गाउँगाउँमा सिंहदरबार पुर्याएको अनुभूति गराउन प्रमको निर्देशन

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताउनुभएको छ। उहाँले राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महशुस गरे कि गरेनन् भन्ने कुरा महत्त्वपूर्ण हुने बताउनुभयो।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभूति गर्ने गरी तपाईंहरूले काम गर्नुहोस्। यसपालि हामीले सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेका छौं।’ यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ, उहाँले भन्नुभयो।

स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या उल्लेख्य भएकाले धेरै काम हुनेमा आफू आशावादी रहेको बताउँदै उहाँले भन्नुभयो– ‘अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० वर्षभन्दा मुनिका, १ चौथाइ अध्यक्ष ४० वर्षभन्दा कम उमेर समूहका छन्, ४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन्। यस्तो बेलामा पनि स्थानीय तहको विकास नभए कहिले होला त ?’

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिनुभयो। भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘तपाईंहरूलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस्।’
प्रधानमन्त्री ओलीले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने बताउनुभयो। सरकारले कर्मचारी समायोजनको काम अघि बढाइसकेकाले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री ओलीले पूर्वाधार, विद्युत्, वैकल्पिक उर्जा, सञ्चार आदि क्षेत्रको विकासमा लाग्न प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो।