विकास, समृद्धि र सुशासनको बहस

0
Shares

डा. डीआर उपाध्याय

हाम्रो देशमा दुई दशकभन्दा बढी संक्रमणकाल र अस्थिर राजनीतिले देशको विकास र समृद्धि हुन सकिरहेको अवस्था थिएन। अब संक्रमण काल र अस्थिर राजनीतिको अन्त्य भएको छ। अहिले केपी शर्मा ओलीको नेतृत्वमा इतिहासकै सबैभन्दा बलियो सरकार बनेको छ। अब पनि विकास र समृद्धिले मार्ग लिन सकेन भने कहिले लिन्छ ? यो वर्तमान सरकारका लागि ठूलो अवसर हो। हाम्रो मुलुक संघीयताको व्यावहारिक अभ्यासमा उत्रेको छ। संघ, प्रदेश, र स्थानीय तहमा कम्युनिस्टकै बहुमत छ। अब कम्युनिस्ट पार्टीहरूले सरकारमा गएको बेलामा र सबै तहमा आफ्नो बलियो उपस्थिति हुँदाहँुदै पनि केही गर्न सकिएन भन्ने कुरा गर्नु मूर्खता हुनेछ। जनताले यो कुरा मान्न तयार छैनन्। यति खेर सिंगो मुलुक नै कम्युनिस्टमय बन्न पुगेको छ। अहिले मुलुक एउटा मुकाममा आइपुगेको छ। यही बिन्दुबाट मुलुकलाई अगाडि बढाउने कोशिस गर्नुपर्छ।

मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ लैजान इच्छाशक्ति र दृढ संकल्प नेतृत्ववर्गले लिन सक्नुपर्छ। नेतृत्ववर्ग गतिशील र समयअनुसार चल्न सकेन भने विकास र समृद्धिको यात्रा अपुरो हुन सक्छ। स्थानीय तहको चुनाव भएको पनि धेरै भयो। तर, पनि स्थानीय तहका काम कारबाही सोचेअनुसार सुचारु हुन सकिरहेका छैनन्। प्रदेश सरकार कर्मचारी, कानुन र बजेटको अभावले अलमलमै छन। मुख्यमन्त्रीहरू केन्द्रमा बसेर बजेट, कर्मचारी कानुन र अधिकार चाहियो भनेर तमासा देखाइरहेका छन। यसले जनतामा निरासा ल्याउँछ। जनताको मनोबल गिर्ने खालको कुरा गर्दै हिँडनु राम्रो कुरा होइन। तीनै तहका कार्यकारी अधिकार सम्पन्न सरकारले संविधानको कार्यान्वयनलाई आफ्नो पहिलो प्राथामिकतामा राखी मुलुकको भाग्य र भविष्य निर्माणमा अघि बढ्नुपर्छ। सुशासन, विकास, र समृद्धितर्फको यात्रामा अघि बढ्न पुरानो सोच चिन्तन र कार्यशैलीले हुँदैन। अब नयाँ सोच नयाँ चिन्तन र फराकिलो दिमागले मात्र सम्भव छ। बाटो देखाउने काम अगुवाको हो। अगुवाले नै बाटो बिराउने हो भने गन्तव्यमा पुग्न सकिँदैन। तसर्थ सबैभन्दा पहिला सरकारको नेतृत्व गर्ने वर्ग नै सचेत र कुशल हुनुपर्छ। गाडीको कुशल ड्राइभरले जसरी यात्रुलाई गन्तव्यमा पुयाउँछन् त्यस्तै देशको नेतृत्व गरेकाले पनि मुलुकलाई गन्तव्यमा पुर्याउनुपर्छ। सबैभन्दा पहिला नेतृत्ववर्गले नै जुनसुकै कार्य गर्दा पनि लोकतान्त्रिक मूल्य मान्यता प्रचलित ऐन कानुन अनि संविधानको मर्म र भावना आत्मसात गर्नु जरुरी छ।

अब देश बनाउने नै हो भने नेताहरूले दलगत र व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने आवश्यकता छ। देशको मुहार फेर्न अघि बढेका दलहरू र तिनका नेताहरूले आफ्नो छाती चौडा पार्नुपर्ने आवश्यकता पनि देखिन्छ। राष्ट्र निर्माणको अभियानमा सबैलाई समेटेर जान जरुरी छ। अहिले मुलुकको अवस्था राम्रो बन्दै छ। दलहरू र तिनका नेताहरू पनि गम्भीर बन्दै छन्। एउटा दुःखलाग्दो कुरा के छ भने युवा स्वदेशमा छैनन्। युवा गाउँमा बस्दैनन्। बूढाबूढी काम गर्न सक्ने अवस्थामा छैनन्। जसले गर्दा देशको अवस्था कहालीलाग्दो देखिन्छ। अब युवा स्वदेशमा बस्ने र काम गर्ने वातावरण निर्माण गर्नुपर्छ। देश बनाउने हो भने हाम्रा युवा स्वदेशमा हुनुपर्छ। अब मुलुकलाई विकासको बाटोमा लानुपर्छ। लोकतन्त्र संस्थागत गर्न पनि दलहरू लाग्नुपर्छ। लोकतन्त्र संस्थागत नभएसम्म विकास सम्भव छैन। लोकतन्त्रमा सबै निकाय र अधिकारीहरू आ–आफ्ना सीमा र मर्यादामा रहनु आवश्यक छ। त्यसो भयो भने मात्र हामीले देश बनाउन सकिन्छ।

मुलुकमा बेथिति मौलाएको छ। भ्रष्टाचार बढेको छ। महँगीले आकाश छोएको छ। जनताका समस्या जस्ताकै तस्तै छन्। जनताले नयाँ सरकार आएको अनुभूति गर्न पाएका छैनन्। अब वाम सरकारले जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्यो। विकास र समृद्धिको आधार तयार गर्न भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ। सरकारले भनाइ र गराईमा एउटै खालको गति लिनुपर्छ। गराइ एकातिर भनाइ अर्कातिर भयो भने पनि जनताले विश्वास गर्दैनन्। हाम्रो देशमा श्रम गरेर खानेभन्दा ठगेर खाने बढी भए। यस्तो भएपछि विकृति मौलाउने नै भयो। श्रम गर्न कसैलाई जाँगर चल्दैन। काम गर्नेभन्दा राजनीति गर्ने धेरै भएपछि जुनसुकै देशमा पनि यस्तै हुन्छ। राजनीति भनेको सेवाभावले गरिने चिज हो। तर, हामीकहाँ यसलाई पेसा व्यवसाय नै बनाइयो। यो राम्रो कुरा होइन। जनताको सेवा गर्न भनेर दल खोल्ने र जनताकै नाम भजाएर धन सम्पत्ति थुपार्नेको यहाँ कमी छैन। त्यसले गर्दा पनि देश बन्न नसकेको कुरा यथार्थ हो। गलत बाटोमा गएको मुलुकलाई सही बाटोमा फर्काउनुपर्ने आवश्यकता छ।

अहिले शासकीय स्वरूप परिवर्तन भएको छ। शासकवर्गको पनि रूप केही फेरिएको छ। तर, सारमा कुनै फेरबदल भएको देखिँदैन। प्रचलित कानुनको सम्मान र पालना हुन सकिरहेको अवस्था छैन। जनताको चाहनाबमोजिमको सरकार चलाउनु नै लोकतान्त्रिक पद्धति हो। नेपाली जनताले लोकतान्त्रिक गणतन्त्रात्मक सार्वभौम सरकार मात्र होइन, असल सरकार पनि खोजेका हुन्। असल सरकार हुन कुशल नेतृत्व चाहिन्छ। यो काम प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुन्छ भन्ने आशा गरौं। असल शासन दिन सबैभन्दा पहिला जनप्रतिनिधिहरू इमानदार हुनुपर्छ। र, साथसाथै सक्षम पनि हुनुपर्छ। हाम्रो देशमा इमानदार र सक्षम दुवै भएका जनप्रतिनिधि कम छन्। जे बोलिन्छ त्यही गर्नु नै असल नेताको गुण हो।

तर, हाम्रा नेताहरू एउटा कुरा बोल्छन् अर्को कुरा गर्छन्। अहिलेसम्म भएको यही हो। सरकारले चुनावका बखत बोलेका कुरा अब आउँदा दिनमा कति पूरा गर्दै जान्छ कि जाँदैन ? त्यो नै परीक्षाको विषय बनेको छ। ठूल्ठूला कुरा गरेर मात्र हँुदैन अब काम गरेर देखाउनुपर्छ। अब जनता सरकारको व्यवहार परीक्षणमा लाग्दै छन्। चुनावको बेलामा बोलेका कुराको हिसाबकिताब सबै जनताले राखेका छन्। विकासको पहिलो आधार भनेको देशको स्थिर राजनीति हो। अब स्थिर राजनीति हुने देखियो। करिब आठ दशक राजनीतिक उपलब्धि हासिलका लागि समय बिताइयो। विकास र समृद्धिका कुरा कहिलै सोचिएन। हाम्रा दुई छिमेकी मुलुकले विकासको गतिमा फड्को मार्दासमेत हामीमा चेत आएन। जसले गर्दा हामी धेरै पछाडि परेका छौं।

हाम्रो मुलुक विकासमा धेरै पछाडि पर्नुमा राजनीतिक अस्थिरता, सबल र जनहितकारी विकास नीतिको अभाव नै हो। मुलुक पाँच दशकदेखि नै नियमित अल्पविकसित देशको सूचीमा रहँदै आएको छ। अब देशलाई विकसित गर्न के–के गर्नुपर्छ ? यसमा सरकारले विशेष ध्यान दिएर काम गर्नुपर्छ। जनता दिन प्रतिदिन शहरतिर केन्द्रित छन्। गाउँ बस्ने मान्छे पाउन गाह्रो भयो। शहरका जमिनको मूल्य बढ्दो छ। गाउँ युवाविहीन बनिरहेका छन्। खेतियोग्य जमिन सबै बाँझा छन्, युवा विदेश छन्। ती युवाले पठाएको पैसाले शहरतिर जमिन किन्नेको मात्रा बढेर गएको छ।

रेमिट्यान्सले मुलुक धान्ने अवस्था छ। देशमा केही गरौं भन्ने सोच नै युवामा भएन। देश बर्बाद हुनबाट जोगाउन अब युवालाई राज्यले काम दिनुपर्छ। विदेश पठाउने काम अब बन्द गर्नुपर्छ। युवालाई विदेश पठाएर देश बन्ने भए अहिलेसम्म किन बनेको छैन ? व्यक्ति धनी भए, देश गरिब हुँदै गयो। यसरी विकास र समृद्धि हँुदैन। अब गरिब र धनीबीचको खाडल पुरिनुपर्छ। अनि मात्र जनतामा कम्युनिस्ट सरकार आएको अनुभूति हुनेछ। जनताले गाँस, बाँस, कपास पाउनुपर्छ। भाषणले मात्र होइन, जनतालाई राशनले खुसी पार्नुपर्छ। ओली नेतृत्वको सरकार बनेको यति धेरै भइसक्यो, अझैसम्म जनताले विगतको सरकार र यो सरकारमा फरक पाउन सकेका छैनन्। सरकारले फरकपन दिन सक्नुपर्छ। यो सरकारसँग जनताका आश धेरै छन्।

जनताको आशअनुसारको काम यो सरकारले गर्न सक्छ कि सक्दैन ? त्यो नै महत्त्वपूर्ण कुरा हो। त्यसैले सरकारले सबैभन्दा पहिले सुशासन कायम गर्नेतिर ध्यान दिनुपर्छ। सुशासनबिना विकास र समृद्धिको कल्पना पनि गर्न सकिँदैन।