यी हुन ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा परेका दुई नेपाली महिला



काठमाडौं । एसियाका ‘तीस वर्षमुनिका ३० प्रभावशाली व्यक्ति’को सूचीमा दुई नेपाली महिला परेका छन्। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी एसिया’ सूचीमा आयुषी केसी र कञ्चन अमात्य प्रभावशाली सामाजिक उद्यमीका रूपमा सूचीकृत भएका हुन्।

फोर्ब्सले हरेक वर्ष कला, स्वास्थ्य र विज्ञान, मनोरञ्जन, खेल र सामाजिक उद्यमशीलतालगायत १० विधामा उत्कृष्ट कार्य गरेका ३० वर्षमुनिका ३०-३० जना व्यक्तिलाई सूचीमा समावेश गर्दै आएको छ। यस वर्ष परेका दुई हजार मनोनयनबाट विश्वभरबाट छानिएका तीन सय व्यक्ति सो सूचीमा परेका छन्। उनीहरूलाई जुलाईमा हङकङमा हुने एक सम्मेलनमा सहभागी गराइने फोर्ब्सको वेबसाइटमा उल्लेख छ।

काे हुन् सूचीमा परेका दुर्इ महिला 

आयुषी केसी खालीसिसी व्यवस्थापन प्रालि (खालीसिसी डट कम) की संस्थापक एवं मुख्य कार्यकारी अधिकृत हुन् । उनले नेपालको खालीसिसी तथा अन्य फोहोर संकलन प्रक्रियालाई ‘डिजिटल प्ल्याटफर्म’ दिने काम गर्दै अाएकी छिन् । उनले कवाडी सामान संकलन तथा त्यसकाे तथ्याङ्क राख्न गर्नुका साथै ती कवाडी सामान  बिक्री गरेर आएको रकमको १० प्रतिशत सोही समुदायका बालबालिकालाई छात्रवृत्ति दिनेलगायत सामाजिक कार्यमा खर्च गर्ने गरेकी छिन्।

सूचीमा परेकी अर्की महिला कञ्चन अमात्य ‘दिगो मत्स्य खेती अभियान’ की अभियन्ता हुन् । दुर्गम क्षेत्रका महिलालाई प्रविधि र तालिमसँगै आर्थिक स्रोेत-साधन जुटाइदिएर आफ्नै लघु उद्यम सञ्चालन गर्न सक्षम बनाउनु अमात्यको अभियानको उद्देश्य छ। अमात्य यूएन वुमनकी ‘ग्लोबल च्याम्पियन फर वुमन इकोनोमिक इम्पावरमेन्ट’ हुन्।

एसियाभरका २४ राष्ट्रका युवायुवती समावेश यो सूची सन् २०१६ मा सुरु गरिएको हो । यो वर्ष सूचीमा अजरबैजान, उत्तर कोरिया र फिजीलाई पनि समेटिएको फोर्ब्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्