीरमा लगेछ।’

उक्त व्यक्तिले ती बालिकालाई घरबाट लिएर भाग्नुभन्दा झण्डै आधा घण्टा पहिला केही पर रहेको एक पसलबाट बियर चोरेर हिँडेको पनि खुलेको छ। व्यापारी लक्ष्मी क्षेत्री भन्छिन्– ‘पसलमा आउँदा २ जना केटाहरू पनि साथमा लिएर आएको थियो। ती बच्चालाई हिँड मलाई गुम्बा देखाइदेऊ भन्दै थियो, तर ती बच्चाले नाइँ हामी गुम्बामा जाँदैनौँ भनेपछि उनीहरूलाई फ्रुटी किनेर हामीलाई पैसा दियो, पैसा राख्न लागेको बेलामा बियर नै चोरेछ पछि थाहा पाएर पिछा गर्दै भेट्टाएर पैसा माग्यौं।’