राष्ट्रपति ट्रम्पको एक ट्विटले बेजोसलाई १० अर्बभन्दा बढी घाटा

0
Shares

न्युयोर्क, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक ट्विटका कारण विश्वकै सबैभन्दा धनी अमेजोन सीईओ जेफ बेजोसको सम्पत्ति अर्बौं डलर कटौती भएको छ।

ट्रम्पको सामान्य बिहानको ट्विटहरूमध्यको एकमा राष्ट्रपतिले आफू अमेजोनको क्रियाकलापप्रति सशंकित रहेको संकेत दिएका थिए। हजारौंं रिटेलरलाई उनीहरूको व्यवसायबाट च्यूत गर्नमा जिम्मेवार इन्टरनेट अनलाइन व्यापार कम्पनी अमेजोनका विषयमा चासो लिइरहेको समाचारलाई ट्रम्पले पुष्टि गरेका छन्। यस ट्विटपछि अमेरिकी शेयर बजारमा अमेजोनको मूल्य खस्केको छ।

गत बिहीबार ट्रम्पले ट्विटमा अमेजोनलाई लिएर चुनावभन्दा धेरै अगाडिदेखि नै आफ्नो चासो रहेको उल्लेख गरेका थिए। उक्त कम्पनीविरुद्ध एकाधिकार व्यापार विरोधी कानुन प्रयोग गर्ने सोचअनुसार राष्ट्रपति ट्रम्प त्यसमा लागिपरेको न्युज साइट एक्सियसले दिएको समाचारको पुष्टि गरेको छ।

बुधबार बिहान उक्त समाचार आएदेखि अमेजोनको शेयरमा ९ प्रतिशतले गिरावट आएको छ। यसले बेजोसको कुल सम्पत्तिमा १० अर्ब ७० करोडले कटौती भएको छ। बेजोस हालै मात्र विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन्। कम्पनीले सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा फाइलिङ गरेको सबैभन्दा पछिल्लो विवरणका आधारमा बेजोसको अमेजोनको कुल सम्पत्ति १ खर्ब ७ अर्ब ७० करोड पुगेको देखाइएको छ। यो नोक्सान भनेको ट्रम्पसँग भएको कुल सम्पत्तिभन्दा धेरै हो। ट्रम्पको कुल सम्पत्ति करिब ३ अर्ब १० करोड अनुमान गरिएको छ।

ट्रम्पले यसअघि पनि ट्विटमा अमेजोनले कर तिर्ने खुद्रा व्यावसायिक क्षेत्रमा ठूलो क्षति पुर्याएको उल्लेख गरेका थिए। राष्ट्रपतिले वासिङ्टन पोस्टमा बेजोसको स्वामित्वलाई लिएर पनि अमेजोनमाथि आक्रमण गरेका थिए। उक्त अखबारले ट्रम्प र उनको प्रशासनको गलत कदमका विषयमा आक्रामक समाचार दिँदै आइरहेको छ।

यसैबीच ट्रम्पका सहायक प्रेस सल्लाहकार राज शाहले राष्ट्रपतिको ट्विटको समर्थन गर्दै अहिलेसम्म इन्टरनेट बिक्रीकरको व्यवस्था नभएको उल्लेख गरेका थिए।